डाला सुपा बनाएरै राम्रो गुजारा
मुक्तिप्रसाद न्यौपाने,असोज २,पाल्पा - आधुनिकतासागै प्लाष्टिकका भाडाहरुको प्रयोग बढेपनि बासको चोयाबाट निर्मित डाला सुपाको समेत राम्रो ब्यापार भएपछि पश्चिम पाल्पाका सत्यवती, जुठापौवा लगायतका आधा दर्जन बढी गाविसका ब्यक्तिहरुले बाँसबाट निर्मित सुपो डालो बिक्री मार्फत राम्रो आम्दानी लिंदै आएका छन् ।ब्यवसायीहरुले हप्ताभरि बाँसको चोयाबाट डोका, डालो, नाङ्लो, सुपा, भकारी बनाएर जिल्लाका विभिन्न स्थानसागै रुपन्देहीको सालझण्डी र झिमझिमे बजारमा बिक्री गर्दै आएका छन् ।
घरमै बनाइएका सामग्रीहरु जिल्ला र जिल्ला बाहिरका विभिन्न स्थानमा सञ्चालन हुने मेला महोत्सव स्थलमा पुगेर बेच्ने र त्यहीबाट घरपरिवारलाई चाहिने कपडा, खाद्यान्न, किताब कापी समेत किनेर ल्याउने गरेको जुठापौवा ७ पाल्पाका जितबहादुर रास्कोटीले बताए । उनले भने “अहिले हाम्रो लागि मुख्य आयस्रोत भनेको नै डोको, सुपो बनाउनु र बेच्नु नै हो ।” आफूले मेहनत गरेरै ९ जनाको परिवार यहि पेशाबाट पालेको, तीन सन्तानलाई पढाएको, भारतमा काम गर्न छोडेर गाऊमा बाँसका सुपा बनाउने पेसामा लगेको बताउँदै गाऊमै परीश्रम गरेमा राम्रो आम्दानी हुने रास्कोटीको भनाई छ ।
ब्यवसायीहरुले एउटा बाँसको सुपोलाई एक सय देखी तीन सय रुपियाँ सम्ममा बिक्री गर्दै आएका छन् । पाल्पामा सुपा बनाउने बाँसको अभाव भएकोमा किसानहरु चिन्तित भएका छन् । जुठापौवा ७ कै दल बहादुर लाम्टाङ्गेले पनि बाँसका सामग्री बनाएर राम्रो आम्दानी लिदै आएको बताए । उनले २५ बर्षको उमेर देखि घरमा बुबाले काम गरेको देखेर सुपोबनाउने काम सिकेको अहिले मासिक रुपमा आफूले १५ देखी २० वटा सम्म सुपा बनाउने गरेकाछन् । यही पेशाबाटै मासिक रुपमा १२ हजार रुपियाँ सम्म आम्दानी लिन सफल भएको उनको भनाई छ ।
