|

गर्भावस्थाका समस्याहरू,र समाधान

मेची अञ्चल अस्पताल, भद्रपुर
डा बालकृष्ण साह
गर्भावस्था एउटा जटिल अनि विशेष अवस्था हो। यो अवस्थामा एकातिर आमा बन्ने खुसी जोडिएको हुन्छ भने अर्कातिर महिलाको ज्यान जाने खतरा पनि हुन्छ। हिजोआज बिस्तारित स्वास्थ्य सेवा तथा बढ्दो जनचेतनाले नियमित स्वास्थ्य परीक्षण गर्ने चलन पनि बढ्दैछ। फलस्वरूप मातृमृत्युदरमा कमी आएको छ। गर्भावस्थामा विभिन्न किसिमका समस्या आउन सक्छन् तथापि नआत्तिई समयमै उपचार गरे धेरैजसो अवस्थामा आमा र शिशु दुवैलाई बचाउन सकिन्छ।

अमिता नेपालीको ५ वर्षअघि पहिलो शिशु घरमै भएको थियो। त्यसबेला कुनै परीक्षण नगराए पनि यसपटक उनी महिनावारी निर्धारित समयमा नभएको ३ हप्ता नबित्दै परीक्षणका लागि अस्पताल गइन्। चिकित्सकले प्रारम्भिक परीक्षणपछि उनलाई भिडियो एक्स-रे गर्ने सल्लाह दिए। आफूलाई केही अप्ठ्यारो नभएको अनि गर्भ बसेको भर्खर दुई महिना पुग्न लागेकाले उनले भिडियो एक्स-रे गर्न उपयुक्त मानिनन् तर दुई दिन नबित्दै उनलाई धेरै पेट दुखेर अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइयो। उनको गर्भ पाठेघरमा नरहेर अण्डबाहिनी नलीमा बसेको रहेछ। त्यो फुटेर समस्या देखिएको रहेछ। यो एउटा गम्भीर एवं खतरनाक अवस्था हो। यस्तो अवस्थामा तुरुन्त शल्यक्रिया हुन सकेन भने बिरामीको ज्यान जान सक्छ।

पाठेघरबाहेक अन्य स्थानमा गर्भ रहनुलाई इक्टोपिक पि्रग्नेन्सी भनिन्छ। इक्टोपिक पि्रग्नेन्सी हुने कारण धेरै भए पनि सबै अवस्थामा यसको कारण पत्ता लगाउन सकिँदैन। समयमै भिडियो एक्स-रे गरेर इक्टोपिक पि्रग्नेन्सी रहेको थाहा पाउन सकिन्छ। इक्टोपिक पि्रग्नेन्सी भएको थाहा पाउनेबित्तिकै कुनै विषमस्थिति आउनुअघि नै त्यसको अन्त्य गर्नुपर्छ। इक्टोपिक पि्रग्नेन्सीलाई समयमै परीक्षण गरियो भने शिशुको ज्यान बचाउन नसकिए पनि आमाको ज्यान बचाउन सकिन्छ।

गर्भावस्थामा हुने अर्को प्रमुख समस्या उच्च रक्तचाप हो। अन्य रोगको कारणले पनि उच्च रक्तचाप भएको हुन सक्छ वा उच्च रक्तचाप पहिलोपटक गर्भावस्थ्ाामा देखिन सक्छ। २० साताकी गर्भवती महिला वा शिशु पाएको २४ घन्टाभित्र लगातार रक्तचाप १४०/९० हुनु वा कम्तीमा ४ घन्टाको परक पारेर दुई पटक रक्तचाप नाप्दा १४०/९० हुनु -पहिलो रक्तचाप सामान्य रहेको अवस्थामा) लाई गर्भावस्थाको रक्तचाप वा गेस्टेसलन हाइपर टेन्सन भनिन्छ। यस्तो अवस्थामा गर्भको शिशु तथा आमाको मृत्यु हुने संभावना कम हुन्छ तर अर्को पटक गर्भवती हुँदा रक्तचाप बढी हुनुका साथै अन्य समस्या पनि देखापर्न सक्छन्।

