|

एसएलसी परीक्षा अवधिभर परीक्षार्थी र कर्मचारीलेमोबाइल फोन बोक्न नपाउने

पोखरा, चैत ६- मंगलबार सुरु हुने यस वर्षको एसएलसी परीक्षालाई मर्यादित, व्यवस्थित र अनुशासित बनाउने नीतिअनुरुप कास्की प्रहरीले जिल्लाका कुनै पनि परीक्षा केन्द्र बाहिर कसैलाई भेला हुन नदिने भएको छ।  सुरक्षामा खटिने बर्दीधारी र सादा पोशाकका प्रहरीले परीक्षा केन्द्र बाहिर मानिसको अनावश्यक भीड हुन नदिन विशेष निगरानी राख्ने तयारी गरेको हो। चिट चोराउने वा अन्य कुनै नियतले परीक्षा केन्द्र वरपर भेला हुन कसैले बलजफ्ती गरे तुरुन्त पक्राउ गरिने प्रहरीले जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालयले यसपटक एसएलसी परीक्षालाई मर्यादित बनाउन कसैले परीक्षाको मर्यादा उल्लंघन गरे 'ठाउँको ठाउँ कारबाही' गर्ने नीति लिएको छ। यस्ता जोकाहीलाई कसुरको मात्रा हेरी बढीमा ६ महिना कैद वा एक लाख रुपैयाँ जरिवाना वा दुवै सजायँ गर्न सक्ने नीतिमा व्यवस्था छ।
परीक्षा मर्यादित बनाउन 'एसएलसी परीक्षा समन्वय समिति कास्की'ले पनि सरोकारवालाका लागि ३५ बुँदे आचारसंहिता जारी गरेको छ। प्रहरीले पनि त्यही 'स्पिरिड'अनुरुप आफुलाई तयारी अवस्थामा राखेको कास्कीका प्रहरी प्रमुख एसपी यादवराज खनालले जानकारी दिए।
उनकाअनुसार परीक्षार्थीको मनोविज्ञानलाई ध्यानमा राख्दै प्रहरीले परीक्षा केन्द्र हाताभित्र यसपटक आफ्ना सवारी समेत लैजाने छैन। विशेष परिस्थिति वा माथिको आदेश बीना परीक्षा हलमा बर्दी लगाएका प्रहरीले प्रवेश पनि नगर्ने उनले बताए।
एसएलसी तयारीका क्रममा शिक्षक एवं केन्द्राध्यक्षहरुले विगतमा परीक्षा केन्द्र हाताभित्र प्रहरीको गाडी र परीक्षा हलमा बर्दीका प्रहरी प्रवेशले विद्यार्थीमा मनोवैज्ञानिक त्रास उत्पन्न गराएको गुनासो गरेपछि यसपटक केही सुधारको पहल भएको हो।विशेष परिस्थिति बाहेक बर्दीका प्रहरीलाई परीक्षा हलमा नछिर्न निर्देशन दिईएको छ।'एसएलसी परीक्षाका लागि जिल्लामा कुल ४ सय प्रहरी परिचालन गरिने उनले जानकारी दिए। कास्कीका २७ प्ररीक्षा केन्द्रमा प्रतिकेन्द्र १० जनाका दरले २ सय ७० र अन्य प्रहरी बाहिरी गस्ती तथा सादा पोशाकमा खटिने उनले बताए।
परीक्षामा खटिने केन्द्राध्यक्षदेखि परिचरसम्म सबैको सुक्ष्म गतिविधि अध्ययनका लागि सादा पोशाकका २५ प्रहरी परिचालन गरिने भएको छ। गस्ती र सादा पोशाकका प्रहरी कुनै निश्चित क्षेत्रमा नभई नभई जिल्लाभर डुल्नेछन्। कास्की प्रहरीले एसएलसी अवधिभरका लागि सशस्त्र प्रहरीको गण र गुल्मबाट एकसय जनशक्ति सहयोग लिएको छ।
'यसबाहेक सम्भावित घटनालाई ध्यानमा राखेर थप ५० प्रहरी तयारी अवस्थामा राखेका छौं' एसपी खनालले भने,'यसपटक पनि विगतमाझैं जिल्लाको परीक्षा शान्तिपूर्ण र मर्यादित बनाउन कुनै कसर बाँकी राखिने छैन।'
