|

आज फूलपाती

काठमाडौ, कार्तिक ५ - बडादसैँ अन्तर्गत सप्तमी तिथिमा आज नेपाली परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइने गरिन्छ ।

दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा फूलपातीको शुभसाइतका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ । सो फूलपाती गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै काठमाडौँको जमलसम्म ल्याउने गरिन्छ ।

गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौडीहरू र सांस्कृतिक नाचगानसहितको लावालस्करले जमलमा ल्याइएको सो फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोकामा भित्र्याउने गर्दछ ।

घटस्थापनाका दिनदेखि नै दसैँ सुरु हुने भए पनि दसैँको विशेष चहलपहल भने फूलपातीका दिनदेखि घरघरमा सुरु हुन्छ । फूलपातीदेखि सरकारी कार्यालय बन्द हुने भएकाले अध्ययन, व्यवसायलगायत विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका व्यक्तिहरू परिवारसँग बसेर दुर्गा भवानीको पूजा गर्न, आफ्ना मान्यजनबाट टीका थाप्न र आशिर्वाद लिन आ–आफ्ना घर फर्किरहेका छन् ।

गाउँघरमा फूलपातीदेखि हालिने लिङ्गेपिङ र रोटेपिङले दसैँको रौनकलाई अझ बढाउने गरेका छन् ।
स्रोत :कांतिपुर 

Posted by Butwalonline on 7:21 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आज फूलपाती"

Leave a reply