आजदेखि उपत्यकामा रात्री बस सञ्चालन हुने
काठमाडौं, भदौ १- महानगरपालिका र यातायात व्यवसायीबीच लामो प्रयासपछि काठमाडौं र ललितपुरका केही क्षेत्रमा शुक्रबारदेखि तीन घन्टा रात्रिबस सञ्चालन हुने भएको छ।
छ महिनाको आन्तरिक तयारीपछि यातायात व्यवसायीसँग मिलेर महानगरले बस चलाउन लागेको हो। यसको सम्पूर्ण तयारी सकिएको महानगरपालिका र यातायात व्यवसायीले बिहीबार जानकारी दिए।
करिब २८ किलोमिटर चक्रपथ लगायत काठमाडौं र ललितपुरका पाँच रुटमा बेलुका आठ बजेदेखि राति ११ बजेसम्म १४ वटा बस सञ्चालन हुनेछन्। बस उद्घाटन शुक्रबार साँझ सात बजे उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री समेत रहेका संघीय मामिला तथा स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठले गर्ने जानकारी दिइयो।
चक्रपथ रुटमा कलंकी र कोटेश्वरबाट दायाँ-बायाँ चार बस गुड्नेछन् भने भित्री बाटोमा वीर अस्पताल अगाडिबाट कलंकी, कोटेश्वर, गंगालाल हृदय केन्द्र (बाँसबारी), जोरपाटी र लगनखेल हुँदै साददोबाटो रुट छन्। महानगर र व्यवसायीको सम्झैताअनुसार पाँच रुटमा एकातिरबाट बस छुटेपछि त्यसको अर्कापट्टिबाट पनि अर्को बस एकै समयमा छुट्नेछन्।
प्रत्येक बसमा हतियार र सञ्चार साधनसहितका दुई सुरक्षाकर्मी राख्ने व्यवस्था गरिएको छ। ती बसमा सिसिटिभी जडान गरिएको छ। बस रोक्ने ठाउँमा सुरक्षाकर्मी परिचालन र सौर्यबत्ती जडान गरिनेछ।
वीर अस्पताल अगाडिको बस स्टपबाट पाँच (भित्री) रुटमा बस छुट्नेछन्, भने केटेश्वर र कलंकीबाट चक्रपथका लागि बस गुड्नेछन्। महानगरले उपलब्ध गराएको जानकारी अनुसार भित्री सहरी रुटको सुरु स्टप (वीर अस्पताल अगाडि) बाट अन्तिम स्टपका लागि ठिक आठ बजे बस छुट्नेछन् भने अन्य रुटबाट पनि यतातिर यही समय गुड्नेछन्।
महानगरपालिका प्रमुख कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले यातायात व्यवसायीसँग असारमा सहमति भएअनुसार गाडी चल्न लागेको बताए।
प्रभावकारी रूपमा सञ्चालन हुन सके अहिलेको तीन घन्टालाई रातभरि पुर्याउन सकिने नेपाल यातायात व्यवसायी महासंघका केन्दीय कोषाध्यक्ष सरोज सिटौलाले बताए। तर यसका लागि सरकारले रात्रिकालीन व्यवसाय खुला गर्नुपर्ने उनको बुझाइ छ। उनले गाडी संख्या पनि १४ बाट सय सम्म पार्न सकिने बताए।
महानगरले यातायात व्यवसायीलाई छ महिनाको सवारी सञ्चालनबापत ४५ लाख बुझाइसकेको छ। तीन महिनासम्म यात्रु भए/नभए पनि तोकिएको समयमा बसहरू पुग्नुपर्ने हुन्छ। अहिले सर्वसाधारणले साधारण भाडा नै तिर्नेछन्। तीन महिनापछि यात्रु चाप हेरेर यातायात व्यवस्था विभागसँग सहकार्य गरी भाडा निर्धारण हुने जानकारी गराइएको छ।
सहरका केही मुख्य ठाउँमा साँझ सात बजेसम्म कार्यालय खुल्ने गरेको, सानातिना पसल तथा अन्य व्यवसाय नौ बजेसम्म पनि सञ्चालन हुने लगायत होटल तथा डान्स बार राति अबेरसम्म सञ्चालन हुने भएका कारण यस्ता क्षेत्रमा रुचि राख्नेलाई रात्रिबस प्रभावकारी हुने सञ्चालकहरूको विश्वास छ। यसबाट रात्रिकालीन व्यवसायको चहलपहल बढ्ने उनीहरूको अनुमान छ।
(समाचार नागरिक बाट)
