|

कबिता -म हुँ माइक्रो खलासी

आँखीझ्यालबाट छिरेको

अलिकति उज्यालो काखी च्यापेर

बडेमान महलका ती

चेप चाप र सडक पेटीहरुमा

बितेका सयौ रातहरु ......



म बेवारिसे,

जन्मदै फ्यालिएको, बेकामे झार झैँ

समाज र परिवारबाट तिरस्कृत म ,

नाम, थर र पहिचान बिनाको,

आमा-बाबा र

आफन्तको संबन्धको मायाबाट बन्चित

धैलोमैलो र फोहोरी म,

यी स्वार्थी दुनियाँले दिएको

लट्टे हो मेरो नाम ............

यहि नामले परिचित हुँदै

बिताएँ कयौँ दिन रात र बर्षहरु

निलो आकाशलाई ब्लांकेट बनाई

चिसो धर्ती बिछ्याएर

उराठलाग्दो बीभत्स

लामा रातहरुमा

माइक्रोको खलासी हुने

सपना बुन्दै ...............



धेरै बसन्तका पालुवा फेरिए फुटपाथमै

देशमा कति तन्त्र फेरिए हेर्दाहेर्दै,

कति झुपडी महलमा परिवर्तन भए,

बिना चप्पल कुद्नेहरु चिप्ला कारमा गुड्न थाले

तर म .......?

आफैले आफैलाई चिन्दिन

आफु भित्रको मनलाई बदल्न सक्दिन

तर किन ?

यो कुटील समाज हेर्दै,

अनि आफ्नु हन्तकाले भुडी सम्झेर

झनक्क रिस उठ्छ

कस्तो घ्याम्पे त.....

जति भरे पनि नभरिने ...

ठूलो भएँ रे भन्छन बस्तीवालहरू

काम गर्नु रे खानलाई

राम्रा लुगा लगाउनु रे लाज छोप्नलाई

हो म मेहनेतले काम गर्छु,

यो अँध्यारो फुटपाथको दुखको अन्त्य गर्ने

म हुँ माइक्रो खलासी ...............



आज समय बदलिएकोछ

जे जस्तो भएपनि आङ्भरि लुगा छन्

बिशाल सहर चोक चोक

माइक्रोको झ्यालमा झुन्डिएर भएपनि

शहर घुम्दैछु म

कठांग्रिने त्यो तुसारोको प्रवाह नगरी

यात्री बोलाउदै छु....................

कोटेश्वर,गौसाला चावहिल नयाँबस पार्क

कोटेश्वर,गौसाला चावहिल नयाँबस पार्क

कोटेश्वर,गौसाला चावहिल नयाँबस पार्क

भन्दै कराउँदा कराउँदै

मेरो स्वर सुकेको छ,

जीवन खतरामा छ,

तर म खुशी छु,

आफ्नु कमाईमा बाँचेको छु,

त्यहि लट्टे नामले परिचित

अतितको दुखका भग्नावशेष

मनभरि संगाल्ने

म हुँ माइक्रो खलासी \\

इन्दिरा खतिवडा'प्रयास' दमक -८,झापा 

Posted by Butwalonline on 6:24 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कबिता -म हुँ माइक्रो खलासी"

Leave a reply