नेपालमा रोमाञ्चक र्याफ्टिङ र कायाकिङ प्रशिक्षण हुने
काठमाडौं, १४ मंसिर । अन्तर्राष्ट्रिय जलयात्रा महासंघ र अल्टरनेटिभ नेपालले नेपालमै रोमाञ्चक खेल र्याफ्टिङ र कायाकिङको प्रशिक्षण दिने भएका छन् । पर्यटन वर्ष २०११ सफल पार्ने उद्देश्यका साथ महासंघको आयोजना र अल्टनेटिभको संयोजकत्वमा प्रशिक्षण कार्यक्रम सुरु गर्न लागिएको रिपोर्टर्स क्लब नेपालमा बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
भोटेकोशी नदीको सबैभन्दा जोखिमपूर्ण स्थानहरुमा मंसीर १५ देखि २१ गतेसम्म ९ जना विदेशी र स्वदेशी राफ्टिङ प्रशिक्षकहरुलाई सुरक्षा र जोखिम न्युनिकरण सम्बन्धि प्रशिक्षण दिईने पत्रकार सम्मेलनमा आयोजकहरुले जानकारी दिए ।
भोटेकोशीको ह्वाइट वाटरमा आएर सम्पन्न हुने ६ दिने प्रशिक्षण कार्यक्रममा अष्ट्रेलिया, टर्की, भारत र नेपालका गरी ९ जना प्रशिक्षकलाई आकस्मिक उद्धार, उद्धार सङ्केत, सुरक्षा जोखिम न्युनिकरणलगायतका विषयमा विषेश प्रशिक्षण दिइने छ ।
जलसम्पदाका धनी र सुन्दर देश नेपालमा साहसिक र्याफ्टिङ खेलका लागि विश्वकै केन्द्रविन्दु बनाउन सकिने उद्देश्यले र्याफ्टिङ प्रशिक्षण सुरु गर्न लागिएको आयोजकले दावी गरे ।
विश्वका ठूला नदीहरुमा र नेपालको सुनकोशी, तमोर नदीमा पनि जलयात्रा सम्पन्न गरिसकेका टोलीले नेपालमा पर्यटन प्रवर्धनका लागि दक्ष जनशक्ति उत्पादन गर्न र र्याफ्टिङको विकासकालागी भोटेकोशीमा राफ्टिङ प्रशिक्षण गर्न लागिएको दावी आयोजकले गरे ।
पत्रकार सम्मेलनमा नेपाल र्याफ्टिङ एसोसिएशनका अध्यक्ष नानीकाजी थापाले सुनकोशी, भोटेकोशी र कर्णालीलगायतका ठूला नदीहरुको संरक्षण र र्याफ्टिङको उपयोग गर्न सके नेपालको पर्यटन विकासमा ठूलो टेवा पुग्ने दावी गरे । जलवायु परिवर्तन र वायोडाईवरसिटी रिसर्चका अनुसन्धानकर्ता कमल राईले पानी विनाको संसार कल्पना गर्न नसकिने भएकाले पानीको मुहान सुरक्षित गर्नु सबैको दायित्व भएको बताए ।