नेपाली नारीहरुको प्रमुख समस्य र समाधानका बाटाहरु
मेरो छोटो भनाईमा समेटिएको विचार अनि आशयलाई बुझ्ने प्रयास गर्नुहोला ,हुन त म कुनै त्यस्तो मनोविष्लेषक, स्थापित लेखक र व्याख्याता केहि होइन। एक सामान्य साहित्यिक "अनुरागी" को झिनो-मसिनो पात्र वा सर्जक बनेरआफ्नो कर्म-धर्ममा बाँचेको र हाँसेको सरल व्यक्तित्व भएको एक साधारण नागरिक परें । मेरो यो साधारण दिमागमा कुँदिएका केहि मौलिक भावना र विचारहरुलाई बाहिर ल्याई हाम्रो दैनिक जिबनका यथार्थ भोगाई र चित्रहरुलाई तपाईंहरु समक्ष पनि शेयर गरेर खुल्दुली मनलाई अलिकति हलुका र चङ्गा बनाउने प्रयास गर्दैछु ।
मैले देखे-भोगेर जाने अनुसार वास्तविक कुरो भन्नुपर्दा, हाम्रो नेपाली समाजभित्र देखिएको विकराल लैङगिक असमानतमा पाइएको थिचो-मिचो, दमन र शोषणको मुख्य कारक तत्व - " नारीको लागि नारी नै हो "। शायद , हुन सक्छ उनीहरुमा भएको जैबिक गुणले सृजना गरेको विकर्षण र वितृष्णाको परिणाम अनुसार एक नारीले अर्को नारीको आँशु, मर्म ,पीडा ब्यथा र धर्म कर्म बुझ्न नसकेको हुनाले अधिकांश नारीहरु वा महिलाहरुप्रति हुने अन्यया, अत्याचारको शिकार जननी कै छत्रछायाँमा भएको पाइएको छ । त्यसैले, नारीको वा महिलाको प्रमुख दुश्मन अथवा भनौं शत्रु पुरुष नभईकन नारी नै हो भन्न मन लाग्दछ मलाई । यसको अर्थ, पुरुषहरु पनि यस कार्यमा पूर्णरुपले निर्दोषी छन् भनेर भन्न खोजेको भने पक्कै होइन मैले । पुरुषहरुमा भएको अहंपन ,एकाधिकार अनि परम्परावादी सोच र प्रवृत्तिले थप उत्प्रेरणाको गोरेटोमा डोर्याएको छ, नारीहरुमाथि हुने दमन चक्रमा, यसलाई खरो बिरोध गर्नुको साटो आगोमा घ्यू थप्ने दुश्कार्य नारीबाट नै भएको पाइएको छ । यसको प्रत्यक्ष उदाहरणलाई लिने हो भने हाम्रो आफ्नै परिवारको, गाउँघरको र समाजको दैनिक जीवनयापनलाई भित्रीरुपमा केलाएर नियाल्दा छर्लङ्ग हुन्छ ।तसर्थ , हाम्रो दैनिकी र व्यबहारिक जिन्दगीलाई नियाल्दा मैले के पाउँछु भने - जति पनि नारीवादीहरु अहिले आफ्नो हक -अधिकार्, हित र सुरक्षाको वाकालत गर्दै मैदानमा उत्रे पनि, डलरको खेती गर्दै ठूला-ठूला तारे होटलहरुमा गोष्ठी र सेमिनारहरु गरेता पनि त्यसको सफलतामा कुनै अर्थ र महत्वपूर्ण उपलब्धीहरु भएको देखिंदैन । जबसम्म नारीहरु व्यबहारिक रुपले आफैंमा जागरुक भएर सशक्तरुपले कृयाशील हुँदैनन्, आत्मज्ञानको दियो बालेर आफूभित्र भएको र रहेको मनोरोग र मनोदशा हटाउँदैनन्, अनि एउटा नारीले अर्को नारीको वेदनाको आँशु पुछ्न सक्दैनन्, एउटा नारीमा भएको समान मर्म-पीडालाई अर्को नारीको भावनामा बसेर बुझ्न सक्दैनन् , पुरुषहरुको आडम्बरी र भोगी प्रबृत्तिमा यावतरुपले कठपुतली भईरहन्छन् भने नारीहरुको समस्या समाधान होला जस्तो लाग्दैन मलाई । हात्तीको देखाउने र चपाउने दाँत जस्तै बाहिरी रुपमा खाली पुरुषहरुको विरुद्धमा एकोहोरो हिसाबले खनिंदैमा
