तुइनमा अडि्कएका ५ जनाको सशस्त्र प्रहरीद्वारा सकुसल उद्धार
तनहुँ, साउन १४- त्रिशुली नदीमाथि सञ्चालन भएको तुइनको घिनि बिग्रिएपछि नदीमाथि अडि्कएका एकै गाउँका बालिकासहित ५ जनाको घटनाको साडे ६ घण्टापछि उद्धार गरिएको छ। तनहुँको छिम्केश्वरी र चितवनको सिमलटार गाविस जोड्ने तुइनमा अडि्कएकाको सशस्त्र प्रहरीको टोलीले सकुसल उद्धार गरेको हो।
बिहान ८ बजेको समयमा गाउँबाट घरयासी कामको शिलशिलामा चितवन जान हिँडेका छिम्केश्वरी ५ की २० वर्षीया सुष्मा आले, उनकी ४ महिनाकी छोरी आशिका आले, गाउँकै २० वर्षीया रमिला मगर, २१ बर्षिया भरीमाया आले मगर र ५० वर्षिय बीर बहादुर मगर तुइनको घिर्नी बिग्रिएपछि नदीको मध्यभागमा अलपत्र परेको स्थानीय बासिन्दा धन बहादुर भुजेलले बताए।
उद्धारका लागि बारम्बार प्रयास गरिएपनि सफल नभएपछ गाउँलेले इलाका प्रहरी कार्यालय मुग्लिनलाई खबर गरेका थिए। 'निकै समय हामी आफैले उद्धारको प्रयास गर्यौ,' उनले भने, 'उद्धार सम्भव नभएपछि प्रहरीलाई खबर गर्यौ।' प्रहरीले समेत तुइनको मध्ये भागमा अडि्कएकाको उद्धार गर्न नसकेपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र, कुरिनटारबाट गएको सशस्त्र प्रहरीको टोलीले उनीहरुको उद्धार गरेका हुन्।
त्रिशुली नदी पार गर्ने कुनै माध्यम नभएकाले गाउँलेले तुइन निर्माण पश्चात तुइनबाटै नदी पार गर्ने गरेका थिए। त्रिशुली नदीका कारण मुग्लिन चितवन सडक खण्डबाट पिछडिएका उनीहरुलाई आवत जावतमा समस्या परेपछि युरोपियन युनियनको आर्थिक सहयोगमा प्याक्टिल एक्सन र गैर सहकारी संस्था तनहुँले करिब ४ वर्ष अघि त्रिशुली नदीमा तुइन निर्माण गरिदिएको हो। क्षमता भन्दा बढि लोड ढुवानी गरेकाले तुइनको स्याक फुस्किएर तुइन बिचमा अडि्कएको गैर सरकारी संस्थाका कोषाध्यक्ष राजेश्वर हड्डखलेले बताए।
'तुइनमा मानिस अडि्कएको सुचना पाए लगतै टोली घटनास्थल पुगेर उद्धारमा जुट्यो,' तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दूर्गाबहादुर कुँवरले भने, 'झण्डै २ घण्टाको प्रयास पछि सबैको उद्धार गर्न सफल भयौ।'
समाचार नागरिक न्यूज बाट
