|

अनुशासन र मर्यादामा बस्न ६ सचिवलाई प्रधानमन्त्रीको चेतावनी


काठमाडौ, श्रावण २७ - प्रधानमन्त्री बाबुराम भट्टराईले मुख्यसचिव बढुवामा असन्तुष्ट ६ बहालवाला वरिष्ठ सचिवलाई शुक्रबार दिउँसो कार्यकक्षमा बोलाएर मुख्यसचिव लीलामणि पौडेललाई असहयोग नगर्न चेतावनी दिएका छन् । प्रधानमन्त्रीले उनीहरूको असहयोग जारी रहे सह्य नहुने भन्दै कारबाही गर्ने चेतावनीसमेत दिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जनाए ।

सचिवमा पदोन्नति हुँदा नवौं वरीयतामा रहेका पौडेललाई मुख्यसचिवमा बढुवा गरिएपछि पाँच वरिष्ठ सचिवले राजीनामा दिइसकेका छन् । पदमा बहालै रहेका ६ वरिष्ठ सचिवले पनि गम्भीर असन्तुष्टि प्रकट गर्दै मुख्यसचिवले बोलाएको बैठक बहिष्कार गरेपछि गम्भीर भएका प्रधानमन्त्रीले उनीहरूलाई बोलाएर निजामती प्रशासनको अनुशासन र मर्यादामा बस्न चेतावनी दिएका हुन् ।

प्रधानमन्त्रीले असन्तुष्ट सचिवहरू भगवतीकुमार काफ्ले, ताना गौतम, वामनप्रसाद न्यौपाने, बालानन्द पौडेल, वृन्दा हाडालाई बोलाएर असन्तुष्टि प्रकट गरेका हुन् । मुख्यसचिवले बोलाएको बैठक बहिष्कार गरेका सचिव उमाकान्त झा भने बिदामा रहेकाले प्रधानमन्त्रीको बोलावटमा अनुपस्थित थिए ।

प्रधानमन्त्रीले उनीहरूलाई निजामती सेवा ऐनअनुसार कार्यकुशलताका आधारमा बढुवा भएका मुख्यसचिव पौडेलको नेतृत्व स्वीकार्न र उनका प्रशासनिक सुधारका कार्यक्रममा सघाउन आग्रह गर्दै सहयोग नगरेमा नराम्रो हुने चेतावनी दिएको स्रोतले जनायो ।
(समाचार कांतिपुर बाट )

Posted by Butwalonline on 7:50 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " अनुशासन र मर्यादामा बस्न ६ सचिवलाई प्रधानमन्त्रीको चेतावनी"

Leave a reply