उच्च रक्तचापसँगै पिसाबमा प्रोटिन देखिनुले ठूलो समस्या ल्याउन सक्छ। यसबाट आमा बेहोस हुने, रक्तचाप बढ्ने, अचेत हुने, संक्रमित हुने तथा आमाको मृत्युसमेत हुन सक्ने हुन्छ। गर्भावस्थामा यस्तो समस्या आउनाले शिशु कम तौलको हुने, महिना नपुग्दै जन्मने तथा गर्भमै शिशुको मृत्युसमेत हुनसक्छ। गर्भवती महिलामा देखा पर्ने यस किसिमको समस्यालाई पि्र इक्नाप्पसिया भनिन्छ, यो पहिलो पटकको गर्भमा बढी देखिन्छ। शरीरका सम्पूर्ण रक्तनली, विशेष गरी पाठेघर, मिर्गौला र मस्तिष्कमा रक्तनलीहरू आवश्यकभन्दा बढी संकुचित भएका कारण उच्च रक्तचाप तथा पि्रइक्लाम्पसिया हुन्छ। पि्र इक्लाप्पसियामा भएका गर्भवती महिला एकपटक मात्र पनि अचेत हुने वा बेहोस हुने अवस्थालाई इक्लाम्पसिया भनिन्छ। एकपटक मात्र पनि इक्लाम्पसिया भएका, गर्भवती महिला तथा गर्भमा रहेको शिशु दुवैका लागि खतरा बढेर जान्छ।

गेस्टेसलन हाइपर टेन्सन, पि्र इक्नाप्पसिया तथा इक्लाम्पसिया जटिल किसिमका समस्या हुन्। यसका लागि नियमित रूपमा, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्छ। यस्तो समस्याका लागि सुविधा सम्पन्न अस्पतालमा भर्ना भएर उपचार गराउँदा पनि अपि्रय समाचार सुन्नुपर्ने हुन्छ।

गर्भावस्थामा अन्य सामान्य समस्या पनि देखापर्न सक्छन्। यो अवस्थामा वाकवाक लाग्नु तथा बान्ता हुन खोज्नुलाई ठूलो समस्या मानिँदैन। त्यस्तो अवस्थामा चिल्लो तथा मसलेदार खानेकुरा सेवन नगरी सुख्खा खानेकुरा खानुपर्छ। यस्तो समस्या सामान्यतया पहिलो तीन महिनासम्म हुन्छ। गर्भको शिशुले सामान्यतया १२ हप्ता पार गरिसकेपछि वाकवाक लाग्न छोड्छ। यद्यपि कसैकसैलाई यो समस्याले पनि निकै पिरोल्न सक्छ। यस्तो पीडालाई हाइपरइमेसिस् ग्राभिडम् भनिन्छ। यस्तो स्थिति प्राय: पहिलो पटकको गर्भमा बढी भएको पाइन्छ। गर्भमा एकभन्दा बढी शिशु रहे तथा अव्यवस्थित गर्भ रहेको अवस्थामा पनि यो समस्या बढी देखिन्छ। यो समस्या वंशाणुगत पनि हुनसक्छ। गर्भावस्थामा एचसीजी हार्मोनको मात्रा बढ्छ। यो हार्मोनको मात्रा सामान्यभन्दा बढी भए धेरै बान्ता हुन सक्छ। एचसीजी हार्मोन धेरै अवस्थामा पत्ता लगाउन सकिँदैन। गर्भमा धेरै पानी हुनु, दुई वा त्यसभन्दा बढी शिशु हुनु आदि त्यसका प्रमुख कारण हुन्। यसबाहेक भिटामिन बी वा प्रोटिनको कमी हुनु तथा मानसिक समस्याहरूले हाइपरइमेसिस् ग्राभिडम् गराउन सक्छन्। गर्भावस्थामा पनि अन्य अवस्थामा जस्तै पिसाबको संक्रमण, पेटको अल्सर, एपेन्डिसाइटिस, पित्त थैलीको संक्रमण, कलेजोको संक्रमण आदिले बान्ता गराउन सक्छ।