जिल्ला शिक्षा कार्यालय कास्कीले जारी गरेको आचारसंहितामा परीक्षा अवधिभर परीक्षार्थी र कर्मचारीलाई मोबाइल फोन बोक्न निषेध गरिएको छ। केन्द्राध्यक्ष तथा अनुगमनकर्ताले मोबाइल भाइब्रेसन वा साइलेन्समा राख्नुपर्नेछ। उनीहरु बाहेक अन्यले अनिवार्य रुपमा मोबाइलको स्वीच अफ गर्नुपर्नेछ। केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोग कर्मचारीले सबैले देख्ने गरि परिचय-पत्र अनिवार्यरुपमा लगाउनु पर्ने व्यवस्था गरिएको छ।
'केन्द्राध्यक्षले परीक्षा निरीक्षकलाई दिनदिनै दोहोर्‍याएर एउटै कक्षामा राख्न पाउने छैन' आचारसंहितामा उल्लेख छ,'सहयोगी कर्मचारी परीक्षा सुरु हुनुअघि नै केन्द्र हातामा प्रवेश गर्ने र परीक्षा अवधिमा कुनै कारणबस बाहिर निस्किए पुन प्रवेशमा रोक लगाउनु पर्नेछ।'
पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले आफु मातहतको सोह्रै जिल्लामा परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ। यस क्षेत्रका सबै जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिका पुगेको र केन्द्राध्यक्ष, सहयाक केन्द्राध्यक्ष लगायत परीक्षा निरीक्षकको नियुक्ति पुरा भएको क्षेत्रीय शिक्षा निर्देशक गोपालकृष्ण पौडेलले जानकारी दिए। हरेक परीक्षा केन्द्रमा २५ परीक्षार्थी बराबर एक निरीक्षक खटाईएको उनले बताए।
निर्देशनालयका अनुसार यसपटक यस क्षेत्रबाट कुल एक लाख ५ सय १४ परीक्षार्थी सामेल हुँदैछन्। कुल ३ सय ७३ परीक्षा केन्द्रबाट नियमिततर्फ ८५ हजार ८ सय ३३ र एक्जाम्टेडतर्फ १४ हजार ६ सय ८१ परीक्षार्थीले परीक्षा दिने क्षेत्रीय शिक्षा निर्देशक गोपालकृष्ण पौडेलले जानकारी दिए। 'जिल्लागत रुपमा सबैभन्दा बढी रुपन्देहीका ४९ केन्द्रबाट १५ हजार ३ सय ६ र सबैभन्दा कम मनाङको एक मात्र केन्द्रबाट ८६ परीक्षार्थी सहभागी हुँदैछन्' उनले भने।
दृष्टिबिहिन र अपाङ परीक्षार्थीले कक्षा ८ सम्म अध्ययन गरेका व्यक्तिलाई लेखकका रुपमा राख्न पाउने पौडेलले जानकारी दिए। कास्कीका जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुषालकाअनुसार कास्कीमा यसपटक ७ दृष्टिबिहिन र १९ सुस्त श्रवण भएका परीक्षार्थीले परीक्षा दंदैछन्। उनीहरु लेखनाथस्थित सृजना बहिरा उच्च माविका विद्यार्थी हुन्। कास्कीमा सामुदायिक १ सय ६ र संस्थागत १ सय ३९ विद्यालय छन्।
'जिल्लाका कुल २ सय ४५ विद्यालयबाट नियमिततर्फ १० हजार ३ सय र एक्जाम्टेडतर्फ ७ सय ७९ गरि कुल ११ हजार ७९ परीक्षार्थी सामेल हुँदैछन्' जिशिअ भुषालले भने।
स्रोत :नागरिक 

Posted by Butwalonline on 11:22 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एसएलसी परीक्षा अवधिभर परीक्षार्थी र कर्मचारीलेमोबाइल फोन बोक्न नपाउने"

Leave a reply