|

डेढ अर्ब रुपैयाँ वाईसीएलमा आबद्ध पूर्वलडाकुका लागि

काठमाडौ, माघ २६ माओवादीले गरेको निर्णय अनुसार वाईसीएलमा आबद्ध पूर्वलडाकुका लागि ुपार्टी कोषु बाट राहत प्याकेज दिने र त्यसका लागि कम्तीमा डेढ अर्ब रुपैयाँ खर्चिनुपर्ने भएको छ । लडाकुसरह सुविधा माग्दै प्रदर्शनमा उत्रेका वाईसीएल कार्यकर्ताले अवकाश रोजेका लडाकुलाई दिइएको न्यूनतम प्याकेज ५ लाख पाउने हो भने डेढ अर्ब लाग्ने देखिएको हो ।
वाईसीएल प्रदर्शनपछि पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी समिति बैठकले उनीहरूलाई पार्टी कोषबाट राहत प्याकेज दिने निर्णय गरेको थियो ।

वाईसीएल संयोजक गणेशमान पुनका अनुसार कम्तीमा तीन हजार पूर्वलडाकु वाईसीएलको पूर्णकालीन कार्यकर्ता छन् । यस हिसाबले न्यूनतम रकम (५ लाखमात्र० दिने हो भने पनि ३ हजार लडाकुका लागि डेढ अर्ब रुपैयाँ खर्चिनुपर्ने छ । दलहरूबीच गत कात्तिक १५ गते भएको सातबुँदे सहमतिअनुरूप स्वैच्छिक अवकाश रोज्ने लडाकुले तहअनुसार कम्तीमा ५ देखि ८ लाख रुपैयाँ पाएका छन् । ुपार्टीसँगको सल्लाहमा तय गरिने विषय भएकाले अहिले नै रकम नतोकौं तर शिविरभित्र र बाहिर पूर्णकालीन रूपमा खट्ने साथीहरूको एउटै मूल्यांंकन हुनुपर्छ भन्ने हाम्रो मत हो,ु संयोजक पुनले भने । संगठन प्रमुखका हिसाबले उनीहरूका लागि कम्तीमा पनि लडाकुले पाएको न्यूनतम रकम दाबी गर्ने उनले बताए ।

शान्ति सम्झौतापछि ुजनविद्रोहु तयारीका लागि भन्दै माओवादीले ती लडाकुलाई वाइसीएलमा ल्याएको थियो । लामो समयपछि ब्युँताइएको संगठन भएकाले त्यसलाई विस्तार गर्न अनुभवी र उच्च तहका लडाकुलाई वाईसीएलमा तानिएको थियो । संयोजक पुन आफैं त्यसबेला माओवादी सेनाका सात डिभिजन कमान्डरमध्ये एक थिए ।

वाईसीएलमा तानिएका धेरैजसो लडाकु डिभिजन र ब्रिगेड तहका छन् ।

अवकाश रोजेका त्यही तहका लडाकुलाई ८ लाख रुपैयाँ दिने दलीय सहमति छ । त्यसैले धेरैजसो वाईसीएल नेताहरूले कम्तीमा ८ लाख रुपैयाँ पाउनुपर्ने दाबी गरेका छन् । ८ लाखका दरले दिनुपर्ने भयो भने पार्टीले वाईसीएलका लागि २ अर्ब ४० करोड रुपैयाँ खर्चिनुपर्ने हुन्छ ।

माओवादी सचिव सीपी गजुरेलले ुजनमुक्ति सेनाबाट आएका साथीहरूलाई पार्टीले एकमुष्ठ रकम दिने निर्णय गरेकोु बताए पनि त्यसको स्रोत भने खुलाएनन् । एक अर्का नेताले पार्टी कोषबाटै वाईसीएललाई दिने रकम जोहो गरिने बताए । पार्टी कोषमा चाहिँ कुन स्रोतबाट आएको कति रकम छ भन्ने उनले खुलाउन चाहेनन् । ुपार्टी संगठन ठूलो भएको र सदस्यबाट नियमित रूपमा लेबीबापत रकम जम्मा हुने भएकाले पार्टी कोष कमजोर छैन,ु उनले दाबी गरे । माओवादीले पार्टीको तल्लो निकायमा पठाउने आन्तरिक परिपत्रमा वाईसीएलमा आएका लडाकुलाई राहत दिने जनाउँदै आएको छ । पूर्णकालीन रूपमा वाईसीएलमा खटेका पूर्वलडाकुलाई सुविधा दिनेबारे पहिलेदेखि नै सहमति भएको पुनले बताए ।
स्रोतः कान्तिपुर

Posted by Journalist Mukti on 1:16 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "डेढ अर्ब रुपैयाँ वाईसीएलमा आबद्ध पूर्वलडाकुका लागि"

Leave a reply