गर्भावस्थामा सामान्यभन्दा बढी बान्ता भए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ। यस्तो बेला बान्ताको कारण पत्ता लगाउन विभिन्न परीक्षण -रगत, पिसाब, भिडियो एक्स-रे) गर्नुपर्ने हुन सक्छ। कसैकसैमा धेरै बान्ता भएर धेरै पानी तथा लवण खेर गएको हुनसक्छ। त्यस्तो अवस्थामा बिरामीलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने हुनसक्छ।

पहिलो तीन महिनामा भएको सानो समस्याले पनि गर्भ तुहिने सम्भावना रहन्छ। यो अवस्थामा लामो दूरीको यात्रा गर्नु, मानसिक तनाव लिनु, धूम्रपान तथा मद्यपान गर्नु हानिकारक साबित हुनसक्छ।

सामान्यतया गर्भावस्थाको दोस्रो तीन महिना समस्या बिहीन हुन्छ। यो अवस्थामा खानामा रुचि बढ्ने, तौल बढ्ने तथा पेट देखिन थाल्ने हुन्छ। यही अवस्थामा रगतको मात्रा बढाउन आइरन तथा क्याल्सियमको कमी हुन नदिन गर्भवती महिलालाई क्याल्सियम चक्कीका साथै टीटी भ्याक्सिन दिइन्छ।

करिब ५० देखि ७० प्रतिशत महिलालाई गर्भको चार महिनादेखि कम्मरको पीडा सुरु हुने गरेको अध्ययनले देखाएको छ। कम्मरको पीडाका अन्य कारणमा गर्भवती महिलाको तौल बढ्नु पनि एक हो। यो बढेको तौललाई पनि कम्मरले थाम्नुपर्ने हुन्छ। यो अवस्थामा पाठेघर तन्किएर बढेको हुन्छ, जसले तल्ला नसाहरूलाई च्यापेको वा प्रेसर दिएको हुन्छ। यी कारणहरूले गर्दा नै कम्मरको पीड हुन्छ भन्ने विज्ञहरूको धारणा छ। गर्भावस्थामा भएको कम्मरको पीडाका लागि आत्तिनु पर्दैन। यस्तो अवस्थामा पीडा कम गर्ने औषधि सेवन गर्ने भन्दा पनि सामान्य व्यायाम गर्ने, तातोले सेक्ने तथा पीडा कम गर्ने मल्हमहरू -डीएफओ जेल, निन्जा जेल) प्रयोग गर्नु राम्रो मानिन्छ। त्यस्तै यो अवस्थामा कसैकसैलाई एसिडिटीले सताउन सक्छ। मुखमा अमिलो पानी आउने, उल्टी -बान्ता) हुन खोज्ने, पेट पोल्ने वा दुख्ने एसिडिटीका लक्षण हुन्। नियमित रूपमा सन्तुलित भोजन गर्ने, चिल्लो, पिरो, अमिलो कम खाने तथा धेरैबेर भोकै नबस्ने कार्यले मात्र पनि यो समस्या कम गर्न सकिन्छ। गर्भको अन्तिम अवस्थामा आएर पनि विभिन्न किसिमका स्वास्थ्य समस्या देखा पर्न सक्छन् र यस्ता समस्याले मानसिक तनाव मात्र उत्पन्न गर्दैनन्, आमा एवं गर्भस्थ शिशु दुवैका लागि खतरा साबित हुन सक्छन्। त्यसैले आफूमा कुनै किसिमका समस्या भए चिकित्सकको सल्लाह लिइहाल्नुपर्छ।

अस्पतालको छनोट कसरी गर्ने ?

