अन्तरजातीय विवाहमा बाधा हाल्नेहरुलाई ८ महिना जेल सजाय
कृष्ण आचार्य,दैलेख, १४ मंसिर –दैलेखमा अन्तरजातीय विवाह गरेका जोडीको सम्वन्ध टुटाउने ६ जना व्यक्तिलाईदैलेख जिल्ला अदालतले जनही ५ हजार रुपैंयाँ नगद जरिवाना र सबैलाई ८–८ महिना जेल सजाय तोकेको छ ।
दैलेखको जगनाथ गाविस वडा नं। ६ निवासी अमृत बिक र त्यही कै सविता शाहीको अन्तरजातीय विवाह सम्वन्धलाई जातीय हिसावले सहन नसकिने भन्दै केटालाई कुटेर भाग्न बाध्य बनाएका र केटीलाई आफ्नै जातको अर्को केटासंग विवाह गराइएको विषयमा दैलेख जिल्ला अदालतले मंगलवार सो सजाय तोकेको हो ।अन्तरजातीय विवाह गरेका जोडीको सम्वन्ध टुटाउनु जातीय विभेद भएको भन्दै जिल्ला न्यायाधीश नारायणप्रसाद धितालको एकल इजलासले जगनाथ गाविस वडा नं। ६ का रामबहादुर शाही, चक्रबहादुर शाही, पदमबहादुर शाही, ओमजंग शाही, कुवेरजंग शाही र केशव शाहीलाई दोषी ठहरिएको कारण सजाय गरेको दैलेख अदालतका श्रेष्तेदार अधिकृत कृष्णप्रसाद नेपालले जानकारीदिनु भयो ।
सरकारले अन्तरजातीय विवाह गरेका जोडीलाई १ लाख रुपैंयाँ प्रोत्साहन पुरस्कार दिने घोषणा गरेको २ महिना नबित्दै २०६६ भदौ १६ मा गरेका अमृत बिक र सविता शाहीले अन्तरजातीय विवाह गरे लगतै माइती पक्षले केटालाई मरणासन्न हुने गरी कुटेर गाउँ निकाला गर्नुसंगै केटीलाई आफ्नै जातको अर्को केटासंग विवाह गराएका थिए । सोही विषयलाई लिएर स्थानीय दलित गैरसरकारी संस्थाहरुको अग्रसरतामा जिल्ला प्रहरी कार्यालयमा लिखित उजूरी परेपछि प्रहरीले जिल्ला सरकारी वकील कार्यालय मार्फत २०६६ कात्तिक २२ गते
जिल्ला अदालतमा अन्तरजातीय विवाह गरेका जोडीको सम्वन्ध टुटाउएको बारे मुद्दा दायर भएको थियो ।अन्तरजातीय विवाहकै सन्दर्भलाई लिएर माइती पक्षले केटीलाई आफ्नै जातमा फर्काउनका लागि केटाका अभिभावकलाई ६० हजार नगद लिएका र २ वटा खसी खाएका थिए ।
दोषीहरुलाई जेल सजाय तोकिए पनि उनीहरुलाई जेल पठाइएको चाहिं छैन । प्रचलित कानूनमा १० वर्ष मुनिको जेल सजायमा पुनरावेदन गर्ने इच्छाएमा पुनरावेदनको फैसला नआउँदासम्म जेल सजाय थाँती राख्न सकिन्छ । तर सुरु फैसलामा जेल सजाय स्वीकार गरेको खण्डमा पूरा जेल अवधिको २० प्रतिशत जेल सजाय कम हुन सक्ने कानूनी व्यवस्था छ ।