गर्मी यामको सुरुवातसँगै जीउभरि आउने घमौराबाट कसरि बच्ने
गर्मी यामको सुरुवातसँगै जीउभरि बिमिरा आउने समस्या-घमौराले चिसो ठाउँमा त्यति नसताए पनि मधेसको तीव्र गर्मीको सामना गर्नेहरूका लागि गर्मीयाम प्रमुख समस्या हो । सामान्यतः बिमिरा कपडाले छोपिएको छाला र दुई छाला आपसमा घर्षण हुने ठाउँमा बढी उत्पन्न हुन्छ । 'बिमिरा शरीरको त्यो ठाउँमा बढी हुन्छ, जहाँ छालाले छालालाई छुन्छ, अर्थात् काखी, वक्षस्थल आदि ठाउँमा,' धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, 'यो स्थितिलाई छाला सुख्खा र चिसो राखेर नियन्त्रणगर्न सकिन्छ ।'
पसिना ग्रन्थीको मुख थुनिँदा शरीरमा ससाना राता बिमिरा निस्किने गर्छन् । यिनैलाई घमौरा भनिन्छ । बिमिरा चिलाउँछ, पोल्छ । यति मात्र नभई, बिमिराबाट कहिलेकाहीँ पिप समेत आउने गर्छ । चिकित्सकीय भाषामा, घमौरा एक प्रकारको छाला सम्बन्धी रोग हो । गर्मी र वषर्ायाममा बढी हुने यो समस्या वातावरणमा बढी गर्मी भएकाले र शरीर राम्ररी सफा नभएकाले हुन्छ । सामान्यतः गर्मी र आद्र मौसमको अवस्थामा बिमिरा आउने गर्छ । तर चिसो मौसममा समेत बढी लुगाफाटो लगाउने व्यक्तिलाई बिमिराले सताउन सक्छ ।
गर्मीमा शरीरमा बढी पसिना आउँछ । त्यसैले घाममा काम गर्नेहरू, महिला, बालबालिकालाई घमौराको समस्या बढी हुन्छ । छालाले शरीरको फोहोर पदार्थलाई पसिनाको माध्यमले बाहिर निकाल्न सघाउँछ । कुनै बाहिरी कारणले पसिनाको ग्रन्थी बन्द हुँदा समेत बिमिरा, घाउ आदि हुन्छ ।
'बढी पसिना निस्किँदा छालामा स्ट्रेप्टोकोकस इपिडर्मिस जीवाणुको संख्या बढ्न थाल्छ, यसले पसिना ग्रन्थीको नलीको मुखलाई थुन्छ,' डा. कर्ण भन्छन्, 'पसिना राम्ररी निस्कन नपाएपछि पसिना नली सुन्निन्छ । यही कारण पसिना नलीको मुख नजिक बिमिरा आउने गर्छ ।'
घाममा बढी बस्दा, आगो नजिक काम गर्दा, सोडा वा साबुन बनाउने स्थानमा काम गर्दा समेत बिमिराले सताउँछ । यस्तो बेला घमौरा निक्लेको शरीरको भागलाई सफा राख्ने र घमौरा नाशक पाउडर लगाउने गरे फाइदा मिल्छ । गर्मी याममा कडा घाम र तातो हावाले छालालाई धेरै नोक्सान पुर्याउँछ । बढी पसिनाले समेत समस्यामा पार्ने गर्छ । तराईको अति उच्च गर्मीमा बस्नेहरूको काखी र तिघ्राको कापमा संक्रमण समेत उत्पन्न हुने गर्छ ।
