|

विदेशका आफन्तको ठेगाना दिँदा लागू औषध मुद्दा


काठमाडौ, चैत्र १७ - परिचित कसैले सामान पठाउन विदेशस्थित आफन्तको ठेगाना मागे होस पुर्‍याउनुहोला । तपाईंले दिएको ठेगानामा लागूऔषध पुगेर विदेशमा रहेका आफन्त जेल पर्न पनि सक्छन् । लागूऔषध कारोबारीले चिनजानका व्यक्तिको विदेशमा रहेका आफन्तको ठेगानामा लागूऔषध पठाएर कारोबार गर्ने गरेको पाइएको छ ।

सामान पठाउने नाममा चरेस पठाइदिएका कारण गत फेब्रुअरीमा जापान र क्यानडामा दुई नेपालीले लागूऔषध कारोबारीको अभियोग खेप्नु पर्‍यो । नाता पर्ने राजकुमार चौहानको अनुरोधमा सामान बुझेकै कारण जापानको फुकुओकामा बस्ने राजीव छेत्री -नाम परिवर्तन) झन्डै २ महिना त्यहाँको प्रहरी हिरासतमा बस्नु पर्‍यो । लागूऔषधको कारोबारमा उनको कुनै संलग्नता नरहेको प्रमाण नेपाल प्रहरीले दिएपछि उनी आइतबार तारेखमा छुटेका छन् ।

क्यानडाको एउटा विश्वविद्यालयमा प्राध्यापन गर्ने एक नेपालीको घरमा कुरियरमार्फत २१ किलो चरेस पुगेपछि उनी अनुसन्धानको घेरामा छन् । त्यहाँको प्रहरीले उनको पासपोर्ट जफत गरेको छ । लागूऔषध कानुन कार्यान्वयन इकाईका अनुसार एउटा गिरोहले दिल्लीबाट कुरियर गरी चरेस ओसारपसार गर्ने गरेको खुलेको छ । उक्त गिरोहले नेपालबाट दिल्ली पुर्‍याइएको चरेस कुरियर गरी गन्तव्यमा पुर्‍याउने गरेको छ ।

गिरोहका सदस्यले चिनजानका व्यक्तिको विदेशमा रहेका आफन्तको खोजी गर्छन् । लागूऔषध पुर्‍याउनुपर्ने गन्तव्यमा चिनजानका व्यक्तिको कोही आफन्त रहेछ भने जरुरी सामान पठाउनु छ भनेर ठेगाना माग्छन् । 'कुरियरबाट आएको बुझेर सघाउन अनुरोध गरी तिनले चरेस पठाउने गरेको खुलासा भयो,' इकाईका डीआईजी यादव अधिकारीले भने, 'विदेशमा सामान पुगेपछि सुरक्षा निकायले थाहा नपाएको विश्वस्त भए मात्र तिनले सामान लिन आफ्ना मान्छे पठाउँछन् ।'

नाता पर्ने राजकुमारले साथीले कुरिअर गरी पठाएको सामान बुझिदिनु उसको मान्छेले सम्पर्क गरी लैजान्छ भनेपछि राजीवले हुन्छ भने । फेब्रुअरीको पहिलो दिन भारतको दिल्लीबाट कुरियर गरेको सामानको पोको उनको घरमा पुग्यो । तर पाँचौं दिन जापानी प्रहरीले खानतलासी गर्दा चार किलो चरेस फेला परेपछि उनी हिरासतमा पुगे ।

इकाईका एसएसपी नवराज सिलवालका अनुसार विकसित मुलुकका विमानस्थलमा कुरियरबाट प्रतिबन्धित वस्तु फेला परे पनि प्रहरीले गिरोहसम्म पुग्न ती वस्तुलाई गन्तव्यसम्म पुग्न दिन्छन् । फुकुओकामा राजीवको घरमा भित्रिएको चरेस लिन आउनेलाई समात्न प्रहरीले पाँच दिन निगरानी गरेको थियो । तर कोही नआएपछि पाँचांै दिन चरेस बरामद गर्‍यो । 'यसबीचमा उक्त चरेस बुझ्न आउनुपर्ने व्यक्तिले राजीवको घरमा टेलिफोन गरेका थिए,' सिलवालले भने, 'तर प्रहरी निगरानीको आशंकामा सामान लिन गएनन् ।'

त्यसपछि राजीवको यहाँस्थित परिवारले खबर गरेपछि इकाईले सुरुमा राजकुमारसँग सोधपुछ गर्‍यो । राजकुमारले दिल्लीमा बस्ने साथी सुवास अधिकारीको अनुरोधमा जापानमा कुरा गरी ठेगाना दिएका रहेछन् । भारतीय प्रहरीमार्फत अधिकारीसँग सोधपुछ गर्दा उनले आफ्नो जिल्ला नुवाकोटका दिल्ली बस्ने साथी रेमबहादुर तामाङले अनुरोध गरेकाले सामान पठाउन सघाए पनि चरेस पठाउन थालेको थाहा नभएको बताए । रेमलाई पनि उक्त सामान नुवाकोटका अनिल तामाङ र चाम्ले तामाङलाई दिएको खुल्यो । 'तर पोकोमा लागूऔषध छ भन्ने कुरा रेमलाई चाहिँ थाहा थियो,' डीआईजी अधिकारीले भने । तर सुवास पक्राउ परेको भोलिपल्टदेखि मोबाइल अफ गरेका अनिल र चाम्ले पक्राउ परेका छैनन् ।

यसबीचमा नेपालबाट एकजनाले राजीवको घरमा टेलिफोन गरी सामान पुगे नपुगेको सोधेपछि चरेस पठाउने सञ्जालको थप गहिराइमा प्रहरी पुगेको छ । उक्त टेलिफोन गर्ने नुवाकोटकै जोक्ते तामाङ थिए । जोक्तेलाई नियन्त्रणमा लिएपछि उक्त सामान सोमबहादुर तामाङले पठाएको पत्ता लाग्यो । सोमबहादुर लागूऔषध मुद्दामा २०५९ सालमा पक्राउ परी जेल सजाय काटेपछि दिल्लीबाट कारोबारमा सक्रिय भएको डीआईजी अधिकारीले बताए । गिरोहले जापानमा बस्ने रेशम तामाङले पाउने गरी उक्त चरेस पठाएको खुलेको छ ।

अनुसन्धान टुंगोमा पुगिनसकेका कारण क्यानडामा प्राध्यापन गर्ने नेपालीकहाँ कसरी चरेस पुग्यो भन्ने जानकारी प्रहरीले गराएको छैन । फेब्रुअरी ७ मा ती प्राध्यापक बस्ने विश्वविद्यालयको क्वार्टरमा २१ किलो चरेसको कार्टुन पुगेको थियो । प्रहरीले तत्काल छापा मारेर उक्त चरेस बरामद गरेपछि विश्वविद्यालयले उनलाई क्वार्टरबाट निकालेको छ । 'अब कसैले सामान पठाउन विदेशका आफन्तका ठेगाना मागे नदिनु वेश,' अधिकारीले भने, 'विदेश ओहोरदोहोर गर्दा कसैले सामान पुर्‍याइदिनु भने सामान हेरेपछि मात्र बोक्नुपर्ने भयो ।'
स्रोत :कांतिपुर दैनिक 


Posted by Butwalonline on 5:28 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विदेशका आफन्तको ठेगाना दिँदा लागू औषध मुद्दा"

Leave a reply