लुम्बिनीमा राष्ट्रसंघीय चासो
संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनको प्रस्तावित नेपाल भ्रमण रोकिएपछि विभिन्न प्रश्नहरू उठेका छन् । बृहत्तर राष्ट्रिय लुम्बिनी विकास निर्देशक समितिले फागुन ३० गते महासचिव बान गौतमबुद्धको जन्मस्थल लुम्बिनी अवलोकन गर्न आउने बताएपछि यसबारे बहस चर्किएको थियो । एकथरीले पूर्वविद्रोही माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेको निर्देशक समितिको निम्तोमा बानले लुम्बिनी भ्रमण गर्न नहुने तर्क गरेका थिए । अर्काथरीले बानले लुम्बिनी अवलोकन गर्दा लुम्बिनीको मात्र होइन, राष्ट्रलाई नै फाइदा हुने तर्क गरेका थिए । बानको भ्रमणका पक्षमा जनमत निर्माण भइरहेको अवस्थामा उनको भ्रमण स्थगित भएको छ । यसबाट लुम्बिनीको हित चाहनेहरू दुःखी भएका छन् ।
विश्वको जनसंख्या करिब ७ अर्बमध्ये करिब १.५ अर्ब इसाईहरूको छ । इसाई धर्मका संस्थापक जिसस क्राइस्टले ज्ञान प्राप्त गरेको स्थान भेटिकन सिटीलाई उनीहरू तीर्थस्थल मान्छन् र जीवनमा एकपल्ट त्यहाँं पुग्न मरिहत्ते गर्छन् । विश्वमा १.६ अर्ब जनसंख्या भएका मुस्लिमहरू साउदीको मक्कालाई पवित्र तीर्थस्थल मान्छन्, जहाँ इस्लाम धर्मका संस्थापक मोहम्मदको जन्म २६ अपि्रल ५७० मा भएको थियो । इसाईहरूको भेटिकन सिटी र मुस्लिमहरूको मक्का-मदिनाजस्तै ५० करोड बौद्ध धर्मावलम्बीहरूका लागि लुम्बिनी तीर्थस्थल हो, जहाँ बौद्धधर्मका संस्थापक बुद्धको जन्म ईसापूर्व ६२३ मा भएको थियो । त्यसैगरी ९० करोड हिन्दुहरूको एउटा प्रमुख तीर्थस्थल पशुपतिनाथ हो । यी माथिका तथ्यहरूबाट स्पष्ट हुन्छ, विश्वका कुल जनसंख्यामध्ये १ अर्ब ४० करोड जनसंख्या हिन्दु र बौद्धमार्गीहरूको छ । उनीहरूको तीर्थस्थल नेपालमा पर्छ । तर माल पाएर पनि चाल नपाउने हामी नेपालीले प्रचुर सम्भावना भएका यी दुई सम्पदास्थलको उपयोग गर्नसकेका छैनौं ।
यो लेखको प्रमुख विषय महासचिव बानको लुम्बिनी अवलोकन भएकाले लुम्बिनीकै बारेमा छलफल केन्दि्रत गरौं । शताब्दीसम्म नेपाल हिन्दु अधिराज्य भएकाले अन्य धर्मावलम्बीहरू उपेक्षित भए । त्यसैले त्यसको प्रभाव बुद्ध जन्मस्थल लुम्बिनीमा पनि पर्यो । तर प्रमुख रूपमा भारतका मौर्यवंशी सम्राट अशोक र राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्त (बर्मेली) को योगदानले गर्दा लुम्बिनीको प्रचार विश्वमा भएको हो । सम्भवतः उनीहरूकै योगदानले गर्दा लुम्बिनी विश्वसम्पदामा अंकित भयो । त्यही कारण नेपालीका लागि प्रचुर सम्भावनाको स्रोत बन्न सफल भएको हो ।
