धेरैले स्वैच्छिक अवकाश रोजेपछि निर्धारित संख्याभन्दा झन्डै ३ हजार कम लडाकु सहभागी हुने
काठमाडौं, वैशाख ४ -सेना समायोजन प्रक्रियामा निर्धारित संख्याभन्दा झन्डै ३ हजार कम लडाकु सहभागी हुने देखिएको छ। सातबुँदे सहमतिमा बढीमा साढे ६ हजार लडाकु समायोजन गरिने उल्लेख भए पनि शुक्रबारबाट सुरु भएको पुनर्वर्गीकरणमा धेरैले स्वैच्छिक अवकाश रोजेपछि समायोजन संख्या अपुग हुने देखिएको हो।
स्वैच्छिक अवकाश रोज्ने लडाकु संख्या बढेपछि अघोषित रूपमा 'एक हतियार एक लडाकु' आधारमा समायोजन हुने देखिएको छ। पुनर्वर्गीकरण सुरु भएयताको तीन दिनको तथ्यांकले शिविरमा रहेका ९ हजार ७ सय ५ लडाकुमध्ये ६० प्रतिशत (५ हजार ८ सय २३)ले स्वैच्छिक अवकाश र ४० प्रतिशत (३ हजार ८ सय ८२) ले मात्र समायोजन रोज्ने देखिएको छ।
'पुनर्वर्गीकरण सुरु भएयताका तीन दिनको 'ट्रेन्ड' हेर्दा शिविरमा रहेकामध्ये ४० प्रतिशत मात्र समायोजन प्रक्रियामा सहभागी हुने देखिन्छ,' सेना समायोजन विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले आइतबार भने, 'भोलि र पर्सि (सोमबार र मंगलबार) मा पुनर्वर्गीकरण सकिन्छ।'
'पुनर्वर्गीकरण सुरु भएयताका तीन दिनको 'ट्रेन्ड' हेर्दा शिविरमा रहेकामध्ये ४० प्रतिशत मात्र समायोजन प्रक्रियामा सहभागी हुने देखिन्छ,' सेना समायोजन विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले आइतबार भने, 'भोलि र पर्सि (सोमबार र मंगलबार) मा पुनर्वर्गीकरण सकिन्छ।'
२०६३ सालमा अनमिनले प्रमाणीकरण गरेअनुसार माओवादीका ७ मुख्य र २१ सहायक गरी २८ शिविरमा ३० हजार ८ सय ५२ लडाकु र तिनका ३ हजार ४ सय २८ वटा हतियार थिए। शिविरमा रहेका नाबालक तथा अयोग्य लडाकु हटाएपछि झन्डै १९ हजार लडाकु शिविरमा बाँकी थिए।
गत साल सेना समायोजन विशेष समितिले स्वैच्छिक अवकाश, पुनर्स्थापना र समायोजनको विकल्प दिई पुनर्वर्गीकरण गर्दा शिविरमा १७ हजार ७६ लडाकु गणना गरिएको थियो, जसमध्ये ९ हजार ७ सय ५ ले समायोजन, ७ हजार ३ सय ६५ ले स्वैच्छिक अवकास र ६ जनाले पुनर्स्थापना रोजेका थिए।
निर्धारित संख्याभन्दा समायोजन रोज्ने लडाकुको संख्या बढी आएपछि विशेष समितिले चैत अन्तिम साता लडाकुलाई अन्तिमपटक स्वैच्छिक अवकाश रोज्ने अवसर दिने निर्णय गरेको थियो। शुक्रबार विशेष सचिवालयले पुनर्वर्गीकरण सुरु गरेको हो।
यसको तीन दिन आइतबारसम्म ४ हजार २ सय ५८ ले स्वैच्छिक अवकाश रोजेका छन्। आइतबारसम्म सात मुख्य शिविरमध्ये इलाममा ३ सय १६, सिन्धुलीमा २ सय ५५, चितवनमा १ हजार ३ सय ९८, नवलपरासीमा ५ सय ८०, रोल्पामा ६ सय ४, सुर्खेतमा ७ सय १९ र कैलालीमा ३ सय ८६ ले स्वैच्छिक अवकास रोजेका छन्।
शर्माका अनुसार इलाम र सिन्धुलीस्थित शिविरमा पुनर्वर्गीकरण लगभग सकिएको छ भने चितवन, नवलपरासी, रोल्पा र सुर्खेतस्थित शिविरमा सोमबारसम्म सकिने अनुमान छ। कैलालीमा पुनर्वर्गीकरण कार्य मंगलबारसम्म सकिने उनले बताए। 'स्वैच्छिक अवकास रोज्ने यकिन संख्या मंगलबारसम्म आउँछ, अहिलेको तथ्यांक अनुसार ६० प्रतिशत स्वैच्छिकमा जाने देखिन्छ,' शर्माले भने।
उनको भनाइलाई आधार मान्दा बढीमा ३ हजार ८ सय ८२ लडाकुमात्र समायोजन प्रक्रियामा सहभागी हुनेछन्। सेनाको प्रचलित नियमअनुसार व्यत्तिगत रूपमा लडाकुको छनोट हुने हुँदा समायोजन प्रक्रियामा सहभागी हुने सम्पूर्ण लडाकु सेनामा समायोजन हुन नसक्ने विशेष समितिका एक सदस्यले बताए।
'समायोजन प्रक्रियामा सहभागी हुने लडाकु र सम्पूर्ण मापदण्ड पूरा गरी सेनामा प्रवेश् गर्नेको संख्यामा फरक आउँछ,' विशेष समितिका ती सदस्यले भने, 'अन्ततः अनमिनले प्रमाणीकरण गर्दा लडाकुसँग जति हतियार भेटिएको थियो त्यत्ति नै संख्यामा लडाकु समायोजन हुने देखियो।'
माओवादी शान्ति प्रक्रियामा आएपछि लडाकुसँग रहेका ९१ थान मोर्टार, ६१ थान मेसिन गन, २ हजार ४ सय ३ थान राइफल, ६१ थान सबमेसिन गन, १ सय १४ साइड आर्मस, २ सय १२ सटगन, २ सय ५३ अन्य हतियार र २ सय ३३ घरेलु हतियार गरी ३ हजार ४ सय २८ थान हतियार अनमिनले प्रमाणीकरण गरेको थियो। नेपाली कांग्रेसले 'एक हतियार एक लडाकु' समायोजन गरिनुपर्ने अवधारणा सुरुमा ल्याए पनि ऊ यसमा लामो समय अडिन सकेको थिएन।
साचार नागरिक न्युजबाट
