|

यौन शक्तिबर्द्धक औषधि क्षणिक आनन्द दिए पनि जोखिमपूर्ण


नेपालगन्ज, भाद्र १६ -चिकित्सकको सल्लाह र प्रेस्क्रिप्सनबिना यौन शक्तिबर्द्धक औषधि खरिद गर्नेहरू बढेका छन् । क्षणिक आनन्दका लागि सेवन गर्ने यस्ता औषधि जोखिमपूर्ण हुने चिकित्सकहरूले बताएका छन् ।

औषधि पसलेका अनुसार स्थानीय मेडिकल अघि धेरैबेर उभिएपछि खुसुक्क किन्नेहरू आउने गरेका छन् । गोप्य हुने भन्दै सीमावर्ती बजार रुपैडिहाबाट शक्तिवर्द्धक औषधि खरिद गर्ने बढेको पसलेहरूले बताए । प्रेस्क्रिप्सन र सल्लाहबिनै औषधि सेवन गर्दा ज्यान जानेसम्मका घटना भइसकेको डा. गोपाल श्रेष्ठले बताए । 'यस्ता औषधि सेवन गर्दा मधुमेह र मुटु रोगीको जीवन जोखिममा पर्न सक्छ,' उनले भने, 'तर, आकर्षक प्रचारको पछि लागेर सल्लाह माग्न आउने धेरै छन् ।'

स्थानीय बजारमा मेडिग्रा (सेन्डेलफिल सिट्रेट) औषधि बढी बिक्री हुन्छ । आकर्षक प्रचारसहितको यो ट्याब्लेट धेरैले किन्ने बिक्रेताको अनुभव छ । गोपनीयता जोगाउन कतिपय सीमावर्ती बजार रुपैडिहा धाउँछन् । सहवास गर्नुअघि यस्ता औषधि सेवन गर्ने पछिल्लो दिनमा बढेको चिकित्सकहरूको भनाइ छ । शारीरिक रूपमा तन्दुरुस्त र जवान पत्नी हुने ढल्दो उमेरका पुरुषहरू यौन सन्तुष्टि लिन औषधि सेवन गर्ने गरेको उनीहरूको अनुभव छ । प्रतिट्याब्लेट ३० रुपैयाँमा पाइने औषधि खाने एक नियमित ग्राहकले भने, 'आफ्नो र पत्नीको चाहना पूरा गर्न किन्ने गरेको छु ।'

सिलाग्रा पनि बजारमा बिक्री भइरहेको छ । '३ महिनामा १२ स्टिक बिक्री भयो,' एकता डिस्टि्रब्युटर्स नेपालगन्जका प्रोप्राइटर मानबहादुर रावतले भने । नेसनल हेल्थ केयर प्रालि वीरगन्जको उत्पादन नेग्रा तीन महिनामा ५३ ट्याब्लेटसम्म बिक्री हुने गरेको छ । यसको पनि ३० रुपैयाँ मूल्य पर्ने गरेको बिक्रेताहरूले जनाए ।

खुला सिमानाका कारण भारतबाट गैरकानुनी तरिकाले यौन शक्ति बढाउने औषधिहरू आयात हुने गरेका छन् । एकता डिस्टि्रब्युटर्सका प्रोप्राइटर रावतका अनुसार खुला सिमानाका कारण भारतीय बजारबाट औषधि सेवन गर्नेको संख्या पनि निकै बढी छ । नेपाली उत्पादन कम्पनीहरूले २५ र ५० एमजीका ट्याब्लेट मात्र बजारमा ल्याएका छन् । भारतीय बजारबाट एकैपटक १ सय एमजीका ट्याब्लेट सेवन गर्ने बानी परेकाले समेत नेपाली औषधिको बिक्री घटेको छ ।

भारतीय कम्पनीहरूले भियाग्रा नामक औषधि पनि बजारमा ल्याएका छन् । नेपाली ग्राहकहरूले यसको सेवन बढी गर्छन् । डाक्टरको प्रेस्किप्सन हेरेर मात्र यसको बिक्री भइरहेको नेपालगन्जका बिक्रेताहरूले दाबी गरे पनि खरिद गर्न आउनेहरूले बिनाप्रेस्क्रिप्सन लगिरहेको स्रोतको भनाइ छ । उच्च रक्तचाप भएका बिरामीहरूले सेवन गर्दा जोखिम बढ्न सक्ने भएकाले खुला रूपमा बिक्री नगर्ने गरेको औषधि बिक्रेताहरूको दाबी छ ।

माइक्रो ल्याबेरेटोरिज बैंग्लोरका बजार प्रतिनिधि प्रवेश जोशीले मेडिग्रा, नेग्रा, एक्साइट र हिमालय कम्पनीको टेनटेक्स फोर्ट पनि चल्तीको औषधि भएको बताए ।

फाइदाभन्दा बढी हानिकारक मानिने यस्ता औषधिको विज्ञापनले धेरैलाई भ्रममा पारेको छ । जसका कारण प्रयोग गर्नेको संख्या बढेको हो ।

कतिपय पसलेले चिकित्सकहरूको प्रेस्किप्सनबिनै यस्ता औषधि बिक्री गर्ने गरेका छन् । जसका कारण औषधिहरूको दुरुपयोग भइरहेको छ । मानसिक कारणले औषधि लिन आउने बढेको चिकित्सकको भनाइ छ । ड्रग युजरहरूले पनि बढी सेवन गर्ने गरेका छन् ।

'आकर्षक विज्ञापन हेरेर पनि आममानिस आकषिर्त भइरहेका छन् । विज्ञापनका आधारमा मानिसहरू सल्लाह माग्न आउँछन् र त्यस्ता औषधिको पछि लाग्छन्,' डा. गोपाल श्रेष्ठले भने, 'यस्तो औषधि प्रयोग गर्दा अकालमा मृत्यु भएका उदाहरण धेरै छन् ।
सामग्री सन्दर्भ  कांतिपुर

Posted by Butwalonline on 7:35 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " यौन शक्तिबर्द्धक औषधि क्षणिक आनन्द दिए पनि जोखिमपूर्ण"

Leave a reply