सम्राट अशोक (२६९-२३२ ईसापूर्व) प्राचीन भारतका मौर्यवंशी सम्राट थिए । उनको राज्य वर्तमान भारतको सबै क्षेत्र र हालको बंगलादेश, अफ्गानिस्तान र पाकिस्तानसम्म फैलिएको थियो । वर्तमान भारतको उडिसा राज्यको पूर्व तटीय र आन्ध्र्र प्रदेशको उत्तर तटीय क्षेत्र कलिङमा विजय प्राप्त गर्दा एक लाखभन्दा बढीको ज्यान गयो । त्यसपछि सम्राट अशोक करिब २६४ ईसापूर्वमा बौद्ध धर्मावलम्बी भएका थिए । उनी बौद्धधर्मका प्रमुख प्रचारक पनि भए र बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर नजिकै अशोक स्तम्भ बनाउन लगाए । आफ्नो साम्राज्यमा बौद्धधर्म फैलाई त्यसलाई समृद्ध बनाए । यस अर्थमा सम्राट अशोकलाई प्राचीनकालका प्रमुख बौद्ध प्रचारक मान्न सकिन्छ ।
हिजोका दिनहरूमा हिन्दु राजाहरूका कारण बौद्धधर्मले नेपालमा फस्टाउने अवसर पाएन । सन् १९६१ मा बर्माका कूटनीतिज्ञ ऊ थान्त राष्ट्रसंघका महासचिव नियुक्त भएपछि उनको चासो शान्तिका अग्रदूूत बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा पनि केन्दि्रत भयो । उनले आफ्नो दोस्रो कार्यकालमा सन् १९६७ मा लुम्बिनी भ्रमण गरे । प्रभावकारी र योजनाबद्ध ढंगले लुम्बिनीको विकास गर्न जापानी वास्तुविद क्यान्जु टाङ्गेलाई लुम्बिनी गुरुयोजना बनाउने जिम्मा दिए र टाङ्गेले सन् १९७८ मा आफ्नो जिम्मेवारी पूरा गरे । महासचिव थान्तले नै राष्ट्रसंघका सदस्य राष्ट्रहरूको सहयोग जुटाउन एसियाका १६ देशका राष्ट्रसंघीय प्रतिनिधिहरू संलग्न 'लुम्बिनी राष्ट्रसंघ समिति' गठन गरे । तर त्यसबेला लुम्बिनीप्रति नेपालको आफ्नै उपेक्षाले गर्दा थान्तले राष्ट्रसंघबाट सन् १९७१ म्ाा अवकाश लिएपछि त्यो समिति निस्त्रिmयजस्तै भयो ।
करिब ४० वर्षपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा लुम्बिनी विकासबारे सरकारी चासो सुरु भयो । संस्कृतिमन्त्री गोपाल किरातीले लुम्बिनीको विकास बृहत्तर रूपमा गर्नका लागि लुम्बिनी विकास योजनाको कार्यक्षेत्र लुम्बिनीबाट विस्तार गरी रामग्राम, देवदह र तिलौराकोटसम्म पुर्याउने निर्णय २०६३ मै विकास कोषमा गराए । राष्ट्रसंघका महासचिव थान्तको अगुवाइमा गठन भएको लुम्बिनी राष्ट्रसंघ समितिलाई 'अपग्रेड' गरी मन्त्रीस्तरीय प्रतिनिधिमूलक बनाउने पहल अर्का संस्कृतिमन्त्री मिनेन्द्र रिजालले गरे । यी सबै प्रयासको परिणामस्वरूप सरकारले गत असोज ३० गते माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालको अध्यक्षतामा बृहत्तर राष्ट्रिय लुम्बिनी विकास निर्देशक समिति गठन गर्यो । त्यही हैसियतमा दाहाल र रिजाल न्युयोर्क गई कात्तिक २३ गते राष्ट्रसंघका महासचिव बानलाई भेटी लुम्बिनीको विकासमा उनको समर्थन हासिल गर्न सफल भए । त्यसबखत बानले लुम्बिनीको संरक्षण र बृहत्तर विकासका लागि आफ्नो नैतिक तथा राजनीतिक समर्थन हुने जनाएका थिए ।
