|

बाग्लुङमा मात्र २३ इन्च उचाइ भएकी बालिका

दिलीप पौडेल, बाग्लुङ, चैत १९- जिल्लाको दर्लिङ-१ मालारानीकी १० वर्षीया शीतल परियारको उचाइ २३ इन्च मात्र छ। तीन वर्षदेखि उचाइ बढ्न छाडेकाले आफ्नी छोरी मुलुककै होची भएको रहेको प्रेम परियारको भनाइ छ।



'डाक्टरले अब उचाइ नबढ्ने बताएका छन्,' उनले भने, 'मेरो छोरी नेपालकै सबैभन्दा होची हुन्।'
नेपालमै सबैभन्दा होची भनेर दाबी गरिएकी दाङ चौलाही-३ घोडावासेकी २० वर्षीय ईश्वरीमाया छन्त्यालको उचाइ ३० इन्चे छ। विश्वमै होची महिलाको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राख्ने महिला भारत नागपुरकी हुन्। नागपुरकी ज्यातै आग्मेको उचाइ २४.७ इन्च रहेको गिनिज बुक अफ वर्ल्ड रेकर्ड सेन्टरले जनाएको छ।
पाँच वर्षका जुम्ल्याहा दुई छोराको उचाई तीन फुट भए पनि छोरीको उचाइ र तौल असामान्य भएको प्रेमले बताए। ४ किलो ८० ग्रामकी ती बालिकालाई यहाँ आयोजना गरिएको पश्चिमाञ्चल व्यापार मेला तथा तेस्रो बाग्लुङ महोत्सवमा हेर्नेको भीड लागेको छ।
खानपान, बोलीव्यवहार र स्वास्थ्य अवस्था राम्रो भए पनि खुट्टा कमजोर भएकाले हिँडडुलमा समस्या हुने गरेको आमा देवसराले बताइन्। 'उपचार गरे हिँडडुल गर्न सक्ने डाक्टरले बताएका छन्,' उनले भनिन्, 'आर्थिक अभावमा उपचार गर्न सकिएको छैन।' 
गत वर्ष उनीहरुले छोरीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्न लगेका थिए।
कृषि पेसा गरेर गुजारा चलाउने परियार दम्पतीले उपचारकै लागि सहयोग पुग्ला भनेर बाग्लुङ महोत्सवमा छोरी ल्याएका हुन्।
ती महोत्सवको एक स्टलभित्र राखेर २० रुपैयाँ तिरेर हेर्ने व्यवस्था मिलाएका छन्। केही मनकारीले थप रकमसमेत दिएका छन्।
बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष वसन्तकुमार श्रेष्ठले दर्शकले रुचिसाथ हेरिरहेको बताए। '१८ वर्ष पुगेपछि गिनिज बुकमा नाम लेख्ने योजना छ,' उनले भने। 
स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 5:34 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बाग्लुङमा मात्र २३ इन्च उचाइ भएकी बालिका"

Leave a reply