|

आगलागीबाट ३७ परिवारका ८४ घर गोठ चलेर नष्ट

लहान, वैशाख १२- सप्तरीको अलग-अलग स्थानमा भएको आगलागीमा सयभन्दा बढी घर जलेर नष्ट भएको छ। सप्तरीको खड्गपुर-७ मा मङ्गलबार दिउसो भएको आगलागीमा ३७ परिवारका ८४ घर गोठ चलेर नष्ट भएको छ। 
स्थानीय छुतहरी रामको घरबाट सल्केको आगोले दलित बस्ती खरानी बनेको छ। जलेका सबै घर दलितहरुकै भएको सप्तरी प्रहरीले जनाएको छ। आगलागीबाट करिव डेढ करोडको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

आगोबाट जलेका घरहरुबाट कुनै पनि सामान निकाल्न नसकिएकाले क्षति बढी भएको हो- सप्तरी प्रहरीले बतायो। दिउसो पुरुष जति काममा गएका बेला भएकाले आगोले बस्ती नै खरानी बनायो- छुतहरुले भने। स्थानीय, लहान र राजविराज नगरपालिकाको वारुण यन्त्र अनि सुरक्षाकर्मीको सक्रियतामा ३ घण्टापछि आगो नियन्त्रणमा आएको थियो।

तराई मधेशका गाउँमा अबेर गरी खाना पकाउने चलन छ। खाना पकाउँदा पराल, दाउरा, भूस, पात र गुइँठा प्रयोग हुन्छ। गुइँठामा खाना पकाएर खरानी परालको टाल भएको छेउमा मलको रुपमा भण्डारण गर्ने गर्छन्। अहिले हावा, हुरीको समय भएकाले फ्याँकिएको खरानीमा बाँकी रहेको आगोको झिल्को उडेर घरको छानामा पुग्ने र त्यहीँबाट आगलागी सुरु हुने गरेको पाइन्छ- लहान वारुण यन्त्र कार्यालयले जनायो। यहाँ भइरहेको आगलागीका घटनामा असावधानीका कारण रहेको कार्यालयले जनाएको छ।

अहिले चलेको आगलागीको लहरले वारुण यन्त्रकर्मीलाई भ्याई नभ्याई भएको छ- लहान नगरपालिकाका निमित्त प्रमुख शत्रुधन चौधरीले भने। एक ठाउँ पुग्न पाएको हुँदैन, अर्को ठाउँमा आगो लाग्यो भने खबर आउँछ- उनले भने। सगरमाथा अञ्चलमा राजविराज र लहान नगरपालिकामा गरी दुई वारुण यन्त्र छ।

यसैबीच, सप्तरीकै त्रिकौल-८ मा दिउसो भएको आगलागीमा करिव सय घर जलिसकेको छ। अहिले पनि आगो नियन्त्रणमा आउन सकेको छैन्। आगलागीस्थलबाट सशस्त्र प्रहरीका बलबहादुर श्रेष्ठले दिएको जानकारीअनुसार सोही वडामा गहुँ पेल्न चलाइएको थ्रेसर मेसिन तातेर आगो लागेको र सो आगोको लप्का तेज हावाका कारण घरको छानोमा सल्केको हो। तेज हावा र हुरी चलिरहेको र फुसका घरहरु भएकाले त्रिकौल-८ को यादव बस्ती नै करिव करिव सखाप हुन लागेको उनले बताए। यहाँ धेरै घर फुसका (परालले छाएको) छन्- उनले भने।

आगो नियन्त्रणका लागि राजविराज नगरपालिकाको वारुण यन्त्र घटनास्थल पुगेर नियन्त्रणको काम सुरु गरिसकेको र सुनसरीको वारुण यन्त्र आउने क्रममा रहेको उनले भने। लहानबाट मगाइएको वारुण यन्त्र सिरहाको नवराजपुरमा आगलागी भएको खबर आएपछि बाटैबाट फर्केको छ। त्रिकौलमा आगलागी जारी रहेकाले क्षतिको अनुमान हुन सकेको छैन।
समाचार नागरिक न्यूज बाट 

Posted by Butwalonline on 2:38 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आगलागीबाट ३७ परिवारका ८४ घर गोठ चलेर नष्ट"

Leave a reply