|

बाँच्नभन्दा मर्न गाह्रो

मर्न बरु गाह्रो हुन्न ...
गायक फत्तेमानले गाएको यो गीतजस्तो सजिलो छैन, बेलायतमा नेपालीलाई मर्न। मरेपछि अन्त्येष्टिका लागि लाग्ने महँगो खर्चले नेपालीको मृत्युलाई झन् कठिन बनाइदिएको हो। एक लाखभन्दा बढी नेपालीको बसोबास रहेको बेलायतमा एकाधबाहेक धेरैले अन्त्येष्टिका लागि चन्दा संकलन गर्नुपर्छ। पत्रपत्रिकामा नियमितजस्तो छापिने चन्दा संकलनको विज्ञापनले नेपालीको यस अवस्थाको पुष्टि गर्छ। विश्वको सर्वोच्च युद्धपदक मानिने भिक्टोरयिा क्रस -भीसी) पाएका लछिमान गुरुङको अन्त्येष्टिका लागिसमेत नेपाली समुदायले चन्दा उठाउनुपर्‍यो भने अरूको के कुरा.

मृत्युदर्ता प्रमाणपत्रका लागि पनि पैसा तिर्नुपर्ने बेलायतमा मृत्यु संस्कारका कुनै पनि कुरा निःशुल्क पाइँदैनन्। हालै मात्र निधन भएका काशीराम थापाको अन्त्येष्टिमा सक्रिय गुल्मी जिल्ला समाज, यूकेका अध्यक्ष ओमप्रसाद थापाको अनुभवमा अन्त्येष्टिका लागि लाग्ने खर्च बेलायतको काउन्टी अनुसार फरक-फरक हुन्छ। "साह्रै मितव्ययी तरकिाले गर्दा पनि तीन हजारदेखि ३ हजार ५ सय पाउन्ड त लागिहाल्छ," थापा भन्छन्।

भीसी लछिमान गुरुङको अन्त्येष्टिका दौरान सक्रिय तामाङ सोसाइटी, यूकेका अध्यक्ष धर्मबहादुर तामाङको भोगाइमा लन्डनमा अन्त्येष्टिका लागि करबि पाँच हजार पाउन्ड लाग्छ। "भीसी लछिमानको अन्त्येष्टिका लागि मात्र पाँच हजार पाउन्ड लाग्यो, सर्वसाधारणको पनि त्यही ठाउँमा अन्त्येष्टि गर्ने हो भने लाग्ने खर्च त्यति नै हो," तामाङ भन्छन्। उनका अनुसार भीसी गुरुङको अन्त्येष्टि कार्यका लागि करबि एक हजार पाउन्ड खर्च लाग्ने हल ह्वोन्स्लो काउन्सिलले उपलब्ध गराएको थियो भने अन्त्येष्टिमा आएका पाहुनालाई खाजा र सत्कार खर्च बेग्लै बेहोरएिको थियो। सो खर्चका लागि पूर्वगोर्खा सैनिकको संगठन गेसोलगायतका स्थानीय नेपाली संस्थाहरूले चन्दा उठाएका थिए भने बि्रगेड अफ गोर्खाजले पनि त्यहाँ कार्यरतहरूबाट सहयोग संकलन गरेको थियो।

त्यसो त बेलायतमा अन्त्येष्टि गर्नु नेपालीका लागि मात्र महँगो होइन। बेलायती दैनिक पत्रिका गार्डियनका अनुसार बितेका तीन वर्षमा अन्त्येष्टिमा लाग्ने खर्चमा ४८ प्रतिशतले वृद्धि भएको छ। पत्रिका लेख्छ, "अब सबै प्रक्रिया पुर्‍याइएको अन्त्येष्टि -फुल फ्युनेरल वक्र्स) कमैले मात्र गर्न सक्छन्।" अर्को बेलायती दैनिक पत्रिका इन्डिपेन्डेन्टका अनुसार अन्त्येष्टि खर्च अझै पाँच वर्ष बढिरहने देखिन्छ। पाँच वर्षअघि करबि २ हजार ५ सय पाउन्ड रहेको सो खर्च अहिले करबि ५ हजार पुगेको र अझ वृद्धि भई सात हजार पाउन्डसम्म पुग्ने पत्रिकाको आकलन छ।

