|

भारतले नेपाली सेनालाई दुईवटा हेलिकप्टर उपलब्ध गराउने

काठमाडौ, माघ १८ - रक्षा र गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भारतले नेपाली सेनालाई दुईवटा हेलिकप्टरसहित थुप्रै सामग्री दिन लागेको बताएका छन् ।
संसद्को राज्यव्यवस्था समिति बैठकमा मंगलबार गच्छदारले यस्तो सहयोगअन्तर्गत दैवीप्रकोप उद्धार सामग्री, सवारी साधन, गैरघातक उपकरणलगायत हुने बताए ।

नेपाली सेनाले आयोजना गर्न लागेको दक्षिण एसियाली मुलुक मुलुकबीचको विपत व्यवस्थापनसम्बन्धी कार्यशालामा सहभागी हुन आउने क्रममा भारतीय सेनाप्रमुख र प्रधानसेनापतिबीच सहयोगसम्बन्धी सम्झौता हुने उनले उल्लेख गरे । सरकारले औपचारिक आग्रह गरे विगतदेखि रोकिएको हतियार, गोलीगठ्ठाजस्ता सहयोग सामग्री दिन पनि भारत तयार रहेको उल्लेख गर्दै उनले त्यसमा आवश्यक निर्णय लिइने बताए ।

सैनिक प्रवक्ता सहायकरथी रमीन्द्र छेत्रीले द्वन्द्वकालमा भारतले उपलब्ध गराएका दुई हेलिकप्टर यतिखेर ग्राउन्डेड भएकाले त्यसैको सट्टामा दुईवटा एएचएल हेलिकप्टर दिने विषय अघि बढेको बताए । सेनाले दक्षिण एसियालीस्तरको विपत् व्यवस्थापनसम्बन्धी कार्यशालाको तयारी गरे पनि मिति टुंगो नलागेको उनले जनाए ।

मन्त्री गच्छदारले भारत र चीन भ्रमणका बेला कुनै सम्झौता नभएको बताए । भारतसँग सुपुर्दगी र आपसी कानुनी सहायतासम्बन्धी सन्धि आवश्यक भएको उल्लेख गर्दै उपप्रधानमन्त्रीले यसमा थप छलफलपछि सहमतिमा पुग्न सकिने बताए । सहसचिव स्तरमा पहिल्यै प्रस्ताव भएका ती विषयलाई गृहसचिवस्तरीय वातर्ाले मान्यता मात्र दिएको जानकारी दिए । यसअघि भ्रमणका क्रममा भारतले यी दुई सम्झौता गर्न दबाब दिएको समाचार सार्वजनिक भएका थिए ।

सभासदहरूले भने भ्रमणका क्रममा मुलुकलाई अहित हुने सम्झौता भएको हुन सक्ने शंका गर्दै प्रस्टीकरण सोधेका थिए । सभासदहरूले भ्रमणका क्रममा गच्छादरले आफ्नो 'प्रोटोकलविपरीत' भारतीय सुरक्षा सल्लाहकार शिवशंकर मेननसँग उनकै कार्यालयमा भेट गरेकामा तीव्र असन्तुष्टि जनाए । जवाफमा गच्छदारले भ्रमणमा व्यक्तिगत भेटघाट पनि हुने र सबै भेटलाई प्रोटकलमा हेर्न नहुने जिकिर गरे ।

भारतले आफूलाई उच्च प्राथमिकता दिएर बोलाएको र त्यसैअनुसार व्यवहार गरेको उनले दाबी गरे । भारतले उनलाई दिएको महत्त्वप्रति सभासदहरू भने सशंकित छन् । 'प्रधानमन्त्री बाबुराम भट्टराईलाई भन्दा उपप्रधानमन्त्रीलाई भव्य स्वागत गरेको पाइयो,' सभासद चित्रबहादुर केसीले भने, 'उहाँबाट केही फुत्काउनुपर्ने भएर पो हो कि ?'

गच्छदारले भारतीय प्रधानमन्त्री, मन्त्रीहरू र विभिन्न दलका नेताहरूसँग आपसी हितबारे छलफल भएको जानकारी दए । पूर्वरक्षामन्त्री समेत रहेका एमाले नेता विष्णु पौडेलले द्विपक्षीय हितभित्र के/के विषयमा छलफल र समझदारी भए भन्ने जानकारी संसद्लाई आवश्यक भएको बताए । सभासद केसीले विदेश भ्रमणमा जानुपूर्व छलफलका एजेन्डाबारे र फर्केपछि भएका सहमतिबारे सदनलाई जानकारी दिने परम्परासमेत तोडिएकामा असन्तुष्टि जनाए ।

माओवादी नेतृ पम्फा भुसालसहित सभासदले प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि सहयोग लिने नाममा भारतीय परामर्शदाता राख्ने सर्त स्वीकार्य नहुने बताए ।

मन्त्री गच्छदारका अनुसार प्रतिष्ठान निर्माणका लागि तीनदेखि चार अर्ब सहयोग गर्ने र परियोजना निर्माणका लागि भारतीय प्राविधिक परामर्शदाता राख्ने प्रस्ताव आएको छ । दातृ संस्थाहरूले सहयोग दिँदा आफ्ना परामर्शदाता राख्ने गरेको उल्लेख गर्दै उनले उक्त प्रस्तावलाई पनि अन्यथा नलिन आग्रह गरे । तर सभासदहरूले सुरक्षाजस्तो संवेदनशील विषयमा यस्तो सहयोग स्वीकार नगर्न सरकारलाई सचेत गराए ।
                                                                                                                                               स्रोत :कांतिपुर 

Posted by Butwalonline on 7:57 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भारतले नेपाली सेनालाई दुईवटा हेलिकप्टर उपलब्ध गराउने"

Leave a reply