र सडकमा चर्को नारा-जुलुस र आदर्शवादी भाषण छाँट्दैमा नारीप्रति भएको असमानताको गहिरो खाडल पुरिएला जस्तो लाग्दैन ।
मेरो भोगाई र बुझाई अनुसार नेपाली नारीहरु ठोस उत्थान, बिकास र प्रगतिको गन्तब्यतर्फ लाग्ने हो भने समाजभित्र बसेर त्यहाँ भएका सकारात्मक तथा नकरात्मक दुबै पक्षहरु वा गतिविधिहरुलाई गहिराईमा गएर नियाल्ने चेष्टा गर्नुपर्दछ, कतिपय हाम्रा सकरात्मक पक्षहरुलाई समर्थन र जगेर्ना गर्ने अनि नकरात्मक पक्षहरुलाई ठाडो मुकाविला गरिकन हटाउने दरो कदम चाल्नुपर्दछ। यस कार्यमा उतृंदा दुबै महिला र पुरुषहरु एक-अर्काको बिरोध र टिकाटिप्पणीमा नलागी आपसी समझदारी र सहमतिको बिन्दुमा उभिएर हातेमालो
गर्दै चल्नुपर्ने हुन्छ । नारीहरुको वर्तमान अवस्था र चेतनाको बिकास उच्च पार्नको लागि उनीहरुको उचित शिक्षा, सर्वसुलभ शिक्षा, व्यबस्थित सम्बर्द्धन र प्रबर्द्धनमा ठोस पहलकद्मी गर्दै अगाढी बढ्नुपर्ने देखिन्छ
। तपाईं-हामी सबैलाई थाहा भएकै कुरा हो - हाम्रो नेपाली समाज भनेको पितृसतात्त्मक संरचना र ढाँचामा ठडिएको समाज हो । तितो सत्यता व्यक्त गर्दा पुरुषप्रधान समाज भएको हुनाले यो समाजमा पुरुषहरुको बाहुल्याता र हैकम चल्नु स्वाभाविकै हो । त्यसैले, नारीहरु जागरुक भएर , गोलबद्ध भई जीवन र गतिलाई बुझेर यो पछौटे र रुढिवादी समाजसङ्ग डेटर-खटेर जुध्नुपर्ने टड्कारो आवश्यकता छ । यो हाम्रो परम्परावादी समाजभित्र जकडिएर बसेका कयौं अन्धबिश्वासी विचार अनि अबधाराणहरुसङ्ग जेलिएका कुसँस्कार्, कुरीतिहरु तथा कुप्रथाहरुको जरो उखेलेर फाल्नुपर्ने जरुरी छ । जल्दो-बल्दो रुपमा नेपालका अधिकांशा क्षेत्रहरुमा दिनहुँ हुने र भइरहेका घटनाहरु - जस्तै, "दाईजो प्रथा" जस्तो ढोगी- भोगी प्रचलित कार्यले कति अवोला नारीहरुको अकालमा ज्यान गइरहेको छ । यसलाई पूर्णरुपमा कानुनी तथा व्याबहारिक हिसाबले निस्तेज पार्दै निर्मूल पार्नुपर्ने देखिन्छ । त्यस्तै नेपालको पश्चिम तथा सुदूर पश्चिम क्षेत्रहरुमा हुने गरेका "छाउपडी" प्रथाले कति अवोला नारीहरु वा चेलीहरु मृत्युको शिकार भइराखेका छन्, त्यसको यकिन
तथ्याङ्क छैन । यस्ता अन्धबिश्वासी र रुढिवादी कुसँस्कारहरुलाई निरुत्साही बनाउँदै हटाउनुपर्ने देखिन्छ । अर्को आयो - "बोक्सी प्रथा" यो खतरानाक अन्धबिश्वासी रोग हिमाल-पहाड-तराई नेपालमा सर्वत्र फैलिएको छ र यसले कतिपय निमुखा महिलाहरुको दयनिया हिसाबले जीवन लिइराखेको पनि छ । नेपालमा सदियौं देखि जरो गाडेर बसेका यस्ता अमानविया र डरलाग्दा कुप्रथाहरुलाई सबै मिलेर जतिसक्दो चाँडो हटाउनुपर्ने देखिन्छ । यस्ता कार्यहरुमा महिलाहरुको पूर्ण सहभागीता हुनुपर्ने र सक्रिय भएर खरो बिरोधमा उतृंदै उन्मुलनको बाटोमा अग्रसरता देखाई अग्रगामी र परिवर्तनकारी पाइलाहरु चाल्नुपर्ने देखिन्छ ।
