प्रदूषणमुक्त सुरक्षित दीपावली र छठ
दीपावली र छठ मनाउने क्रममा पड्काइने आतेसबाजी र पटकाले वर्षेनि थुप्रैमा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने लगायतका समस्या आइपर्छन् ।
कतिपय बेला त सामान्य पटकाले समेत ज्यान समेत लिने गरेको छ । त्यसैले पटका पड्काउनै परे पनि सावधानीपूर्वक पड्काऔं । नत्र क्षणभरको रमाइलो जीवनभरका लागि पीडा नहोला भन्न सकिन्न । दीपावलीमा आनन्द उठाउनुस् तर विचार पुर्याएर । बम, पटका आतेसबाजी, फुलझडी आदि चलाउँदा विशेष ध्यान दिनुस् ।
युनिसेफका अनुसार विश्वमा वर्षेनि करिब साढे सात लाख व्यक्तिको डढेर मृत्यु हुने गरेको छ । त्यस्तो घटनाका लागि पटका मुख्य रूपमा जिम्मेवार रहेको छ ।
चिकित्सकहरूका अनुसार आतेसबाजी र पटकाले आगजनी मात्र हुँदैन बरु आँखामा चोट, आँखाको ढकनी च्यातिने, दृष्टि गुम्ने, हृदयाघात, रक्तचाप, दम, नाकको एलर्जी, ब्रोकाइटिस, निमोनिया, कानको जाली च्यातिने, टाउको दुख्ने र अनिद्रा लगायत हुन सक्छ ।
'पटकामा एउटा आवाजको प्रभाव र अर्को पड्काइ (ब्लास्ट) को प्रभाव हुन्छ,' त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका नाक, कान र घाँटी विभागका प्रमुख प्रा.डा.राकेशप्रसाद श्रीवास्तव भन्छन्, 'तिखो आवाजका कारणले कानको भित्री नसा कमजोर हुन सक्छ भने पड्काइको प्रभावले कानको जाली पनि फुट्न सक्छ ।'
'अझ नसामा देखिने प्रभावको त कुनै उपचार समेत छैन,' प्रा.डा. श्रीवास्तव भन्छन्, 'जालीमा प्रभाव परेको छ भने कहिलेकाहीँ आफंै वा शल्यक्रिया गर्दा निको हुन सक्छ ।'
यस्तै कहिलेकाहीँ कानमा आन्तरिक आवाज आउने हुन सक्छ जसलाई हामी कान कराउने भन्छौं । कुनै खास उपचार नरहेको उक्त समस्या स्थायी वा अस्थायी रूपमा देखिन सक्ने श्रीवास्तव बताउँछन् ।
ध्वनिको चर्काइ एक सय २५ डेसिबलभन्दा बढी भए कानको पर्दालाई नोक्सान पुर्याउने मात्र नभई श्रवणशक्ति समेत गुम्ने खतरा रहन्छ । ५० डेसिबलभन्दा चर्को आवाजको स्तर मानिसका लागि हानिकारक मानिन्छ ।
पटकामा भएको नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, क्याडमियम, सिसा, तामा, म्याङ्गानिज, सोडियम, सल्फर म्याग्नेसियम, पोटासियम लगायत हानिकारक प्रदूषक तत्त्वले ब्रोकाइटिसजस्तो श्वाससम्बन्धी समस्या निम्त्याउँछ । 'यदि तपाईंलाई सास र दमको समस्या छ भने घरभित्रै बस्नुस् । धुवाँबाट बच्नुस्,' वरिष्ठ छाती रोग विशेषज्ञ डा.काशीकान्त झा भन्छन्, 'यदि बाहिर जानु नै छ भने मास्क लगाउने गर्नुस् र दम छ भने औषधि समेत सँगै राख्नुस् ।'
'पटकाका कारण यदि कुनै व्यक्ति जलिहाल्यो भने पनि जलेको भागलाई तुरन्तै सफा पानीमा डुबाउनुपर्छ,' विर अस्पताल, इमर्जेन्सी विभाग प्रमुख डा. ध्रुव सिंह भन्छन्, 'डढेको भागमा तेल वा घ्यू लगाउनु हँुदैन ।' तिहार र छठको समय आगो लागेर घाइते हुनेको संख्या बढ्ने गरेको उल्लेख गर्दै डा.सिंह काठमाडौंमा बम/पटकाबाट हुने घाइते कम देखिए पनि मधेसमा भने यसको संख्या निकै रहेको बताउँछन् ।