अमेरकिन लाइफ सर्भेले सन् २००६ मा गरेको सर्भे अनुसार बेलायतमा अन्त्येष्टिका लागि औसत ३ हजार ३ पाउन्ड लाग्छ। तर, सन् २०१२ सम्ममा सो खर्च करबि ४ हजार ७ सय पुग्ने सर्भेको अनुमान छ।

बर्सेनि करबि ४ लाख ७५ हजार मानिसको मृत्यु हुने बेलायतमा मृत्युपछि कानुनी प्रक्रियाका लागि अस्पताल लैजाँदादेखि नै खर्च सुरु हुन्छ। मृत्युदर्ता प्रमाणपत्रका लागि ठाउँ हेरी ७ देखि १० पाउन्डसम्म तिर्नुपर्छ भने अन्त्येष्टिका लागि ठाउँ नपाएसम्म 'फ्युनेरल डाइरेक्टर'कहाँ शव राख्नुपर्दा प्रतिदिनका दरले खर्च लाग्ने गर्छ। "कहिलेकाहीँ त महिनादिनसम्म पालो कुरेर बस्नुपर्ने हुन्छ। शव राख्दा होटलमा बसेको भन्दा बढी शुल्क लाग्छ," तमुधि यूकेका प्रमुख सल्लाहकार चन्द्रबहादुर गुरुङ भन्छन्।

भीसी लछिमान गुरुङ -बायाँ) र सोमप्रसाद गुरुङको शव अन्त्येष्टिका लागि लगिँदैअन्त्येष्टिमा खटिने मजदुरको ज्याला सरकारले तोकिदिएको न्यूनतम ज्यालाभन्दा करबि सात गुना बढी छ। मिन्टेल रसिर्च कन्सल्ट्यान्सी, यूकेले सन् २०१० मा गरेको अध्ययन अनुसार अन्त्येष्टिमा खटिने फ्युनेरल डाइरेक्टरको ज्याला प्रतिघन्टा ३ हजार ५ पाउन्ड छ भने प्लम्बरको प्रतिघन्टा ३० पाउन्ड र इलेक्टि्रसियनको प्रतिघन्टा ३५ देखि ४५ पाउन्ड छ। जबकि, बेलायतमा सरकारले तोकिदिएको १८ वर्षमाथिका कामदारको न्यूनतम ज्याला ५ पाउन्ड ९३ पेन्स छ। त्यस्तै अत्येष्टि कार्यका लागि चर्चले करबि दुई सय पाउन्ड लिने गरेका छन्। चर्च अफ इङ्ल्यान्डले अन्त्येष्टिका लागि तीन सय पाउन्ड तोकेको छ।

अत्येष्टिका लागि सरकारले दिने सहयोग भने नाम मात्रको छ। ट्याक्स क्रेडिट, पेन्सन क्रेडिट, जब सिकर एलाउन्स, हाउजिङ् बेनिफिट, डिसएबिलिटी बेनिफिट, चाइल्ड ट्याक्स क्रेडिट आदि सहुलियत लिइरहेकाहरूको हकमा अन्त्येष्टिका लागि सहयोग उपलब्ध हुने गरे पनि त्यो अपुग छ। "सरकारले दिने सात सय पाउन्डले केही खर्च पनि पुग्दैन," तामाङ भन्छन्।

