हट सिक्स कन्सर्टमा प्रहरीको हस्तक्षेप
बुटवल, आश्विन १४ - डक्सोलोजी प्रेयर्स क्लव बुटवलले कोटिहवास्थित अनाथ आश्रम सहयोगार्थ शनिबार बुटवलको कालिका उच्चमाविमा आयोजना गरेको हट सिक्स म्युजिकल इभेन्ट २०६९ मा प्रहरीले जवरजस्ती हस्तक्षेप गरेको जनाएको छ ।
क्लवले पूर्व निर्धारित समयमै कार्यक्रममा आमन्त्रित अतिथि कलाकारले गीत गाइरहेका बेला सादा पोशाकमा पुगेका प्रहरी अधिकृतले जवरजस्ती माइक खोसेर कलाकार तथा क्लवको अपमान गरेको र टिकट लिएर आएका हजारौं सहभागीलाई आतंकित पारेको आरोप लगाएको छ । सो क्लवद्वारा आइतबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रममा घाइते भएका अध्यक्ष कान्त कंडेलले भने –‘प्रहरीको यो ज्यादतिले राष्ट्रिय कलाकार,हजारौं दर्शक र क्लवलाई स्तब्ध बनाएको छ ।’
पत्रकार सम्मेलनमा क्लवका सल्लाहकार चन्दा गुरुङले सुरक्षाका लागि बोलाइएका व्यक्तिले हात जोड्दा पनि १ मिनेट समय नदिएर हतोत्सायी बनाइ क्लवलाई लाखौं घाटा पुराएको बताउनुभयो । पत्रकार सम्मेलनमा हट सिक्स म्युजिकल इभेन्टका मुख्य प्रायोजक गुशल ट्रेडिका प्रबन्धक कृष्णबहादुर शाहीले सामाजिक सेवामा लागेका युवाहरुलाई प्रहरीले आंतकित र हतोत्साहित बनाएकोले यसको निष्पक्ष छानविन हुनुपर्ने बताउनुभयो ।
क्लवले पोखराको प्रतिष्ठित द एज ब्यान्ड,काठमाण्डौंको अनुप्रस्थ ब्यान्ड तथा स्थानीय ब्यान्ड उतारेपछि बुटवलमा धेरै युवाहरु सहभागी भएको कन्सर्ट भएको थियो ।