यसरी हाम्रो समाजमा भएका अनेकौं कुसँस्कार र कुरीतिहरु अनि आदर्शवादी ढोंगी-भोगी प्रचलनहरुलाई पूर्णरुपले निस्तेज पार्दै समाजबाट निर्मूल पार्नका लागि नारीहरुको सकृया सहभागिता, जागरण, विशेष अभियान र अभिरुचिका साथ अगृम भूमिकाको आबश्यकता देखिन्छ । समाजमा भएका पुराना सडेगलेका असभ्य रीतिरिवाजहरु र तथाकथित आदर्शवादी मूल्य र मान्यताहरुलाई विस्थापित गराई नयाँ सभ्य, आधुनिक र वैज्ञानिक प्रकारको समाज सृजना गरि अनि त्यहि अनुसारको नयाँ मूल्य र मान्यताहरु सुपाच्या हिसाबले स्थापित गराउनु पर्दछ, जसमा आधा आकाश र धर्ती ओगटेका नारीहरुको विशेष भूमिका र महत्वपूर्ण योगदानको नितान्त जरुरी हुन्छ । अर्को कुरा, हाम्रो नेपाली समाजको मनस्थिती र मनोभावलाई केलाउने हो भने - "छोरा भए हर्क र छोरी भए खर्क" भन्ने कथित पुरुरुषवादी चिन्तन मनन र विचारलाई तोड्नुपर्ने देखिन्छ। छोरीलाई एउटा अभिशापको रुपमा होइन, वरदानको रुपमा लिने सभ्य समाजको परिपाटी र मनस्थितिको बिकास गराउनुपर्ने देखिन्छ । यथार्थ कुरा, नेपालका कतिपय क्षेत्रहरुमा र बहुसङ्ख्याक मानिसहरुमा अझै पनि छोरीलाई एउटा जीवन भार वा बोझको रुपमा सोचेर भ्रुण हत्या गर्ने प्रचलन यथावत रुपले कायमै छ । यस्ता समाजका घिनलाग्दा मनोगत रोग र प्रवृत्तिको डेटर सामना गर्नुपर्ने देखिन्छ हाम्रा सम्पूर्ण नारीवादीहरुले ।
छोरा हुन् या छोरी, दुवै ईश्वरका देन हुन्, अनि आफ्नो धर्म कर्म अनुसारको बराबरी हिंस्सेदार वा वरदान हुन् भन्ने सोच र विचारको बिकास हुनुपर्ने जरुरी छ, मनोवृत्तिको बिकास अनि भावनामा नयाँ जागरण ल्याउनुपर्ने देखिन्छ हाम्रो नेपाली समाजभित्रका आम जनमानसमा । नारीहरुमा गुणस्तरिया शिक्षाको उज्यालो छर्दै उनीहरुमा चेतना र आत्मविश्वासको बिकास गराउनुपर्ने देखिन्छ। शिपमूलक तालिम, सृजनशील कार्य र व्यबहारिक ज्ञानको अभिवृद्धी गराई उनीहरुमा आत्मनिर्भरताको बिकास गराउनुपर्ने हुन्छ । आत्मनिर्भरता भनेको महिलाहरुको बिकासमा एउटा मुख्य आधारशीला र कोसे ढुङ्गा हो । यसले महिलाहरुको जिबनयापन माथि उठाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आत्मनिर्भरताले गर्दा महिलाहरुमा गिरेको मनोबल र मनस्थिति उकास्न ठूलो टेवा मिल्दछ । यसको साथै नारीहरुको मनोबललाई हातमा हात साथमा साथ दिनुपर्ने हुन्छ र सरकारी तथा गैरसरकारी निकायहरु वा संघसंस्थाहारुमा नारीहरुको उल्लेख्य पहुँच गराइ उनीहरुको संख्यात्मक तथा गुणात्मक सहभागीता गराउनुपर्ने देखिन्छ । महिला हत्या, हिंसा र बलत्कार जस्ता
