|

विना चालक रेल इन्जिन गुडेर जनकपुर आइपुग्यो

जनकपुर, श्रावण २२ - जनकपुर रेल्वेको ७५ वर्षको इतिहासमा सोमबार अनौठौ घटना भएको छ । भारतको जयनगरबाट जनकपुर आउने तयारीमा रहेको जेड ई एन ५ (५३५) नम्बरको डिजल इन्जन चालकबिना नै २९ किलोमिटर गुडेर सोमबार अपराह्न जनकपुर आइपुग्यो । बाटोमा पर्ने दुई दर्जनभन्दा बढी पुल, सातवटा रेल्वे स्टेसन तथा आधा दर्जनभन्दा बढी गाउँ पार गर्दै चालकबिना नै रेल यहाँसम्म आइपुगे पनि बाटामा कुनै दुर्घटना भएन ।

प्रायः दिन पिच्छे लिक छाड्ने रेल इन्जन बिना कुनै रोकटोक यहाँसम्म आई पुग्नुलाई रेल्वे कर्मचारीहरूमात्र होइन, स्थानीयवासी पनि 'अचम्म' को घटना मान्छन्- 'गत पचास वर्षमा यस्तो घटना सुनेको पनि थिइनँ । आज देख्ने मौका पाएँ ।' रेल्वे स्टेसन बुक स्टलका सञ्चालक राजेन्द्र कुशवाहाले भने ।

अन्य दिनमा दस किलोमिटर प्रतिघन्टा भन्दा पनि थोरै गतिमा हिँड्ने रेल झन्डै पचास किलोमिटरको गतिमा हिँडेको देखेर बाटो भरि हल्ला खल्ला भएको थियो । जयनगरबाट बिना चालक रेल गुडेको खबर एकले अर्कालाई मोबाइलबाट दिन थालेको थिए । रेल इन्जन जनकपुर आई पुग्दासम्म रेल्वे स्टेसनमा सयौं स्थानीयवासी भेला भइसकेका थिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतम, प्रहरी उपरीक्षक पुरुषोत्तम कडेल, सशस्त्रका एसपी मदन विष्टसहित ठूलो संख्यामा प्रहरी वल रेल्वे स्टेसन पुगेका थिए । कृष्णाष्टमीको तयारीमा रहेका जनकपुर रेल्वे स्टेसन एरिया युवा क्लबका युवक तथा रेल्वे कर्मचारी गुडी रहेको रेल रोक्न लिकमाथि अवरोधक राखेका थिए ।

रेल्वे स्टेसन एरिया क्लबका अध्यक्ष देवु यादवले भने- 'हामीले रेल लिकमाथि अवरोधक नराखेको भए, ठूलो दुर्घटना हुन्थ्यो ।'

जनकपुर रेल्वे स्टेसन मेनेजर खतिवडाले भने, 'आउँदै गरेको रेललाई तीन नम्बर ट्रैकमा तेर्सायौं । स्थानीय युवकले त्यहाँ अवरोधक राखे । अनि बल्ल इन्जन रोकियो ।' जनकपुर रेल स्टेसनमा विद्यमान तीन ट्रैकमध्ये तीन नम्बर ट्रैक बिग्रेकाले यसमा हिँडने रेल तल खस्छ भन्नेर उनीहरूले तीन नम्बर ट्रेकको प्रयोग गरेका थिए ।

प्राप्त जानकारी अनुसार- अपराह्न साढे तीन बजे जयनगरबाट जनकपुर आउने रेल सेवाको तयारीमा रहेका चालक रफिक कवारीले इन्जनलाई सफा सुग्घर गर्दै गरेको बेला इन्जन गुड्न थालेको थियो । एक रेल कर्मीका अनुसार- इन्जन स्टार्ट गरी कवारी पानी खान तल झरेका बेला इन्जन एक्कासि तीव्र गतिमा हुइँकिएको थियो । जनकपुर स्टेसन मैनेजर मणिराज खतिवडाका अनुसार- इन्जन अहिले पनि न्युटर गेयरमा छ । न्युटर गेयरमा रहेको गाडी कसरी गुड्यो भन्ने विषयमा भने खतिवडा केही जवाफ दिन सकेनन् - 'मलाई त दैवी घटना लाग्छ,' खतिवडाले  भने ।

प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले आफूले यस्तो घटना पहिलो पटक देखेको उल्लेख गर्दै रेल चालक रफिक कवारीमाथि अविलम्ब कारबाही गर्न निर्देशन निमित्त महाप्रबन्धक रामेश्वर यादवलाई दिए ।
स्रोत कांतिपुर

Posted by Butwalonline on 2:30 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विना चालक रेल इन्जिन गुडेर जनकपुर आइपुग्यो"

Leave a reply