|

गुगल भर्सेस एप्पल


काठमाडौ, चैत्र १७ - एप्पलका संस्थापक स्टिभ जब्स जीवित छँदा प्रतिज्ञा गरेका थिए, 'आइफोनको पेटेन्ट चोरेर आइफोनकै बजार लिने गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमलाई ठीक लगाउन युद्ध गर्ने ।' गत वर्ष सार्वजनिक उनको बायोग्राफीमा पनि 'जीवनको अन्तिम समयसम्म एप्पलको प्रत्येक पैसा गुगलको गलत कामको विरुद्धमा खर्च गर्ने' बताएका थिए । 
'म एन्ड्रोइडलाई ध्वस्त पार्छु,' उनले भनेका छन्, 'किनकि यसले सबै चोर्‍यो । त्यसैले यसविरुद्ध युद्ध गर्छु ।' उनको कम्पनीले एन्ड्रोइडमाथि तीव्र रूपमा कानुनी आक्रमण सुरु गर्‍यो । आईओएस -आइफोन अपरेटिङ सिस्टम) सँगै चर्चा पाएको एप्पललाई गुगलले एन्ड्रोइड बजारमा पाएको सफलतापछि रिस उठेको हुनुपर्छ र दर्जनौं मुद्दा हाल्यो पनि । 
तर एन्ड्रोइड अझै ध्वस्त भएको छैन । धेरै मुद्दा एप्पलको पक्षमा भएनन् । कमैमा मात्र विजय हासिल गर्‍यो । एप्पलले हालै सामसुङ र मोटोरोलाविरुद्ध एप्पलले पेटेन्ट चोरीको मुद्दा हालेको छ । यो मुद्दा अमेरिकी अदालतमा छ । अनि मुद्दामा आरोप छ, यी दुई कम्पनीका स्मार्ट फोन र ट्याब्लेट कम्प्युटरमा एप्पलको प्रविधि चोरी गरे । 
एप्पलले जित्यो भने यी कम्पनीहरूले धेरै ठूलो क्षति बेहोर्नु पर्नेछ । अनि धेरै पैसा बुझाउनु पर्नेछ । त्यसपछि स्मार्ट फोनको मूल्य अकासिने अनुमानसमेत छ । यसबाट एप्पलले धेरै सफलता पाउनेछ । एप्पल र गुगलको अप्रत्यक्ष युद्धको कारण हो बजार प्रतिस्पर्धा । आईओएसको बजार एप्पलको अपरेटिङ सिस्टम प्रयोग गर्ने स्मार्ट फोन लिन थाले । 
अनि कानुनी प्रतिस्पर्धामा आयो एप्पल । स्मार्टफोन, ट्याब्लेट पीसीका साथै ल्यापटप बजारमा चर्चा पाएका एप्पल कानुनी रूपमा सफल भएका छैनन् । तर प्रतिस्पर्धामा उसले नै अगुवाइ गरेको छ । नयाँ प्रविधि पस्कन माहिर एप्पल बजारमा आफ्नो दबदबालाई भने विस्तारै गुमाउँदैछ । 
त्यसैले स्मार्ट युवाहरू स्मार्ट फोन रोज्दा एप्पलमात्र रोज्दैनन् । गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम भएको मोबाइल पनि खोज्छन् । नेपाली बजारले पनि देखाउँछ कि एन्ड्रोइड बजार कस्तो छ भन्ने । नेपाली युवा अहिले एप्पलको आइफोन भन्दा गुगल एन्ड्रोइड अपरेटिङ सिस्टम खोज्छन् । 
गुगल अपरेटिङ सिस्टम भएको मोबाइल एप्पलको तुलनामा धेरै सस्तो पर्ने भएकाले पनि यो रोजाइ बनेको हो । अनि सुविधा र एप्सहरूको आधारमा एन्ड्रोइड पनि कम छैन । मोटोरोलादेखि सामसुङ, एचटीसीदेखि भारतीय ब्रान्डमा समेत एन्ड्रोइड अपरेटिङ सिस्टम फिट भएका छन् । अनि ती उत्पादनले नेपाली बजारमा चर्चा पाएका छन् । 
विश्वमा पनि यही क्रम सुरु भयो । गत वर्ष स्मार्ट फोन बजारमा एन्ड्रोइड प्रयोग गर्ने सामसुङले एप्पललाई उछिन्यो । त्यसैले गुगलले बजार विस्तारै गुमायो । अनुसन्धान संस्था आइडीसीअनुसार एन्ड्रोइडले सन् २०११ मा विश्व स्मार्टफोन बजारमा ५० प्रतिशत हिस्सा लिएको छ । 
सन् २००९ मा स्मार्ट फोन बजारमा एन्ड्रोइडको हिस्सा २ दशमलव ८ प्रतिशतमात्र थियो । सन् २०११ मा यो बढेर ३३ प्रतिशत पुगेको छ । एप्पलको बजार प्रभुत्व भएको अमेरिकी बजारमा पनि एन्ड्रोइड प्रतिस्पर्धामा आएको छ । अमेरिकाको २५ प्रतिशत स्मार्ट फोन बजारमा एन्ड्रोइडको छ । 
सन् २०१० मा एन्ड्रोइडविरुद्ध कानुनी युद्ध सुरु गरे पनि एप्पलको वृद्धिदर घटेको छ । सन् २०११ मा आईओएसको बजार हिस्सा १९ प्रतिशतमा मात्र सीमित भयो । सन् २०११ को जून महिनाको तथ्यांकमा विश्वमा एक दिनमा ५ लाख ५० हजार एन्ड्रोइड डिभाइस थप हुन्छन् । त्यसअघि मासिक ४ लाख डिभाइसमात्र एक्टिभ हुन्थे । 
अहिले २० करोडभन्दा बढी एन्ड्रोइड डिभाइस चलिरहेको अनुमान छ । गुगलले स्मार्ट फोन बजारमा आफ्नो अपरेटिङ सिस्टम निःशुल्क रूपमा दिएको छ । अनि स्मार्ट फोन बनाउने कम्पनीले यसलाई प्रयोग गरिरहेका छन् । विश्लेषकहरू गुगल आफैंले फोन बनाएर बिक्री नगरेकाले गुगलविरुद्ध सोझै मुद्दा भने नपरेको बताउँछन् ।  
बौद्धिक सम्पत्तिको अधिकारसँगै गुगल र एप्पलबीच चलेको युद्ध कता जानेछ हेर्न बाँकी छ । यी दुई कम्पनीको प्रतिस्पर्धाकै कारण धेरैको हातमा स्मार्ट फोन पुगेकोमा शंका छैन । अझ माइक्रोसफ्टले पनि पछिल्लो समयमा तातेर लागेको मोबाइल अपरेटिङ सिस्टममा पनि त यो प्रतिस्पर्धामा आउँला । अनि अझै तात्नेछ, स्मार्ट फोन बजार र चर्केला विवाद पनि ।
साभार :कान्तिपुर 

Posted by Butwalonline on 6:41 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गुगल भर्सेस एप्पल"

Leave a reply