|

डाक्टरको लापरबाहीले बिरामीको मृत्यु,मेडिकल कलेजमा तोडफोड


काठमाडौ, चैत्र १० - डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले नेपाल मेडिकल कलेज जोरपाटीमा तोडफोड गरेका छन् । स्थानीय ५२ वर्षे इन्द्रप्रसाद धौबुडाको बुधबार शल्यक्रिया गर्ने क्रममा लापरबाहीले मृत्यु भएको मृतकका आफन्तको दाबी छ ।
पित्तथैलीमा पानीको फोका भएकाले मेसिनबाटै सामान्य शल्यक्रिया गर्नुपर्ने सुझाव पाएपछि मृतक बुधबार दिउँसो एक्लै आएर शल्यक्रिया गराएका हुन् । 'शल्यक्रियापछि डाक्टरले बाहिर निकाल्दा मृत अवस्थामा थिए, प्रत्यक्षदर्शी साधुराम श्रेष्ठले जानकारी थिए, 'के कारणले मृत्यु भएको चित्तबुझ्दो जवाफ नआएपछि तोडफोड गरेका हौं ।'
मृतकका छोरा विक्रमका अनुसार तन्दुरुस्त र हिंड्डुल गर्न सक्ने अवस्थाको बुवाको शल्यक्रिया गर्दागर्दै कसरी मृत्यु भयो थाहा भएन । मृतक धौबुडाको डाक्टर मनोहरलाल श्रेष्ठको टोलीले शल्यक्रिया गरेको हो ।
ढुङ्गा हान्दै तोडफोड गरेकाले अस्पतालको बाहिरी भागमा रहेका ३० वटा सिसा फुटेका छन् । तोडफोडमा संलग्न चार जनालाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएकालाई छोड्नुपर्ने माग गर्दै मृतकका आफन्त अस्पतालमा धर्ना बसिरहेका छन् । 'प्रहरीकोे नियन्त्रणमा रहेका आफन्त छोडेपछि मात्र शव उठाउनेछौं,' छोरा विक्रमले भने । हाल मृतकको शव अस्पतालकै आईसीयु कक्षमा राखिएको छ ।  
अस्पतालका निर्देशक राजेशकिशोर श्रेष्ठका अनुसार  मेसिनबाट शल्यक्रिया गरेपछि छाला च्यातिएको थियो । यस्तो अवस्थामा बाहिरबाटै चिरेर शल्यक्रिया गर्नुपर्छ । यस्तो समस्या कहिलेकाहीं मात्र देखिने समस्या हो । मृतकको शल्यक्रिया गर्दार्गर्दै हृदयाघात भएर मृत्यु भएको हो । 'हामीले प्रयास गर्दागर्दै बिरामीलाई बचाउन नसकेका हौं लापरबाहीका कारण होइन,' उनले भने । 
स्रोत :कान्तिपुर 


Posted by Butwalonline on 8:11 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "डाक्टरको लापरबाहीले बिरामीको मृत्यु,मेडिकल कलेजमा तोडफोड"

Leave a reply