बन्दले जनजीवन प्रभावित
काठमाडौ, पुस ४ - तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको निधनपछि आन्दोलित नेपाली कांग्रेसले सोमबार आव्हान गरेको बन्दले राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न भागको जनजीवन प्रभावित भएको छ ।
राजधानीका सडकहरुमा यातायातका साधान देखिएको छैन । सर्वसाधारण पैदल नै गन्तव्य तर्फ गइरहेका छन् । कांग्रेस र उसका भातृसंगठनले बन्द गराउन प्रदर्शन समेत गरेका छन् । चावहिलमा एउटा पानी ट्याङकरमा तोडफोड गरिएको छ । बिहान राजधानी भित्रिने सयौं सवारी साधन बन्दले गर्दा नागढुंगामा रोकिएको छ । ठूलोसंख्यामा रहेका यात्रुहरु समस्यामा परेका छन् ।
बन्द फिर्ता लिन विभिन्न पक्षबाट दवाब परेपनि सरकारले माग पूरा गर्न उदासिनता देखाएको भन्दै कांग्रेसले नेपाल बन्द कार्यक्रम फिर्ता लिएन । कांग्रेसले मृतक पौडेललाई शहिद घोषणा गर्नुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको छ । कांग्रेसको अन्य दुई माग न्यायायीक आयोग गठन र मृतक परिवारलाई १० लाख दिने सरकारले निर्णय गरिसकेको छ ।
चितवन कारागार आक्रमणमा घाइते तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको उपचारको क्रममा शनिवार मृत्यु भएको थियो ।
धनगढीमा बजार पुर्ण बन्द भएको छ । कांग्रेस कार्यकर्ताहरु बिरोध प्रर्दशन गरिरहेका छन् । धनगढीबाट संचालित लामो तथा छोटो दुरीका सवारी साधन बन्द छन ।
उदयपुर जिल्लाको जनजीवन प्रभावित भएको छ । कटारी, बेल्टार र गाईघाटमा पहाडी क्षेत्रबाट ठूलो संख्यामा आएका सर्वसाधरण सवारी साधन संचालन नहुुदाँ रोकिएका छन ।
कपिलवस्तुमा नेबिसंघ र तरुण दलका नेता कार्यकर्ता चोक चोक र बाटो बाटोमा बसेर यातायातका साधन चल्न दिएका छैनन् । प्यूठानमा बिहानैदेखि बन्दकर्ता चोक चोकमा भेला भएर सवारी चल्न दिएका छैनन् भने बजार बन्द गराएका छन् ।
पाल्पाको जनजीवन प्रभावित बनेको छ । यातायात, बजार, कलकारखाना, उद्योग, शिक्षकणसंस्था, बन्द छन् । बिहानैदेखि बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । तनहुँमा कांग्रेस कार्यकर्ताहरुको विहानै देखि गरेको वन्दले पृथ्विराजमार्गमा सवारीसाधनहरु चल्न सकेका छैनन् ।
सिरहामा यातायात, बजार, कल कारखाना, उधोग, शिक्षण संस्था बन्द छन् । वन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन । कांग्रेस र निकटका भातृ संगठनका कार्यकर्ताहरुले विहानैदेखि सिरहाको लहान, जिरोमाइल, धनगढी, सिरहा लगायत प्रमुख बजार बन्द गराएका थिए । कांग्रेस र निकटका भातृ संगठनका कार्यकर्ताहरु विहानैदेखि सडकमा बन्द गराउन निस्किएका थिए । एम्वुलेन्स, प्रेसका गाडीहरु भने सडकमा गुडेका छन् ।
स्रोत :कान्तिपुर
