|

गण्डक बाँधको ठोकर नं. १२ भत्किए पछि बाँध फुट्ने खतरा


परासी, श्रावण २६ - नारायणी नदीको कटानले गण्डक बाँध अन्तर्गतको विगैप बाँधको १२ नं. ठोकर भत्किएको छ । कटानले ठोकरको अग्रभाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

तत्काल ठोकर मर्मत नगरिए पानीको बहाव बढ्दा गण्डक बाँध नै फुट्ने खतरा देखिएको जलअभियानकर्मी कुलदीप आचार्यले बताए ।

कटान रोकथामका लागि जालीमा ढुङ्गा भर्ने काम भइरहेको भए पनि नदीमा पानीको बहाव धैरे भएकाले प्रभावकारी हुन सकेको छैन । गण्डक सम्झौताअनुसार गण्डक क्षेत्रमा निर्मित बाँधको रेखदेख र मर्मतको सम्पूर्ण जिम्मा भारतीय पक्षको हो ।

तर भारतीय पक्षले यस वर्ष बाँध र ठोकरमा मर्मतको कुनै काम नगर्दा ठोकर नं. १२ मा क्षति भएको गण्डक सङ्घर्ष समितिका सहसचिव शैलेन्द्र शर्माले बताए ।

नर्सही गाविसमा पर्ने विगैप १२ नं. ठोकरमा नारायणी नदीको मूलधार सिधै ठोकिने हुनाले यहाँ सबैभन्दा जोखिम हुने गर्दछ ।

नारायणी नदीमा पानीको सतह २ लाख ३० हजार क्युसेक नाघेको र अझै बढ्ने क्रममा छ । त्यसैले यसप्रति समयमा नै ध्यान नदिए नेपालका दर्जनौं गाउँ तथा भारतका सयौं गाउँ बाढीको चपेटामा पर्ने निश्चित छ ।

गण्डक सङ्घर्ष समिति र भारतीय प्राविधिकबीच २०६५ सालमा भएको सहमतिअनुसार भारतीय पक्षद्वारा प्रभावकारी रुपमा बाँधको मर्मत र संरक्षण गर्ने काम नहुँदा गण्डक बाँध फुट्ने खतरा देखिएको हो ।
समाचार कांतिपुर बाट

Posted by Butwalonline on 3:10 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गण्डक बाँधको ठोकर नं. १२ भत्किए पछि बाँध फुट्ने खतरा"

Leave a reply