पूर्वमन्त्री खुमबहादुर खड्का भ्रष्टाचारी ठहर
काठमाडौं, श्रावण ३० - काँग्रेस नेता पूर्व गृहमन्त्री खुमबहादुर खड्का लाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको छ । खड्कालाई भ्रष्टाचारी करार दिँदै डेढ वर्ष कैद, ९४ लाख ७५ हजार रुपैयाँ जरिवाना, त्यही बराबरको विगो र त्यसले बढेबढाएको सम्पति जफत गर्ने फैसला सर्वोच्चले गरेको हो ।
न्यायाधीशहरू कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलाजले खड्काको मुद्दामा फैसला गरेको हो । खड्का र सरकारी वकिल दुवै पक्षको बहस साउन १६ मा सकिएपछि इजालसले आज फैसलाको मिति तोकेको थियो ।
खड्कालाई भ्रष्टाचारी करार गरेपछि उनका समर्थकहरूले सर्वोच्च अदालत अगाडि नाराबाजी गरेका छन् । नाराबाजीका कारण यातायात अवरुद्ध भएको छ । प्रदर्शनमा सहभागी नेपाल विद्यार्थी संघका कार्यकर्ता जुझाङ शेर्पासहित तीन जना पक्राउ गरिएको छ । माइती घरमा बा१ज ७६४९ ट्याक्सीमा तोडफोड भएको छ । चालक गोपाल तामाङ घाइते छन् ।
खड्काका समर्थकहरूले पुतली सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण यातायात अवरुद्ध भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक-पटक मन्त्री हुँदा खड्काले २ करोड ३६ लाख सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषले ०६३ कात्तिक २९ मा खड्कलाई सफाइ दिएको थियो । त्यसपछि अख्तियारले ०६३ चैत १५ मा पुनरावेदन दिएको थियो ।
यसअघि पूर्व मन्त्री चिरञ्जीवि वाग्ले र वहालवाला सूचना तथा सञ्चार मन्त्री जेपी गुप्तालाई पनि सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै जेल पठाइ सकेको छ ।
खड्काको मुद्दामा फैसला हुने भएपछि अदालतमा पनि फैसला सुन्न जानेहरुको भीड लागेको थियो । दिउँसैदेखि खड्काका समर्थकहरू माइतीघर, भद्रकाली लगायतका क्षेत्रमा जम्मा भएका थिए । प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो ।
(समाचार कांतिपुर बाट)