यात्रुवाहक बस पल्टिँदा दुई जनाको मृत्यु १५ यात्रु घाइते
बारा, चैत्र ११ - पूर्व पश्चिम राजमार्ग अन्तर्गत पथलैया निजगढ सडक खण्डको बाराको डुमरवाना ७ पिलुवा नजिकैको सडकमा शनिबार अपराह्न करिब ४ बजे एक यात्रुवाहक बस पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट यात्रु बोकर सर्लाही तर्फ जाँदै गरेको बा२ख ९७६३ नम्बरको सर्लाही सफारी नाम गरेको बस अनियन्त्रित भई सडकमा पल्टिँदा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
मृत्यु हुनेमा नाम थर वतन खुल्न नसकेका दुई जना २८/२९ वर्षको पुरुष भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको उपचारका लागि वीरगन्ज लाँदै गर्दा बाटोमै र एक जनाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा घाइते भएका मध्ये केहीको नारयणी उपक्षेत्रीय अस्पताल वीरगन्ज, केहीको संजिवनी मेडिकल सिमरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको समेत नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।
स्रोत :कान्तिपुर