हज जाने मुस्लिम महिलाहरु बढे
कपिलवस्तु, २३ असोज, मुस्लीमहरुको बाहुल्यता रहेको कपिलवस्तुबाट हज यात्राका लागि जाने मुस्लीम महिलाहरुको संख्या बढदै गएको छ । यस बर्ष ६५ जना मुुस्लीम महिला हज यात्रामा लागि गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरु आफ्नो श्रीमान तथा आफन्तसंगै हज यात्राका लागि गएका हुन ।
प्रशासन कार्यालय अनुसार यस बर्ष एक सय ६७ यात्री मध्ये ६५ महिलाहरु छन् । यस अघि गत बर्ष १२५ हज यात्री मध्ये ४४ जना महिला रहेका थिए । २०६८ मा १४२ मध्ये ६२ र त्यस अघिको बर्षमा ११० यात्री मध्ये ४० जना महिलाहरुले हजको यात्रा गरेका थिए । मुस्लिम समुदायको महत्वपूर्ण धार्मिक यात्राको रुपमा रहेको हजका लागि उनीहरु साउदी अरव स्थित मक्का मदिना तर्फ लागेका हुन ।
नेपालमै यस बर्ष जिल्लाबाट सब भन्दा बढी हज यात्रीहरु रहेको प्रशासन कार्यालयले जनाएको छ । मुस्लिम धर्मगुरु अनुसार मक्का मदीना यात्रा गर्नेले स्वर्ग जाने सरह मुण्यफल प्राप्ति गर्ने भएकाले त्यहा जाने मान्यता रही आएको छ । त्यहा गई बिशेष नवाज पाठ गर्नाले पाप नाश हुने उनीहरुको बिश्वास छ । हज यात्रा गर्नेलाई हाजी भन्ने चलन रहेको बताईएको छ । यसैबिच जिल्लाबाट हजका लागि हिडेका यात्रीहरुलाई जिल्लाका तौलिहवा, पकडी, अभिराव, कृष्णनगर, पिपरा लगायतका स्थानमा भब्यरुपमा स्वागत र बिदाई गरिएको छ ।
सोमवार र मंगलवार गरी उनीहरु मक्का मदिना जानका लागि बसले काठामाण्डौ प्रस्तान गरेका छन् । हज कमिटीले कपिलवस्तुका हज यात्रीलाई असोज २५ गते काठमाण्डौबाट साउदी अरब उडानबाट जाने ब्यवस्था मिलाएको छ । यस बर्ष २८ जिल्लाबाट कबिर आठ सय हजयात्री मक्का मदिना जादै छन् । हज यात्राका लागि सरकारले एक लाख ८० हजार रुपैया दुई किस्तमा प्रति यात्रीसंग शुल्क रकम उठाएको थियो ।
