|

गरिबी सहन नसकेर आमाले छोराछोरीको हत्या गरी आत्महत्या


निजगढ, चैत्र ६ - गरिबी सहन नसकेर यहाँका एक विपन्न परिवारका आमाले आइतबार राति आफ्ना नाबालक २ छोराछोरीलाई हत्या गरी आत्महत्या गरेकी छिन् । बाराको अमाव-४, पडरी गाउँकी २५ वर्षीया रमिता चौधरीले ३ वर्षीया छोरा कुन्दन र ८ महिने छोरी सुगन्धालाई घाँटी थिचेर मारेपछि साडीको पासो हालेर आत्महत्या गरेको अनुसन्धानमा खटिएका कोल्हबी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजयप्रसाद यादवले बताए । पति र सासुससुरा कमाउन बाहिर गएको मौका छोपेर उनले यो घटना गरेकी हुन् ।
'तीन धुर घडेरीमा रहेको काठको कच्ची घर बाहेक उनीसित सम्पत्ति वा खेतीपाती गर्ने एक धुर पनि जमिन छैन' छिमेकी रिता चौधरीले भनिन् 'घटना भएको दिन बिहान दालचामलको समस्या टारुँ कि किस्ताको पैसा तिरुँ भन्न्ने चिन्ताले पिरोल्दै भकानो छाडेर रमिताले रुँदै सुनाएकी थिइन् ।' ज्याला गरेकै सहारामा उनले परिवार धानेको रीताले बताइन् । 'मारिने तीन वर्षीया कुन्दनको पढाइलेखाइका लागि गाउँमै महिलाहरु मिलेर बनाएको बाल समूहमा १ सय ३० रुपैयाँ तिर्न उनलाई पहिलेदखि नै तनाव थियो' रमिताकी अर्का छिमेकी प्रमिला चौधरीले भनिन्, 'एक छाक टार्न घरमा धौ धौ थियो ।'
कुन्दनको भविष्यका लागि त्यस बाल समूहमा कुन्दनको हजुरआमाले सञ्चालन गरिदिएको खातामा रमिताले एक वर्षदेखि मासिक १ सय ३० तिर्दै आएकी थिइन् । छिमेकसित अत्यन्तै भद्र व्यवहारकी भनिएका रमिताले किन यस्तो गरिन् भन्ने चिन्ताले छिमेकी शोकमग्न देखिन्छ । पति मुक्तिनारायण चौधरी ज्यालामा मसुरोको दाइ गर्न छिमेकी गाउँमा थ्रेसर मेसिनमा खाना खाएर निस्केका थिए भने उनकी सासु इन्द्रासहित ससुरा गत शनिबार खेतीगृहस्थीको काम गर्न चितवन गएका थिए । घटना भएको सुनेपछि रमिताका सासुससुरा दुवै जना चितवनबाट सोमबार बिहान घर आएका थिए ।
'कामबाट राति साढे नौ बजे फर्केर आएपछि घरमा जाँदा छोराछोरी र पत्नीको दुःखद् घटना हेरेँ' रमिताका पति मुक्तिनारायणले भने, 'बिहानको खाना पत्नी रमितासँगै खाएर भोलिपल्ट सुकुम्बासी आयोगको कार्यालय कलैयामा पुगेर निवेदन दर्ता गराउने हाम्रो सल्लाह भएको थियो ।' घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । तीनै जनाको शव पोस्टमार्टमका लागि कलैया अस्पताल ल्याइएको छ ।
स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 7:37 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गरिबी सहन नसकेर आमाले छोराछोरीको हत्या गरी आत्महत्या"

Leave a reply