त्यसैले गर्मी याममा मौसम अनुसारकै पातला, सुतीका लुगा लगाउनुपर्ने डा. कर्णको सुझाव छ । 'यो याममा छाला सम्बन्धी समस्याको एउटा मुख्य कारण मौसम अनुकुल लुगा नलगाउनु पनि हो ।' उनका अनुसार, यो याममा महिलाहरूले सिन्थेटिक साडी जस्ता लुगाफाटा लगाउनु हुन्न । यस्ता लुगाले पसिना सोस्दैनन् र छालाको समस्या झन् बढ्छ । गर्मी
मौसममा सुतीका कपडा अत्यन्त उपयोगी हुन्छन् ।
गर्मी याममा शरीरको धेरैजसो भाग छोपिने सुतीका कपडा लगाउनुपर्छ । लामो बाहुला भएको सर्ट र प्यान्ट लगाउनु उत्तम हुन्छ । टाइट जिन्स वा सिन्थेटिक लुगा लगाए घमौरा हुने सम्भावना निकै हुन्छ । गर्मी मौसममा कुनै सामान्य काम गर्दा समेत पसिनाले निथ्रुक्क होइने हुनाले शरीरमा घमौरा/बिमिरा जस्ता समस्या हुने गर्छन् । घमौरा भएको बेला दिनहँु दुई/तीन पटक नुहाउनुपर्छ । शरीरको आद्रता कायम राख्न छोटोछोटो अन्तरालमा पानी खाइरहनुपर्छ । घमौरा भएकाहरूले साबुन सकेसम्म कम प्रयोग गर्नुपर्छ । साबुनको प्रयोगले घमौरो बढ्ने गरेको छ ।
बढी पसिना आउने अंगहरूमा 'डी ओडोरेन्ट' स्प्रे गरेर वा पाउडर लगाएर केही क्षणका लागि प|mेस हुन खोजिए पनि पछि त्यही ठाउँमा बढी घमौरा आउने सम्भावना हुने डा. कर्ण बताउँछन् । गर्मी याममा खुकुलो लुगा लगाउनुपर्ने उल्लेख गर्दै उनी कस्सिएको लुगा लगाउँदा समस्या झन् बढ्ने बताउँछन् ।
कर्णका अनुसार, घमौराबाट बच्न 'कालामिन लोसन' दिनमा दुई/तीन पल्ट लगाउनुपर्छ । लोसनसँगै मोइस्चराइजर समेत लगाउन सकिन्छ । कालामिन लोसन बजारमा विभिन्न नाममा पाइन्छ । घमौरालाई प्लास्टिकको थैलोमा बरफ राखेर सेक्दा पनि केही आराम पाइन्छ । 'यति गर्दा समेत फाइदा नभए छाला रोग विशेषज्ञकहाँ जानुपर्छ,' उनी भन्छन् ।
तिघ्राको कापमा घमौरा आउनुको अर्को कारण सस्तो अन्तःवस्त्र पनि हुन सक्छ । सस्तो भित्री वस्त्रको निर्माणमा शुद्घ सुतीको सट्टा सिन्थेटिक पदार्थ उपयोग गरिएको हुन्छ । त्यसैले यस्ता वस्त्र लगाउनाले घमौरा निस्किन्छ । 'महिला वा पुरुष, जसले पनि भित्री वस्त्र सुतीकै लगाउनुपर्छ,' डा. कर्ण भन्छन् ।
समयमै घमौराको उपचार नगरिए छालामा खटिरा वा दाग रहन सक्छ । जीउभरि घमौरा भएकाहरूमा पसिना बग्ने प्रणाली सक्रिय नहुनाले शरीरको तापक्रम कम हुन पाउँदैन । यसैले घमौरा भएकाहरूलाई तराईमा लु लाग्ने सम्भावना बढी हुन्छ ।
पसिनाले शरीरमा आद्रता बढाउने भएकोले ब्याक्टेरिया र फंगल संक्रमण हुने सम्भावना बढ्छ । पसिना निस्किएर जीउ चिलाउँछ र छाला अलिकति दरफरिँदा पनि बिमिरा हुने सम्भावना वृद्घ िहुन्छ ।
साभार :कान्तिपुर