|

आयोजकद्वारा थ्री स्टार प्रशिक्षकमाथि हातपात

रुपन्देही, माघ ५- थ्री स्टार र मनाङबीचको खेल मंगलबार निकै तनावपूर्ण रह्यो। आयोजक रुपन्देही जिल्ला फुटबल संघकै पदाधिकारीले थ्री स्टार प्रशिक्षक मेघराज केसीमाथि हातपात गरेपछि प्रतिस्पर्धात्मक खेलले थप तनाब निम्त्याएको हो।
खेलको अन्ततिर मनाङले पेनाल्टी पाएसँगै थ्री स्टारका विजय धिमालले दोस्रो पहेँलो कार्ड पाए। मैदान छोड्नुपरेका विजयले रिसको झोकमा खुट्टाले हानेको पानीको बोतल दर्शकदीर्घामा पुग्यो। जवाफमा दर्शकले पानीका बोतल थ्री स्टारको प्लेयर बक्समा ओइराउन थाले।

प्रशिक्षक केसीले दर्शकसँग टेक्निकल एरियाबाटै मौखिक प्रतिकार गरे। उनले जोशमा मैदानभित्र रेफ्रीसँग विवाद गरिरहेका खेलाडीलाई बाहिर बोलाए। त्यसपछि खेल रोक्न दबाब सिर्जना गरे। झगडा मिलाउन थ्री स्टारको टेक्निकल एरियामा पुगेका आयोजक र क्लब अधिकारीबीच भनाभन भइरहँदा रुपन्देही जिल्ला फुटबल संघका सचिव शेरबहादुर भण्डारीले हातपात गरेका थिए।

केसीले आफूमाथि हातपात हुनुलाई गुण्डागर्दीको संज्ञा दिँदै खेलाडी र प्रशिक्षकको सुरक्षाका लागि आयोजकसँग गुहार मागे। 'विजयले बोतल हानेको रहेछ, तर म मैदानमा पेनाल्टी हुन लागेकाले त्यतैतिर केन्द्रित थिएँ। मैले विजयले हानेको देखिनँ। एकाएक दर्शकबाट बोतल बर्सेपछि मैले टिमको सुरक्षामा केहीबेर खेल रोक्न भनेँ, उनीहरूले त्यहाँ आएर 'यो बुटवल हो खेल्छस् कि खेल्दैनस्' भने मैले 'मलाई कुट्ने तँ' भने त्यसपछि दुई जनाले मलाई टेक्निकल एरियामै आएर ममाथि हातपात गरे, त्यो पनि आयोजककै पदाधिकारीले' खेलपछिको पोस्ट म्याच कन्फ्रेन्समा केसीले भने, 'यति ठूलो प्रतियोगिता गर्दा सुरक्षाको विषयलाई एन्फाले ध्यान दिनुपर्ने थियो। यहाँका मानिसजस्ता भए पनि हामी पनि राष्ट्रिय खेलाडी भएको टोली हौं। हामीलाई आयोजकले यस्तो दुर्व्यवहार गर्छ भने कसरी खेल्ने? मैले टेक्निकल एरियामा बसेर जति पनि कम्प्लेन गर्न पाइन्छ।'

उनले सुरक्षाका कारण आगामी दिनमा बुटवलमा फुटबल खेल्न नआउने बताए। 'यहाँ जे पनि हुनसक्ने रहेछ। अब म पनि यहाँ खेल्न आउन्न र मेरा खेलाडीलाई पनि आउन दिन्न।'

संघका सचिव भण्डारीले आफूलाई अपशब्द प्रयोग गरेर गाली गरेकाले हातपात भएको बताए। उनले पत्रकारसँग भने, 'मैले यहाँ दोहोर्‍याउन नहुने शब्द प्रयोग गरेर उसले गाली गरेपछि धकेलाधकेल भएको हो। केसीले जित्न नसकेको रिस पोखेका हुन्, हारेको भए अझ बढी हुन्थ्यो होला।'

आयोजक संघका अध्यक्ष एवम् एन्फाका केन्द्रीय सदस्य हरि श्रेष्ठले घटनाप्रति दुःख व्यक्त गरे। 'मेरो नेतृत्वमा भएको टोलीबाट जुन काम भयो, त्यो एकदमै लाजमर्दो भयो। यसले खेलजगतमै नराम्रो सन्देश गएको छ। मलाई यो घटनाले निकै दुःख लागेको छ। आइन्दा यस्तो घटना नहुन हामी पूरा प्रयास गर्नेछौं,' उनले भने।

यसैबीच पुलिस क्लबका प्रशिक्षक विराटकृष्ण श्रेष्ठ तथा खेलाडीले आयोजकबाट थ्री स्टार प्रशिक्षकमाथि भएको हातपातको विरोध जनाएका छन्। 'हामी यो घटनाको घोर विरोध गर्छौं। आयोजकले भएको झगडालाई साम्य पार्नुपर्नेमा उल्टै प्रशिक्षकमाथि हातपात गर्नुलाई सहन सकिन्न। प्रशिक्षक र खेलाडीको प्रतिक्रिया 'पार्ट अफ गेम' आयोजकले यसलाई व्यवस्थापन गर्न सक्नुपर्छ,' प्रशिक्षक श्रेष्ठले भने।
                                                                                                                                                                                           स्रोत :नागरिक 

Posted by Butwalonline on 8:05 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आयोजकद्वारा थ्री स्टार प्रशिक्षकमाथि हातपात"

Leave a reply