|

बम विस्फोटमा प्रयोग गरिएको मोटरसाइकलका धनी पक्राउ

काठमाडौं, वैशाख २० -जनकपुरको रामानन्द चोकमा बम विस्फोट भएको दुई दिनमा प्रहरीले घटनामा प्रयोग गरिएको मोटरसाइकलका धनीलाई पक्राउ गरेको छ।यातायात कार्यालयको विवरणअनुसार उक्त मोटरसाइकल इटहर्वाकटीका जयप्रकाश साहको नाममा रहेको खुलेपछि प्रहरीले मंगलबार उनलाई पक्राउ गरेको हो। 
ज२प ९३९५ नम्बरको मोटरसाइकल घटनास्थलमै क्षतविक्षत अवस्थामा फेला परेको थियो। मिथिला राज्य माग गर्दै भइरहेको शान्तिपूर्ण धर्ना क्रममा सोमबार बम विस्फोट हुँदा चारजनाको ज्यान गएको थियो भने ३१ घाइते भएका थिए।
विस्फोटलगत्तै पक्राउ परेका सप्तरी विषहरिया- ८ का जयप्रकाश चौधरीको भने संलग्नता खुलेको छैन। सुरुमा उनैले मोटरसाइकल राखेर भागेको शंकामा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए। मंगलबारसम्मको अनुसन्धानमा उनी बम पड्किँदा आत्तिएर भागेको हुनसक्ने प्रहरीले जनाएको छ।

'अहिलेसम्मको अनुसन्धानमा उनको संलग्नता देखिएको छैन,' स्रोतले भन्यो, 'अन्य पक्षबाट समेत तथ्य संकलन भइरहेकाले अनुसन्धानको दायरामा भने राखेका छौं।' स्थानीयको कुटाइपछि घाइते भएका उनको विराटनगरमा उपचार भइरहेको छ।
अनुसन्धान स्रोतका अनुसार साहले रातो-कालो रंगको मोटरसाइकल आफ्नो भएको स्वीकार गरे पनि त्यसमा बम नभएको दाबी गरेका छन्। उनले धर्नास्थलभन्दा पर ह्यान्डल लक गरी मोटरसाइकल पार्क गरेको बताएका छन्। त्यहाँबाट अरू कसैले नजिकै लगेर राखेको उनको बयान छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले साहको दाबी पत्याएका छैनन्। त्यही मोटरसाइकलमा जिलेटिनबाट बनेको टाइम बम फिट गरी पड्काइएको टोलीको निष्कर्ष छ। 'अहिलेसम्मको अनुसन्धानमा मानवीय क्षति पुर्‍याउने उद्देश्यले मोटरसाइकलमा बम फिट गरेर धर्नास्थलनजिकै राखेको देखिन्छ,' स्रोतले भन्यो।अनुसन्धानमा स्थानीय प्रहरीसँगै केन्द्रीय अनुसन्धान ब्युरोको टोली खटिएको छ। ब्युरोबाट डिएसपी भुपेन्द्र खत्रीको टोली जनकपुर पुगेको छ। खत्रीको टोलीले काठमाडौं बबरमहलमा तीनजनाको ज्यान जानेगरी भएको विस्फोटको अनुसन्धान गरेको थियो।

जिल्ला प्रहरी प्रमुख एसपी पुरुषोत्तम कँडेलले घटनाको पूर्ण अनुसन्धानको जिम्मेवारी त्यही टोलीको भएको र उनीहरू आफ्नोसमेत सम्पर्कमा नरहेको बताए। राजन मुक्ति समूहका प्रमुख राजन मुक्ति भनिने रञ्जित झाले एसएमएसमार्फत् बम विस्फोटको जिम्मेवारी लिएकाले प्रहरीले त्यही समूहलाई अनुसन्धानको केन्द्रमा राखेको छ।अनुसन्धान टोली भने राजन मुक्तिको मात्र संलग्नतामा विश्वस्त छैन। 'अरू कसैले बम पड्काएर घटनाको जिम्मेवारीमात्र लिन लगाएका संकेतहरू आएका छन्,' स्रोतले भन्यो, 'हामीले अरू व्यक्ति र समूहलाई पनि अनुसन्धानको दायरामा राखेका छौं।' स्रोतले अनुसन्धान दायरामा पारिएका समूहबारे खुलाउन चाहेन।आइतबार जनकपुरको एमाले कार्यालयमा भएको बम विस्फोट र सोमबारको घटनामा केही समानता देखिएकाले प्रहरीले दुवैलाई जोडेर अनुसन्धान बढाइरहेको छ। आइतबारको विस्फोटको जिम्मेवारी तराई मधेस स्टुडेन्ट लिबरेसन फ्रन्टको नाममा प्रकाश विद्यार्थीले लिएका थिए। उनले पनि केही सञ्चारकर्मीलाई एसएमएस गरेर घटनाको जिम्मेवारी लिएका थिए। सोमबारको घटनामा पनि राजन मुक्तिले त्यही शैली अपनाए।
समाचार नागरिक न्यूज बाट 

Posted by Butwalonline on 7:08 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बम विस्फोटमा प्रयोग गरिएको मोटरसाइकलका धनी पक्राउ"

Leave a reply