आईसीसी वर्ल्ड ट्वान्टी–ट्वान्टी क्रिकेट छनोटमा नेपालले बुर्मडालाई २४ रनले हरायो
काठमाडौ, चैत्र ५ - नेपालले आईसीसी वर्ल्ड ट्वान्टी–ट्वान्टी क्रिकेट छनोटमा प्ले–अफमा पुग्ने आशालाई आइतबार जिवितै राखेको छ । नेपालले पाँचौं खेलमा बुर्मडालाई २४ रनले हरायो । समूह ‘ए’ मा रहेको नेपालले तेस्रो जित आत्मसात गर्दै शीर्ष ३ मा रहेर प्ले–अफमा पुग्ने सम्भावनालाई कायम राख्यो ।
पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्काको अर्धसतकमा ६ विकेटको क्षतिमा १ सय ५१ रन जोडेको थियो । पारसले ४८ बलमा ६५ रन जोडे ।
शरद भेषावकरले ३७ बलमा ४४ रन बनाए । जवाफमा बर्मुडाले ५ विकेटको क्षतिमा १ सय २७ रन मात्र जोड्यो । नेपालका शक्ति गौचनले ३ र पारसले एक विकेट लिए । नेपालले सोमबार नेदरल्यान्ड्स र मंगलबार क्यानडासँग खेल्ने छ ।
सातमध्ये पाँच खेल समाप्त भइसकेको स्थितिमा नेपालको खातामा ६ अंक छ । खेलेका पाँचमध्ये नेपालले दुई हार बेहोर्यो । समूह 'ए' मा रहेको नेपाल पाँचौं स्थानमा छ । यसअघि नेपालले हङकङ र डेनमार्कविरुद्धको खेलमा जित निकालेको थियो भने पपुवा निग्युनी र अफगानिस्तानसँग पराजित भएको थियो ।
शीर्ष ३ मा रहने टिम प्लेअफमा प्रवेश पाउने छन् । अफगानिस्तानले ४ खेलमा ८ अंक जोडिसकेको छ । उसलाई अब प्लेअफ पुग्नबाट रोक्न समूहका अन्य टिमलाई गाह्रो पर्नेछ । क्यानडा र नेदरल्यान्ड्सको समान ६-६ अंक छ ।
नेपालले सोमबार नेदरल्यान्ड्स र मंगलबार क्यानडाको सामना गर्ने छ ।
स्रोत :कान्तिपुर