पटकाबाट हुने दुर्घटनाले आँखामा चोटपटकसँगै दृष्टि गुम्ने खतरा समेत रहेको काठमाडौं मेडिकल कलेज, आँखा रोग विभागका प्रा.डा.ओमकृष्ण मल्ल बताउँछन् । 'यदि पटकाका कारणले आँखामा कुनै कण पर्यो भने तुरन्त सफा पानीले आँखा धुनुपर्छ । त्यसपछि पनि असजिलो महसुस भए चिकित्सलाई देखाउनुस् वा सल्लाह लिनोस्,' प्रा.डा. मल्ल भन्छन् ।
चिकित्सकहरूका अनुसार सानो बच्चालाई अभिभावकले आफ्नो प्रत्यक्ष निगरानीमा मात्र पटका, फुलझडी आदि खेलाउन दिनुपर्छ । उनीहरूलाई बढी शक्तिशाली र आगो वा प्रकाश निस्किने सामग्री नदिनु नै बुद्धिमानी हुन्छ ।
आठ वर्षभन्दा साना बच्चालाई आफंै फुलझडी वा टर्च सल्काउन दिनु हुँदैन । उनीहरूमा दुर्घटना हुने सम्भावना सबैभन्दा बढी हुन्छ । बाल रोग विशेषज्ञ डा. धनराज अर्यालका अनुसार पटका पड्कँदा अन्य हानिकारक वस्तुसँगै हावामा बारुदका कण फैलिन्छन् जसले बच्चालाई केही समयका लागि सास फेर्न समस्या हुनुका साथै आँखा र नाक समेत सुख्खा हुन थाल्छ ।
डा. सिंहका अनुसार दीपावलीमा हुने अधिकांश दुर्घटना महिला र १८ वर्षभन्दा कम उमेरकामा हुन्छ । पटका चलाउँदा, खाना बनाउँदा र दियो बाल्दा दुर्घटना हुने गरेका छन् । दीपावलीमा वा अन्य समयमा हुने दुर्घटनाबाट तत्काल राहतका लागि फस्ट एड बक्स घरमा राख्नुपर्छ ।
दुर्घटनाबाट बच्ने उपाय
पटका, फुलझडी, अनार, आतेसबाजी लगायत पड्काउनुअघि खुल्ला ठाउँ खोज्नुस् । पटका पड्काउनुअघि छेउछाउमा पेट्रोल, डिजेल, मट्टितेल, ग्यास सिलिन्डर जस्ता अति प्रज्ज्वलनशील पदार्थ भए/नभएको हेर्नुपर्छ । यस्ता पदार्थ नजिक पड्काउँदा विस्फोटको खतरा अत्यधिक रहन्छ ।
अनार, फुलझडी, चक्कर लगायतका पटका पनि गुणस्तरीय राम्रो ब्रान्डको रोज्नुपर्छ । बच्चाको मनोरञ्जनका लागि पटका दिनै परे उनीहरूलाई उमेर अनुकूल हुने पटका मात्रै दिनुपर्छ । पटका चलाउँदा नानीबाबुहरूसँग अभिभावक समेत हुनुपर्छ र उनीहरूलाई सुरक्षित तरिकाबाट मनोरञ्जन लिन सुझाउनुपर्छ । साना बच्चालाई पटका चलाउन दिनुहुन्न । पाँच वर्षसम्मका बालबालिकालाई फुलझडीमा समेत आफैंले आगो लगाउन दिनुहँुदैन । पटकामा आगो सल्काउन मैनबत्ती वा लामो सिन्कोको उपयोग गर्न सकिन्छ । पटकालाई आफूभन्दा टाढा राखेर सल्काउनु सुरक्षित हुन्छ ।
एउटा पटकमा एउटै पटका मात्र सल्काउँदा जोखिम कम रहन्छ । एउटा पटकमा थुप्रै पटका सल्काउँदा ध्यान विचलित हुन सक्छ र दुर्घटना निम्तिन सक्छ । हावामा छोडिने पटका अर्थात् रकेट, आतेसबाजी जाने दिशाका बारेमा ध्यान राख्नुपर्छ । गलत दिशामा छोड्दा दुर्घटना हुन सक्छ । एक पटक सल्काइसकेको पटका पड्केन भनेर लगत्तै त्यसलाई हातले छुनु हुँदैन र पुनः सल्काउने प्रयास पनि गर्नुहुँदैन ।
साभार :कान्तिपुर