अधिकांश नेपालीको अन्त्येष्टि समुदायले चन्दा संकलन नगर्दासम्म हुन सक्दैन। त्यसैकारण होला, बेलायतमा आफ्नो जातिपिच्छे र ठाउँपिच्छेका समाज खोल्नुपर्ने भएको। पुर्जा भन्छन्, "धेरैजसो नेपालीसँग तीन हजार पाउन्ड बचत हुने अवस्था छैन। भोलि केही भइहाल्यो भने चन्दाको भर नपरी नहुने बाध्यता छ। त्यसैले हामीले त समाजका सदस्यलाई सक्रिय र कम सक्रिय गरी दुई वर्गमा विभाजन गरेका छौँ। सक्रिय सदस्यको निधन भएमा ३०/३० पाउन्ड उठाउने गरेका छौँ।"

उमेर पुगेका र काम गररिहेकासित केही रकम सञ्चित भए पनि बेलायतमा केही वर्षयता ह्वात्तै थपिएका वृद्धावस्थाका पूर्वगोर्खा र विद्यार्थीसित भने रकम अभाव हुनु स्वाभाविक छ। तामाङ भन्छन्, "पेन्सन क्रेडिट खाइरहेका वृद्ध पूर्वगोर्खा र विद्यार्थीलाई केही भइहालेमा चन्दा नउठाई शव उठ्न सक्दैन। जातीय र स्थानीय संस्थाहरूले चन्दा नउठाएसम्म कसैले आफैँले केही गर्नसक्ने अवस्था छैन।" त्यसैले आफू आबद्ध तामाङ सोसाइटीको विधानमा भैपरी आएमा के गर्ने भनेर प्रस्टसँग व्यवस्था गरएिको उनी बताउँछन्।

वृद्ध पूर्वगोर्खालाई बेलायतको आवासीय अधिकार दिलाउन पहलकदमी गरेको गेसोले भने अहिले आफ्ना सदस्य जोकोही मरे पनि प्रतिसदस्य १०/१० पाउन्ड उठाउने गरेको महासचिव महेन्द्रलाल राई बताउँछन्। भन्छन्, "पहिले नेपालमा पनि मर्दापर्दा आफन्त छिमेकीहरूले चामल, पैसा आदि सहयोग गर्ने चलन थियो। अहिले बेलायतमा पनि त्यही चलन चलाउन खोजेका छौँ।"

कालले कसलाई कतिबेला बोलाउँछ, कसैलाई थाहा हुँदैन। बितेका दुई वर्षम्ाा धेरै पूर्वगोर्खाका लागि चन्दा उठाउनुपरेको देखिन्छ। बेलायतका लागि आफ्ना ज्यान, हातखुट्टा दिएका पूर्वगोर्खाको अन्त्येष्टिका लागि चन्दा उठाउनु लाजमर्दो भएको बताउँछन् तामाङ। भन्छन्, "यस देशका लागि धेरै नेपालीहरू लडे, ज्यान दिए, हातखुट्टा चुँडाले तर बेलायत सरकारले अधिकार कागजमा मात्र दियो। उसले हेरविचार गर्ने कर्तव्य पूरा नगर्दा यो समस्या आइपरेको हो।"

एकपछि अर्को गर्दै थपिँदा संस्था र एउटै व्यक्ति धेरै संस्थामा सक्रिय हुने कारण एउटै व्यक्तिले धेरै ठाउँमा चन्दा दिनुपरेकाले अन्त्येष्टिका लागि चन्दा उठाउने चलन दिगो नहुने देखिन्छ। तर, चन्दाको विकल्पका बारेमा सोच्न र कार्यक्रम बनाइहाल्न भने नेपाली समाज तयार भइसकेको देखिँदैन। समाजमा एक त रचनात्मक सोचको अभाव छ, अर्कोतिर अहिले हुँदै गरेको सहयोग पनि रोकिन्छ कि भन्ने भयले चन्दाभन्दा बाहिर जान नसकिएको संघसंस्थाका पदाधिकारी बताउँछन्।

