|

जाडो मौसम र संतुलित आहार


जाडो मौसममा वातावरणीय तापक्रम निकै कम हुन्छ । तापक्रम शून्य सेन्टिग्रेड वा त्यसभन्दा पनि कम हुने सम्भावना रहन्छ भने हाम्रो शरीरको तापक्रम स्थिर -३७ डिग्री सेन्टिगे्रड) हुन्छ । तापक्रम स्थिर राख्न शरीरले धेरै तापशक्ति खर्च गर्नुपर्ने हुन्छ । यो अवस्थामा शरीरको ताप जोगाउन बाक्ला पहिरन त लगाइन्छ नै कोठालाई तातो बनाउन आगो वा हिटरको मद्दत पनि लिनुपर्छ । त्यस्तै शरीरमा ताप उत्पादनका लागि खानामा पनि विशेष ध्यान पुर्‍याउनुपर्छ ।

जाडोमा घाममा बसेर बदाम खान जति रमाइलो हुन्छ यो त्यति नै फाइदाजनक पनि हुन्छ । बदाममा सेलिनियम, भिटामिन बी, भिटामिन ई, मानोअनस्याटुरेटेड फ्याट एवं फाइवर पाइन्छ । जाडोमा मानिसहरू धेरै सक्रिय भएर काम नगर्ने हुनाले शारीरिक व्यायाम हुन नसकी समस्या देखा पर्नसक्छ । त्यसैले पर्याप्त फाइवरयुक्त खानेकुरा आवश्यक हुन्छ जसमध्ये बदाममा पाइने सेलिनियमले मानसिक स्वास्थ्य राम्रो बनाउँछ र डिप्रेसनबाट जोगाउँछ । मानोअनस्याटुरेटेड फ्याट तथा भिटामिन ईले एन्टी अक्सिटेन्टको काम गर्छ । यसले मुुटु तथा धमनीको रोगबाट बचाउन सहयोग गरिरहेको हुन्छ ।

जाडोमा सबैलाई घाम प्यारो लाग्छ । घामले हामीलाई तापका साथै भिटामिन डी पनि दिइरहेको हुन्छ । भिटामिन डीले हड्डी बलियो बनाउनुका साथै ए.एस.डी. अर्थात् सिजनल अफेक्टिभ डिसअर्डरबाट पनि जोगाउँछ । जाडोमा शीतलहर चल्ने तथा घाम कम लाग्ने भएकाले भिटामिन डीको कमी हुने सम्भावना हुन्छ । त्यसैले जाडोमा भिटामिन डीका लागि माछा उपयुक्त हुनसक्छ । भिटामिन डीसँगै प्रोटिन, ओमेगा-३ Ïयाटिएसिड, क्याल्सियम, फोस्फोरस, म्याग्नेसियम, जिङ्क, आयोडिन आइरन र पोटासियमजस्ता खनिज पदार्थ पाइने भएकाले माछालाई फाइदाजनक मानिन्छ । ओमेगा-३ Ïयाटी एसिडलगायत फोस्पोलिपिक, प्रोटिन र अन्य धेरै पौष्टिक तत्व अण्डामा पनि पाइन्छ । त्यसैले नियमित अण्डा सेवन गर्दा स्वास्थ्य राम्रो हुन्छ । अण्डा र माछामा कोलेस्ट्रोल र बोसो कम हुने भएकाले मासुभन्दा राम्रो मानिन्छ ।

जाडोमा प्रशस्त सुन्तला उपलब्ध हुन्छ । घर भित्र होस् वा बाहिर सुन्तला खान रमाइलो हुन्छ ।

सुन्तलामा भिटामिन सी, भिटामीन बी, फालेट र सेरोटिनजस्ता आवश्यक पौष्टिक तत्वहरू पाइन्छन् । सेरोटिनले डिप्रेसनबाट जोगाउँछ । सुन्तलामा प्रशस्त मात्रामा भिटामिन सी पाइने भएकाले यसले जाडोमा हुने भाइरल इन्फ्लुन्जा, रुघाजस्ता रोगबाट पनि जोगाउँछ । सुन्तलामा पाइने फाइवरले सानो आन्द्राबाट कोलेस्ट्रोलको शोषणमा पनि कमी ल्याउँछ । त्यसैले जाडोमा सुन्तला सेवन गर्नु राम्रो हो । कागतीलगायत अन्य अमिला फलफूलमा पनि भिटामिन सी पाइने भएकाले आवश्यक मात्रामा सेवन गर्नु राम्रो हुन्छ ।

जाडोमा धेरैले कमै पानी पिउँछन् । जाडोमा शरीरको पानी पसिनाको माध्यमबाट खेर नजाने भएकाले पानी कम पिए पनि हुन्छ । यद्यपि धेरै कम पानी सेवन गर्नाले स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै मृगौलामा पत्थरी बन्ने सम्भावना हुन्छ । त्यसैले चिसो पानी खान नसके तताएर, सुप वा झोल पदार्थ बढी खान सकिन्छ । तातो सुपले पानीको आवश्यकता पूरा गर्नुका साथै ताप र अन्य पौष्टिक तत्व पनि प्रदान गर्छ । तातो पानीमा मह मिसाएर खाँदा पनि शरीर तातो रहन्छ ।

जाडो मौसममा खाना बढी रुच्छ । त्यसैले जाडोमा एकातिर खाना धेरै खाइन्छ भने अर्कातिर शारीरिक व्यायाम कम गरिन्छ । फलस्वरूप तौल बढ्न सक्छ । शरीरको तौल धेरै हुुनु अर्थात् मोटो हुनु समस्या हो । यसले मुटु तथा धमनीसम्बन्धी रोगलाई जन्म दिनसक्छ । त्यसैले जाडोमा कम बोसो भएको तातो फाइवरयुक्त खानेकुरा पर्याप्त मात्रामा खानुका साथै शारीरिक व्यायाममा जोड दिनुपर्छ । जाडोमा सुप, फलफूल, बदाम, माछा, अण्डा, मह, सागपात तथा पानी प्रशस्त मात्रामा सेवन गर्नु, धेरै बोसो भएका खानेकुरा नखानु तथा नियमित व्यायाम गर्नु उपयुक्त हुन्छ ।
                                                                                                                                                                                   साभार :साप्ताहिक नारी


Posted by Butwalonline on 8:23 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जाडो मौसम र संतुलित आहार"

Leave a reply