बानको समर्थनपछि लुम्बिनी फेरि एकपल्ट अन्तर्राष्ट्रिय रूपमा गतिशील भएको छ । कम्बोडिया, थाइल्यान्ड, मङ्गोलिया, भुटान, श्रीलंका, जापान, चीन, दक्षिण कोरिया, भियतनाम, सिङ्गापुर आदिमा लुम्बिनीबारे चासो र जागरण बढेको छ । लुम्बिनीमा चिनियाँ, श्रीलंकाली, भुटानी र दक्षिण कोरियाली तीर्थयात्रीहरू ओइरिन थालेका छन् । मङ्गोलिया, भियतनाम, कम्बोडियाको आर्थिक वृद्धिदर बढेकाले ती देशबाट पनि तीर्थालुहरू आउन थालेका छन् । त्यसले गर्दा नेपाल र सीमा नजिकैको भारतीय क्षेत्रमा आर्थिक गतिविधि बढेको छ । आफ्नो देशका तीर्थालुहरूको ओइरो लाग्न थालेपछि लुम्बिनीमा पाँचतारे होटलहरू खोल्न र उद्यानहरू बनाउन चिनियाँ उद्योगपतिहरूले चासो देखाइरहेका छन् । यो अर्थमा बृहत्तर लुम्बिनी क्षेत्रमा आर्थिक उन्नति सुरु भएको छ ।
हिजोका दिनमा लुम्बिनीप्रतिको शासकीय उपेक्षा, त्यसबारे अप्रभावकारी प्रचार तथा विकास कोषको कमजोर व्यवस्थापनका कारण अझै गौतमबुद्ध भारतमा जन्मेको भ्रम विदेशीहरूमा छ । जस्तै- अमेरिकी म्यागेजिन 'टाइम'का स्तम्भकार फरिद जकारियाले आफ्नो पछिल्लो पुस्तक 'द पोष्ट अमेरिकन वल्र्ड'मा बुद्ध भारतमा जन्मेका भनी उल्लेख गर्नु । त्यतिमात्र होइन, इन्टरनेटहरूमा उपलब्ध लुम्बिनीसम्बन्धी धेरै सामग्रीमा पनि बुद्ध नेपालमै जन्मेका हुन् भन्ने भेटिँदैन । महासचिव बानको लुम्बिनी भ्रमणले अमेरिकी विद्वान जकारियाहरूलाई बुद्ध नेपालमै जन्मेका हुन् भन्ने चेत सायद खुल्ने थियो । त्यसैले बानले लुम्बिनी भ्रमण गर्दा देशलाई फाइदा नै फाइदा थियो । बान भ्रमणको विरोध गर्ने कथित अधिकारवादीहरूलाई पनि बेफाइदाचाहिँ हुने थिएन ।
हाललाई बैसाख १६ गते हुने भनिएको बानको भ्रमण स्थगन भएको छ । राष्ट्रसंघीय मिसन 'अनमिन' र मानवअधिकार उच्चायुक्तको कार्यालय बन्द गराउनेहरूले नै बानको लुम्बिनी भ्रमणबारे विवाद झिकी स्थगित गर्न लगाए । यसबाट स्पष्ट हुन्छ, नेपालमा राष्ट्रसंघको उपस्थिति उनीहरूलाई मन पर्दैन । उनीहरू कूटनीतिक र आर्थिक रूपमा नेपालले प्रगति गरोस् भन्ने चाहँदैनन् । बानको भ्रमण स्थगन हुँदा उनीहरूलाई आफ्नो मनोकांक्षा पूरा भएको महसुस भयो होला । तर लुम्बिनीको माध्यमबाट देशलाई आर्थिक रूपले समुन्नत गराउन लागिपर्नेेहरूलाई चाहिँ खिन्न पारेको छ । बानलाई लुम्बिनी भ्रमण गराउने चुनौती र जिम्मेवारी बृहत्तर लुम्बिनी समितिलाई झन् बढेको छ ।
साभार:कान्तिपुर दैनिकबाट