महोत्सवको तयारी तिव्र, उद्घाटन राष्ट्रपतिबाट
मुक्तिप्रसाद न्यौपाने
फागुन १, पाल्पा
फागुन ५ देखी १३ गतेसम्म सञ्चालन हुन लागेको पश्चिमाञ्चल औद्योगिक व्यापार मेलाको तयारीको काम तिव्रताका साथ अगाडी बढिरहेको छ ।
तानसेनको टुँडिखेलमा नौ दिनसम्म सञ्चालन हुने मेलाका लागि स्टल निर्माण, शौचालय निर्माण, खानेपानीको प्रबन्ध लगायतका काम धुमधामका साथमा चलिरहेको छ । तानसेनका चोक चोकमा तुल व्यानरहरु झुण्डाइएको छ । मेलाको मुख्य आकर्षण रहेको करुवामा रङ्गरोगन गरिंदै छ भने प्रचारप्रसारका लागि पम्ल्टेटिङ र माइकिङ्ग गरिंदैछ ।
मेलालाई सफल बनाउन पाल्पा उद्योग वाणिज्य संघले काठमाण्डौं र बुटवलमा पत्रकार सम्मेलन सम्पन्न गरिसकेको जनाएको छ । महोत्सवका लागि फरक–फरक विधाका तीस बढी कलाकारहरु आउने बताइएको छ । साँस्कृतीक उप–समितिका संयोजक भीमसेन कार्कीले महोत्सवमा हास्य कलाकारहरुका साथमा धेरै रोचक प्रस्तुती रहने बताउनुभएको छ ।
कार्यक्रममा हास्यकलाकार मुन्द्रे, भोकलाग्यो, सभासद्, रातामकै, मुलाको साग र गायकयायिका इन्दिरा जोशी, रामजी खाँड, पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली, शिव परिवार, राजेश पायल राई आउने पक्का भैसकेको छ ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूबाट यहि फागुन ५ गते
शुक्रबार समुद्घाटन हुने पश्चिमाञ्चल औद्योगिक व्यापार मेला, कृषि प्रदर्शनी एवं पर्यटन महोत्सव २०६८ को नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला विकास समिति, पाल्पा र तानसेन नगरपालीका तानसेनले संयुक्त रुपमा आयोजना गरेको हो । मेलालाई लुम्विनी मेडिकल कलेज तथा शिक्षण अस्पताल मुख्य प्रयोजन र स्मार्ट सेलले प्रयोजन गरेको हो ।