प्रश्नपत्र ५० हजारमा बिक्री गरेकोसिआइबीको निष्कर्ष
काठमाडौं, भदौ २० - केन्द्रीय सूचना ब्युरो (सिआइबी) ले त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले साउन २७ मा सञ्चालन गरेको इन्जिनियरिङ प्रवेश परीक्षाको प्रश्नपत्र परीक्षाअगावै बाहिरिएको ठहर गरेको छ।
प्रश्नपत्र बाहिरिएको बारे छानबिन गर्ने जिम्मेवारी पाएको सिआइबीले छानबिनको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको छ।'परीक्षा बोर्डको जिम्मेवार पदाधिकारीको उपस्थितिमै नियतवश प्रेसका कर्मचारीले प्रश्नपत्र छपाइ गर्ने प्रेसबाटै बाहिरिएको अनुसन्धानमा पाइयो,' निर्देशक अर्यालले भने, 'एक प्रश्नपत्र ५० हजारमा बिक्री गरिएको अनुसन्धानबाट खुलेको छ।'
प्रवेश परीक्षा सुरु हुने चार दिनअघि साउन २३ गते बिहान ८ बजे त्रिचन्द्र कलेजमा अध्ययनरत तथा सिग्मा प्रेस सानेपामा काम गरेका लोकेन्द्र विष्टले सोही प्रेसमा मेसिन चलाउने सिद्धार्थ लामालाई प्रश्नपत्र बिक्री गर्दा निकै आम्दानी हुने आर्थिक प्रलोभन देखाई प्रश्नपत्र आउट गराएको सावित भएको छ।
प्रश्नपत्र आउट गर्नेमा प्रेस कर्मचारीका साथै शिक्षक र विद्यार्थी समेत संलग्न रहेको अनुसन्धान क्रममा प्रमाणित भएको छ। आरोपीमध्ये १४ पक्राउ परेका छन् भने २ अभियुक्त फरार रहेको ब्युरोले जनाएको छ।
साउन २८ मा प्रवेश परीक्षाको प्रश्नपत्र पढेको अडियो क्लिप्स फेसबुकमा भेटिएपछि अनुसन्धान सुरु भएको ब्युरो निर्देशक अर्यालले जनाए। ब्युरोका अनुसार साउन २७ मै बिहान ६ बजेतिर निरजको साथी करण चौरसियाले अडियो राजकुमार राउतको मोबाइलको ब्लुटुथबाट आफ्नो मोबाइलमा पठाई फेसबुकको नेभर माइन्ड ग्रुपमा अपलोड गरेका थिए। साउन २७ मा भएको इन्जिनियरिङ प्रवेश परीषामा ११ हजार परीक्षार्थी सहभागी थिए। (नागरिक न्यूजमा प्रकाशित )