मोटो रकमको जरिवानाबाट बचे चालक हिरामणी रोक्का
प्रेम लामा/दोहा– बैदेशिक रोजगारीका लागि चार वर्ष अघि कतार आइपुगेका मिरकोट–५ गोरखाका ४१ बर्षिया हिरामणी रोक्का निकै ठुलो कठिनाईबाट उम्केका छन् ।
कतारको एक स्थानीय कम्पनीमा चालकको रुपमा कार्यरत रोक्का एनआरएनए आईसीसीका निवर्तमान उपाध्यक्ष सागर नेपालको पहल र एनआरएनए एनसीसी कतारको संस्थागत सहयोगमा १ लाख ५ हजार कतारी रियाल जरिवानाबाट बचेका हुन् । विगत ४ बर्षदेखि सो कम्पनीमा कार्यरत रोक्का गत अगष्तमा ड्यूटी गरिरहेको समयमा सडक दुर्घटनामा पर्दा उनले चलाएको सवारी साधान पूर्णरुपले क्षति भएपछि कम्पनीले क्षतिपुति तिर्न लगाएको थियो । अदालतमा जाँदा समेत मुद्दा हारेपछि तोकिएको रकम तिर्नु बाहेक अर्को उपायविहिन भएको अवस्थामा उनी सहयोगको लिखित अनुरोध सहित एनआएनए कतारको सम्पर्कमा आएका थिए ।
उनको अवस्था जानकारीमा आए लगत्तै सामाजिक अगुवा नेपालको बिशेष पहल तथा एनसीसी कतारको संस्थागत अनुरोधमा सो कम्पनीले निज रोक्काको मुद्दा फिर्ता लिएर सो सजाय माफ गरिदिएको थियो । सजाए माफी भएपश्चात रोक्का हषिर्त हुदै सबैमा कृतज्ञता जाहेर गरिरहेका छन् । सजाय माझ गरेकोमा गैरआवासीय नेपाली संघ कतारले समेत सो कम्पनीलाइ कृतज्ञता पत्र पठाइसकेको छ ।
उनलाई घरसम्म फर्कनका लागि टिकट र बाटोखर्च स्वरुप केहि रकम दोहास्थित संघसंस्थाले चन्दा बटुलेर दिएका छन् । सामाजिक अगुवा नेपालको अपिलमा गत विहिवार सााझ नेपाली दुतावासमा भएको एक कार्यक्रममा पनि उनलाई उल्लेख्य आर्थिक सहायता प्राप्त भएको थियो । नेपालले सम्बन्धित कम्पनीको मालिकसंग आफ्नो पुरानो चिनाजान रहेकोले निकै अनुरोध गरेपछि सदासयता देखाएको बताए ।
ड्राइभरकै रुपमा साउदी अरेवियामा करिव तीन बर्ष कार्यरत रही पुन रोजगारीको लागि दोहा आएका रोक्का अव भने मुलुकमै केहि गर्ने तर विदेशको योजना मनमै आउन नदिने सोचाईमा छन् । ४ जना छोराछोरीका बाबु रोक्का यसैसाता मुलुक फर्कने भएका छन् ।