जघन्या अपराधहरुको लागि कडा भन्दा कडा दण्डनिया नियम र कानूनहरुको पूर्ण कार्यन्वयन हुनुपर्ने देखिन्छ । यस्ता लक्षित सकरात्मक कार्यहरु गरेर अघी बढेमा मात्र महिलाहरुको समस्याहरु समाधानको बाटोतर्फ अग्रसर हुनेछ ।नारीहरुको कोमल मनोभाव वा वात्सल्याको उचित कदर हुँदै समाजभित्र हेपिएका,
थिचिएका र मिचिएका समस्त नारी वर्गको समुचित उत्थान र बिकास भएर उनीहरुको अनुहारमा चम्किलो रोषनी-किरण सहित सुनौलो बिहानी आउनेछ ।
अन्तमा, म के भन्न चाहन्छु भने सृष्टीको नियम अनुसार नारी र पुरुष भिन्दाभिन्दै जात र बनावट भएर जन्मे पनि नारी र पुरुष भनेका एक अर्काका अभिन्न सहयात्रीहरु हुन्, एक अर्काका परिपूरक पाटाहरु हुन ।एउटालाई अलग्याएर दोस्रोको अस्तित्व रहदैन । एकोहोरो तरिकाले एउटाको बिरुद्धमा खानिंदैमा दोस्रोको उपलब्धी पनि हुने होइन । तसर्थ्, जीवनको गतिलाई बुझ्ने हो भने, दुईटैमा आपसी सम्बन्ध,सदभाव कायम गरी सत्मार्गको गोरेटोलाई डोर्याउनुपर्ने हुन्छ । त्यसैले त भन्ने गरिन्छ नि - नारी र पुरुष भनेका जीवनरुपी रथको दुईटा पाङ्ग्रहरु हुन्, जहाँ एक विना अर्को सदैव अधुरो बन्दछ, अपुरो बन्न जान्छ वा भनौ कि त्यो रथको यात्रा महत्वहिन हुनेछ र शून्या गतिमा पुग्दछ । आखिर्, नारी+पुरुष जिबनको एउटै डुङ्गमा चढेर सृष्टी चक्रको गतिलाई हाँक्नुपर्ने नै हुन्छ । तसर्थ, एक दोस्रोमा कदापी भैरभाव र वैमनश्या नराखि आपसी सम्बन्ध, सद्भाव र मिलाप कायम गरि चल्दामा नै दुबैको बराबरी भलाई, हित, उन्नति, प्रगति र बिकास हुने गर्दछ।
हाम्रो देशको अवस्था र व्यबस्था अनुसार मेरो अन्तर-चक्षुले देखेका कुरालाई व्यबहारिक हिसाबले समष्टिगत मूल्याङ्कन गर्दै तपाईहरु समक्ष यो सन्देशरुपी भनाई वा कथन टक्र्याएको हुँ, यसलाई अन्तर आत्माले बुझ्ने
चेष्टा गर्नुहोला भन्ने मेरो विनम्र अनुरोध छ ।
" यदि एउटा पुरुष शिक्षित वा ज्ञानी भयो भने त्यो शिक्षा वा ज्ञानको ज्योति सम्बन्धित व्यक्तिमा मात्र सिमित भई बल्दछ, त्यसको फाईदा उहि व्यक्तिले मात्र लिने गर्दछ, तर यदि एउटा नारी वा महिला शिक्षित वा ज्ञानी भइन भने त्यो शिक्षा वा ज्ञानको ज्योति उनी लगायत परिवार, समाज र देशले समेत पाउने गर्दछ, त्यसको फाईदा छौतर्फी फैलिन्छ ।"
हस्त ! यहाँहरुको अमूल्य सल्लाह र सुझावको अपेक्षा गर्दै मेरो मनको छोटो भनाई वा आशायलाई टुङ्ग्याउँदछु । कतै मेरो यस भनाई वा आशयलाई धमिल्याउने प्रयास किमार्थ नगर्नुहोला। बरु सक्नुहुन्छ भने यसमा कुनै तृटि वा कमिकमजोरी देख्नुभएमा, साथै आफ्नो विमति भएमा प्रतिकृया व्यक्त गर्नुहोला,म त्यसलाई हार्दिक आभारी प्रकट गर्नेछु ।
रुपलाल बिश्वकर्मा
साहित्यिक नाम
रुप अनुरागी
दमौली, तनहुँ
हाल - दुबई ( यूएई )
सम्पर्क - rbherald.bk@gmail.com
or rup.anuragi@facebook.com

