|

मूल्य वृद्धिविरुद्ध विद्यार्थी संगठनद्वारा एकघण्टा चक्काजाम

काठमाडौं, माघ ६- पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्ने सरकारी निर्णयविरुद्ध सरकारको मुख्य घटक माओवादीकै भ्रातृ संगठन अखिल क्रान्तिकारीसहित तेह्र विद्यार्थी संगठनले आन्दोलन घोषणा गरेका छन्। मैतिदेवीस्थित मालेनिकट अखिल पाचौंको कार्यालयमा बसेको संयुक्त बैठकले सरकारले भारी मूल्यवृद्धि गरेको भन्दै निर्णय फिर्ता लिन २४ घण्टे अल्टिमेटमसहित आन्दोलनको चेतावनी दिएका हुन्।

सरकार आफैं जनताविरुद्ध षड्यन्त्र गर्न अघि सरेकाले सडकमा उत्रनुपरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले बताए।
विद्यार्थी संगठनहरूका मागमा मूल्यवृद्धि फिर्ता लिनुपर्ने, ग्याँस, मट्टितेल लगायत खाद्यान्नमा उपभोेक्ता र व्यवसायीका लागि दोहोरो मूल्य कायम गर्नुपर्ने आदि छन्।

ग्याँस, मट्टितेल र खाद्यान्न आदिमा सहुलियतसहितको रासन कार्ड उपलब्ध गराउनेबारे निर्देशिका बनाउने तयारी गरिरहेकै बेला आफ्नै दलको सरकारले एक्कासी मूल्यवृद्धि गरेर धोका दिएको विद्यार्थी संगठनको ठहर छ।सरकारले १३ सयमा पाइने ग्याँसको मूल्य १५ सय बनाएपछि बिहीबार १३ विद्यार्थी संगठनले नेपाल मानविकी क्याम्पस, त्रिचन्द्र कलेज, पाटन, सरस्वती, शंकरदेवलगायत कलेजअघि एकघण्टा चक्काजाम गरेका थिए।

शुक्रबारदेखि देशव्यापी आन्दोलन घोषणा गरेका विद्यार्थी संगठनले शुक्रबार त्रिचन्द्र कलेजबाट खाली सिलिन्डरसहितको जुलुुस, शनिबार देशव्यापी कोणसभा, आइतबार शैक्षिक संस्थाअगाडि प्रदर्शन र सरकारी गाडीमाथि अवरोध, सोमबार आयल निगम घेराउ, मंगलबार देशभर मसाल जुलुस र बुधबार उपत्यका बन्द घोषणा गरेका छन्।

प्रधानमन्त्री बाबुराम भट्टराईले विद्यार्थीलाई मट्टीतेल, ग्याँस र खाद्यान्नसहितका उपभोग्य सामग्री सहज वितरण गर्ने प्रतिबद्धतासहित एक महिनाभित्र रासनकार्ड जारी गर्न पुस २० गते निर्देशन दिएका थिए।भट्टराईकै निर्देशनमा सोही दिन प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलको संयोजकमा शिक्षा, अर्थ, आपुर्ति र श्रम मन्त्रालयका सह-सचिव र विद्यार्थी संगठनका पाँच प्रतिनिधिसहितको १० सदस्यीय कार्यदलसमेत गठन भएको थियो।अनेरास्ववियुले सरकारको दोहोरो चरित्र आफूहरूलाई मान्य नहुने चेतावनी दिएको छ। अखिल अध्यक्ष माधव ढुङ्गेलले सरकारले २४ घण्टाभित्र पेट्रोलियम पदार्थ फिर्ता नलिए सिंहदरबार घेराउ र नेपालबन्द गर्ने चेतावनी दिए। नेविसंघका निवर्तमान अध्यक्ष प्रदिप पौडेलले आफूलाई जनवादी र गरिबको नेता भन्ने माओवादीको सरकारकै पालामा तीनपटक पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरिनु गैरजिम्मेवारीको पराकाष्ठा भएको बताए।

'मलेखुका होटेलमा खाना जाँच गर्न छापा मार्न सक्ने सरकारले आयल निगममा छापा मारेर त्यहाँको अनियमितता र चुहावट रोक्ने कोसिस किन गर्दैन?', पौडेलले प्रश्न गरे, 'प्रधानमन्त्रीले आयल निगमको ओभरस्टाफिङ र त्यहाको अनियमितता रोकेरै समस्या समाधान गर्न सक्ने हैसियत भए पनि मुकदर्शक भएका छन्।' भट्टराई सरकार इतिहासकै अनुत्तरदायी सरकार भएको उनले बताए।
                                                                                                                                          स्रोत :नागरिक 


Posted by Butwalonline on 8:22 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मूल्य वृद्धिविरुद्ध विद्यार्थी संगठनद्वारा एकघण्टा चक्काजाम"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु