बोक्सीको आरोपमा आफ्नै सानीआमाका छोराछोरी र ज्वाइँबाट दुवै आँखा फोरियो
काठमाडौ, चैत्र १० - तारा र ज्ञानेन्द्र दाहालले विवाह गरेको पाँच वर्षसम्म पनि निःसन्तान हुनुमा सुनिता पुडासैनीको कुनै कसुर थिएन । बिनाकसुर उनले बिहीबार आफूमाथि गम्भीर भौतिक आक्रमण खेप्नु पर्यो र बोक्सीको आरोपमा दुवै आँखा फोरियो । त्यो पनि आफ्नै सानीआमाका छोराछोरी र ज्वाइँबाट ।
घटना राजधानी काठमाडौंमै भएको हो । सुनिता जडीबुटीबाट बिहीबार सानीआमाको घर- जोरपाटी, सक्षमनगर गएकी थिइन् । उनकी सानीआमाकी छोरी, असन डेरा गरी बस्ने तारा आफ्ना श्रीमान् ज्ञानेन्द्र र गोठाटार बस्ने दिदी खोमकुमारीलाई लिएर त्यहीँ पुगेकी थिइन् ।
ताराका बुबा ७८ वर्षे विष्णुहरि तिम्सिनाका अनुसार बिहे भएको पाँच वर्ष बित्दा पनि ताराका छोराछोरी भएका थिएनन् । डाक्टरलाई देखाएर उपचारसमेत गरिएको थियो । विष्णुहरिले अनुसार , 'झाँक्री काम गर्ने गौतम मामाले जोखाना हेरेर सुनिता बोक्सी लागेकाले सन्तान नभएको र आफ्नै खुनबाट बोक्सी लगाएको बताए । बोक्सी सुनिता हो भने, सुनिताले उनीहरूको गाईको दूध पनि चुसेको हो भने । मेरा छोराछोरी र ज्वाइँले पत्याए । त्यसको उपचार गर्ने भन्दै आज कुटपिट भयो । मैले छुुट्याउन खोज्दा मैमाथि आक्रमण गरे ।'
कुटपिटमा हँसिया र खुर्पा प्रयोग भएको छ । प्रत्यक्षदर्शीका अनुसार सुनिताले सकेसम्म आफूमाथिको आक्रमण छेकिन सकिनन् । हँसियाको चुच्चोले दुवै आँखा खोपेर उनलाई सख्त घाइते बनाइयो । खोपकुमारी पनि कुटपिटमा परिन् । खोपकुमारीकी छोरी मन्दिरा दाहालका अनुसार 'माइत जान्छुु' भन्दै घरबाट हिँडेकी आमाले तीन घन्टापछि फोन गरेर आफू कुटिएको जानकारी दिइन् ।
'म हतारिएर त्यहाँ पुुगेँ,' मन्दिराले भनिन्, 'नांगेझार पारेर कुटेछन् । आमा भाग्नुभएछ । सुनिता सानिआमालाई बोक्सी भन्दै सिउँडीले हानेछन् ।' घटनाबारे जोरपाटी प्रहरी बिटमा सहयोग माग्दा प्रहरीले 'घर झगडा' भन्दै बेवास्ता गरेको मन्दिराले बताइन् ।
त्यसपछि स्थानीय एक युवाको सहयोगमा सुनिताको उद्धार गरिएको थियो । सुनितालाई चारैतिर टिनले बारेको छाप्रोभित्र कुटेर खाटमुनि जाकिएको थियो । त्यहाँबाट उद्धार गरेर उनलाई उपचारका लागि तिलगंगा आँखा अस्पताल लगिएको थियो । अस्पतालका अनुसार उनको दुवै आँखामा गहिरो चोट लागेको छ । 'दृष्टि गुमेको छ वा छैन परीक्षणपछि मात्रै भन्न सकिन्छ,' अस्पताल स्रोतले भन्यो ।
सुनिताले भाइ-बहिनी र ज्वाइँले पटक-पटक आफ्नो शरीरमाथि चढेर कुटेको बताइन् । घटनाको झन्डै चार घन्टापछि बौद्ध वृत्तका डीएसपी श्याम ज्ञवालीले त्यसबारे सामान्य सूचना आए पनि खास जानकारी नभएको बताए । 'मैले खबर पाएपछि प्रहरीलाई पठाएको थिएँ, उनीहरूले घटनास्थलै फेला पार्न सकेनन्,' उनले भने । घटनास्थल महानगरीय प्रहरी वृत्त बौद्धबाट पाँच सय मिटरमात्र टाढा छ । घटनामा संलग्न भएकामध्ये खोमकुमारीका भाइ दिलीप, बहिनी तारा, ज्वाइँ ज्ञानेन्द्र र झाँक्री भनिएका मामा भवानीशंकर गौतमलाई प्रहरीले बिहीबार राति नियन्त्रणमा लिएको छ । दिलीपकी श्रीमती सीतालाई स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । जोरपाटीमै गाई पालेर बसेका दिलीप विष्णुहरिका कान्छा छोरा हुन् ।
स्रोत :कान्तिपुर