बिदेश पठाउने बहानामा बंधक बनाइएका १० जनाको उद्धार
काठमाडौ, वैशाख १३-वैदेशिक रोजगारमा पठाइदिने प्रलोभनमा एक महिनादेखि बन्धक बनाइएका ६ महिलासहित १० जनालाई प्रहरीले उद्धार गरेको छ । बन्धक बनाएको सूचनाका आधारमा खटिएको केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) को टोलीले सोमबार उनीहरूलाई राजधानीको महादेवस्थान-६ गर्जुधाराबाट उद्धार गरेको हो । बन्धक हुनेमा १९ देखि ४० वर्षसम्मका छन् ।
बन्धक बनाउने तनहुँ भानुमती ६ घर भई गर्जुधारा बस्ने ३८ वषर्ीय उदयराना मगर र ३० वषर्ीया लोककुमारी थापालाई प्रहरीले पक्रेको छ । उद्धार गरिएकामा कास्की लेखनाथ-१३ बस्ने सरु तामाङ, तनहुँ दुलेगौडा-८ की ओमकुमारी विक, कास्की लेखनाथ-१३ की मधुमाया गुरुङ, तनहुँ थप्रे-४ की खिममाया चदरा, कास्की गगनगौंडा-५ की धनमाया थापा, सिन्धुली रानीखोला-४ की रेखा थापा छन् । यस्तै, स्याङ्जा चित्रभन्ज्याङ-८ का युबहादुर थापा, स्याङ्जा खिलुङ-९ का कमल थापामगर र पर्वत शंकरपुर-३ का होमनाथ खनाल, पर्वत सारङखोला-२ का नीलबहादुर राना छन् । दुई दिनअघि मात्रै हाँडीगाउँमा बन्धक बनाइएका ६ जना महिलालाई पनि महानगरीय प्रहरी प्रभाग कमलपोखरीले उद्धार गरेको थियो ।
सबैलाई दबाब दिएर कुवेतमा पठाउन लागेको अनुसन्धानमा खुलेको ब्युरोका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए । 'गाउँबाट ल्याएर सबैलाई एउटै कोठामा राखेर एकैपटक पठाउने तयारी रहेछ,' पोखरेलले भने, 'घरमा बुढाबुढी स्याहार्ने काम भन्दै ३०/३५ हजार तलब हुने आश्वासन दिएका रहेछन् ।' उनीहरूसँग राहदानीसमेत नभएको उनले बताए । पीडितको हाउभाउअनुसार सबै सामान्य परिवारका हुन सक्ने उनले बताए ।पक्राउ पर्ने र बन्धक बनाइएका सबैलाई ब्युरोले वैदेशिक रोजगार विभागमा मंगलबार बुझाएको थियो । विभागले पीडितसँग मंगलबार बयान लिएको थियो । धेरै तलब पाउने प्रलोभन देखाएर कुवेत पठाउन लागेको बयान दिएको विभागका कानुन अधिकृत हरिसिंह धामीले बताए । विभागले पीडितलाई आफन्तको जिम्मा लगाएको छ ।
स्रोत कांतिपुर दैनिक