|

वैदेशिक रोजगारको नाममा सर्वसाधारण युवाबाट लाखौंको ठगी


पोखरा, वैशाख ४- अनुमति नै नलिई सञ्चालन गरिएको एक वैदेशिक रोजगार कम्पनीले सर्वसाधारण युवाबाट लाखौं रुपैयाँ उठाएर ठगी गरेको छ। वैदेशिक रोजगार विभागको अनुगमन टोलीले आइतबार सिर्जनाचोकस्थित बिसिजिआई गु्रप अफ सेक्युरिटिज सर्भिसमा छापा मारेर कागजात र कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

विभिन्न देशमा पठाइदिने प्रलोभनमा पारेर युवाहरुसँग लाखौं रुपैयाँ ठगी गरेको विभागले अनुगमनका क्रममा फेला पारेको छ। अनुमति नै नलिई सञ्चालन गरिएको कम्पनीले सर्वसाधारण युवासँग जथाभावी रकम लिएको पाएपछि कर्मचारीसहित कागजात र कम्प्युटर नियन्त्रणमा लिएको विभागका निर्देशक सूर्यप्रसाद भण्डारीले जानाकारी दिए। भण्डारीका अनुसार अनुगमनका क्रममा दर्ता तथा अनुमतिपत्र प्राप्त प्रमाणपत्र देखाउन नसकेपछि कागजात र कर्मचारीलाई नियन्त्रणमा लिइएको हो। 'कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता नगरेको र वैदेशिक रोजगार विभागबाट अनुमति नलिई कारोबार गरेको पाइएकाले कारबाहीका लागि नियन्त्रणमा लिइएको हो,' उनले भने, 'कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरे पनि विभागबाट अनुमति नलिई वैदेशिक रोजगारको काम गर्न पाइँदैन।'कम्पनीले युवाहरुबाट अहिलेसम्म करिब १५ लाख रुपैयाँ उठाइसकेको देखिए पनि अनुसन्धानपछि थप जानकारी आउने उनले बताए। चन्द्रबहादुर गुरुङको नाममा दर्ता गर्न खोजिएको कम्पनीले अहिलेसम्म दर्ताप्रक्रिया चलिरहेको भन्दै युवाहरुबाट रकम संकलन गरेको पाइएको भण्डारीले जानकारी दिए। 'अनुगमनमा गएका हामीलाई समेत दर्ता प्रक्रिया चलिरहेको भन्दै छल्न खोजेका थिए,' उनले भने, 'तर पनि पर्याप्त प्रमाण देखाउन सकेनन्। वैदेशिक रोजगार विभागबाट अनुमति नलिई कारोबार गर्नै पाइँदैन।' कम्पनीका सञ्चालक भने कार्यालयमा थिएनन्। b

स्वदेश तथा विदेशका विभिन्न कार्यालयमा सुरक्षागार्ड उपलब्ध गराउने भन्दै कम्पनीले युवाहरुसँग ५० हजार रुपैयाँसम्म रकम उठाएको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताए। युवाहरुबाट संकलित रकम कार्यालयका कर्मचारी जितबहादुर र चन्द्रबहादुर गुरुङको नाममा बैंकमा राखेको भण्डारीले बताए। 'जितबहादुर र चन्द्रबहादुरको संयुक्त खातामा पैसा राखेको देखिए पनि रकम भएनभएको बुझ्न बाँकी छ,' भण्डारीले भने। अनुगमन टोलीले जितबहादुरलाई पक्राउ गरी प्रहरीसमक्ष बुझाएको छ। पक्राउ परेका जितबहादुरले आफूहरुको नाममा सुरुदेखि नै पैसा जम्मा गरिदिएको बताए। 'कर्मचारी भए पनि हाम्रो नाममा पैसा राखिदिएको हो,' उनले भने, 'तर अरु जानकारी छैन।'

वैदेशिक रोजगारीमा पठाउने भन्दै लामो समयदेखि पैसा र पासपोर्ट लिए पनि नपठाएपछि पासपोर्ट फिर्ता लगेको पीडित रामप्रसाद पनेरुले बताए। दुई महिनाअघि नै कुवेत पठाउने भन्दै १५ हजार रुपैयाँ र पासपोर्ट लिए पनि नपठाएपछि पासर्पाेट फिर्ता गरेको उनले बताए। 'पासपोर्ट फिर्ता लगेपछि पैसा माग्दा भोलि दिउँला भन्दै टारे,' उनले भने, 'तर अझैसम्म दिएका छैनन्।' बाँकी रकम पछि दिने गरी सुरुमै १५ हजार रुपैयाँ लिएको उनले बताए। पक्राउ परेका जितबहादुर अहिले नियन्त्रणमा रहे पनि उनलाई कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइने कास्की प्रहरीले जनाएको छ। 'वैदेशिक रोजगार विभागको अनुमगन टोलीले प्रशासनसँग सहयोग मागेपछि हामीले पक्राउ गरेका हौं,' कास्की प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले भने, 'कारबाहीका लागि विभागलाई बुझाउँछौं।' ठगीमा संलग्नलाई वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारबाही गरिने विभागले जनाएको छ। अनुसन्धानपछि मात्र के कति कारबाही गर्ने भन्ने यकिन हुने विभागका निर्देशक भण्डारीले जानकारी दिए। कुनै पनि वैदेशिक रोजगार कम्पनी सञ्चालन गर्दा विभागमा ३० लाख रुपैयाँ धरौटी राख्नुपर्छ। शाखा खोल्दा २ लाख रुपैयाँमात्र धरौटी राखे पुग्छ। पोखरामा अहिलेसम्म जम्मा ८ वटा कम्पनीले धरौटी राखेर वैधानिक रुपमा शाखा सञ्चालन गरे पनि अन्यले नराखेको भण्डारीले जानकारी दिए। धरौटी नराखी सञ्चालित सबै शाखालाई कारबाही गरिने उनले बताए।
संमाचार नागरिक न्यूजबाट

Posted by Butwalonline on 11:30 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वैदेशिक रोजगारको नाममा सर्वसाधारण युवाबाट लाखौंको ठगी"

Leave a reply