नेपाली यात्रु चढेको बस भारतमा दुर्घटना हुँदा एक यात्रुको घटनास्थलमै मृत्यु
कञ्चनपुर, कार्तिक २ - नेपाली यात्रु चढेको बस भारतको उत्तराखण्ड राज्य पिलिभित जिल्लाको नानकमत्ता नजिक बिहीबार दुर्घटना हुँदा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ । बसमा सवार अन्य ३८ यात्रु घाइते भएको बुझिएको छ ।
घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक नेत्रप्रसाद भट्टले बताउनुभएको छ ।
घाइतेहरूको भारतको सीमावर्ती बजार खटिमामा रहेको सरकारी अस्पतालमा उपचार भइरहेको उहाँले बताए । बसमा सवार ११ यात्रु भने सकुशल रहेका छन् ।
देहरादुनबाट नानकमत्ता पुग्ने क्रममा बिहान ७ बजे बस दुर्घटना भएको हो । मृतकको हालसम्म सनाखत हुन सकेको छैन ।
बसमा सवार सबै मजदुरी गरेर दसैँका लागि घर फर्कने नेपाली मजदुर रहेको बताइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट नेपाली प्रहरीको एक टोली घटनास्थलतर्फ लागेको छ ।
स्रोत :कांतिपुर