गुल्मी समाजका अध्यक्ष थापा भन्छन्, "चन्दा भन्दाभन्दै विकृति सुरु भइसकेको छ। आफैँ गर्न सक्ने औकात भएकाले पनि चन्दाको आशा गर्न थालिसकेका छन्। त्यसैले हाम्रो पुख्र्यौली सम्पत्तिबाट परअिाएको खण्डका लागि सानो कोष खडा गर्नुपर्छजस्तो लाग्छ। चन्दा उठाएर सधैँ सम्भव देखिँदैन। मान्छेहरू थाकिसकेका छन्।"

पुर्जाको विचारमा चन्दाको विकल्प सोचनीय छ। बेलायतमा अन्त्येष्टिका लागि बिमा गराउने चलन पनि नभएको होइन। उनी भन्छन्, "अब नेपालीहरू पनि बिमा गर्नतिर लाग्नुपर्छ।" गेसोका महासचिव राईका विचारमा विकल्पका बारेमा बेलायत सरकार र स्थानीय सरकारले सोच्नुपर्छ। भन्छन्, "पूर्वगोर्खा सैनिकको सद्गत् गर्न चन्दा उठाउनु विडम्बना हो। मूल कुरा त यहाँको सरकारले नै यसमा ध्यान पुर्‍याउनुपनर्ेे देखिन्छ।"

आप्रवासी नेपाली समाज -एनआरएन)का अध्यक्ष सूर्य गुरुङ भने तत्कालका लागि चन्दाको विकल्प देख्दैनन्। भन्छन्, "कि त बेलायत सरकारसित माग्नुपर्‍यो। बेलायत सरकारको स्थानीय समुदायलाई अहिले सहयोग दिने प्रक्रिया हेर्दा त्यसले मात्र हामीलाई पुग्दैन। अहिले नै चन्दा माग्न छाड्यो भने अलपत्र हुन्छ। न दूताबासले हेर्नसक्छ, न त नेपाल सरकारले हेर्छ।"

तर, संस्थाहरूको अग्रसरता भएमा चन्दाको विकल्प नभएको भने होइन। हरेक व्यक्तिबाट मासिक किस्ताबन्दीमा रकम संकलन गरेर कोष बनाएमा पनि चन्दा उठाइरहनुपर्दैन। थापा भन्छन्, "मज्जाले आफ्नै कोष बनाउन सकिन्छ। मैले अहिले बूढापाकालाई भन्ने गरेको छु, महिनाको पाँच पाउन्ड जम्मा गर्नूस्। हरेक काउन्सिलमा भएका नेपाली समाजले आपत्कालीन कोष बनाएमा चन्दा उठाइरहनुपर्ने छैन।"

आफ्नै समाधिस्थल हुनुपर्छ भनेर मगर संघ, यूकेमा प्रस्ताव राख्ने उपाध्यक्ष हेम थापा सेँठ भन्छन्, "चन्दा उठाउँदा उठाउँदा अब त फलानो मर्‍यो रे भन्दा चन्दा दिनुपर्छ भनेर थाहा पाइनँ भन्ने अवस्था आएको छ। चन्दा दिँदादिँदा चन्दाकै लागि जागिर गरेजस्तो भएको छ।" अरूभन्दा छुट्टै पहिचान दिन र आफ्नो संस्कारको संरक्षण गर्न आफूले छुट्टै समाधिस्थल हुनुपर्छ भनेर प्रस्ताव राखेको उनी बताउँछन्। सबै नेपाली मिलेर समाधिस्थल र जलाउने ठाउँ बनायो भने चन्दालाई विस्थापित गर्न सकिने उनको भनाइ छ। "सबै नेपालीसँग सल्लाह गर्‍यो भने सम्भव नहुने कुरा छैन," उनी भन्छन्।
                                                                                                                       नरेश खपाङ्गीमगर/लन्डन
                                                                                                                           साभार :नेपाल साप्ताहिक 

Posted by Butwalonline on 8:14 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बाँच्नभन्दा मर्न गाह्रो"

Leave a reply