साधारणतया हामीले अस्पताल छनोट गर्दा आफूलाई पायक पर्ने ठाउँ हेर्छौं। त्यसो त आपत्कालीन अवस्थामा जुन अस्पताल नजिक छ त्यहीँ जान्छौं। अस्पताल छनोट गर्दा  पर्याप्त ध्यान पुर्‍याउनुपर्छ किनभने अहिले अस्पतालबाटै पनि संक्रमण फैलन सक्छ। त्यसैले अस्पतालमा के-कस्ता सुविधा छन् हेर्नुपर्छ। अस्पताल छनोट गर्दा निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ :

-सबैभन्दा पहिले नजिकमा भएका अस्पतालको सूची बनाउनुपर्छ।

-नजिकको अस्पतालले मात्र हुँदैन। आफ्नो स्वास्थ्यसँग सम्बन्धित सबै उपचार उक्त अस्पतालमा हुन्छ कि हुँदैन त्यो पनि हेर्नु आवश्यक छ।

-अस्पताल छनोट गर्दा आफूलाई मन पर्ने तथा चिनजानको चिकित्सक छान्नुपर्छ।

-अस्पतालमा बिरामीप्रति गरिने व्यवहार कस्तो छ विचार पुर्‍याउनु आवश्यक हुन्छ।

-अस्पतालको सरसफाइ तथा बिरामीलाई दिइने सुविधाका विषयमा ध्यान दिनुपर्छ।

-अस्पतालको संक्रमण रोक्न के-कस्ता उपाय अपनाइन्छ विचार पुर्‍याउनुपर्छ।

महमा  ऊर्जा

एक चम्चा महले मानिसको शरीरमा ऊर्जा प्रदान गर्छ। यसमा पाइने ग्लुकोज तथा फुट क्रोजका कारण कलेजोलाई ग्लाइकोजेन नामक रसायन प्राप्त हुन्छ। यो रसायन शरीरका लागि अत्यन्त लाभदायक मानिन्छ।

नियमित महको सेवनले ऊर्जा प्रदान गरेर कुनै पनि काम गर्ने जाँगर बढाउँछ।

महमा कुनै बाहिरी तत्व मिसिएको हुनु हुँदैन। राति राम्रो शुद्ध मह खाए मस्तिष्कले राम्रोसँग काम गर्छ। कलेजोमा जम्मा भएको फुटक्रोजले मस्तिष्कलाई काम गर्ने शक्ति दिन्छ। महले रोग प्रतिरोधक क्षमता पनि बढाउँछ। महको सेवनले शरीरलाई विभिन्न प्रकारका विकारबाट टाढा राख्न सहयोग पुर्‍याउँछ। महमा आन्तरिक एवं बाह्य रूपमा ब्याक्टेरियासँग लड्ने तत्व हुन्छ।

जाडो मौसममा धेरै मानिस रुघाखोकीको सिकार हुने भएकाले नियमित मह सेवन गरे उक्त संक्रमणबाट बच्न सकिन्छ । अनुसन्धानबाट पनि महमा विषाणु नष्ट गर्ने क्षमता भएको कुरा प्रमाणितभैसकेको छ।

निद्रामा पनि क्रियाशील

मानिसहरू आफ्नो सुन्दरता बढाउन विभिन्न उपाय अपनाउँछन्। दिनभरिको व्यस्ततामा सुन्दरता बढाउने क्रियाकलाप सम्भव नहुन सक्छ। त्यसैले सुत्ने बेला केही उपाय अपनाएर बिहान उठ्दा पहिलेभन्दा फुर्तिलो र तेजिलो महसुस गर्न सकिन्छ। मानिसहरू आफ्नो छाला नरम राख्न सुत्ने बेला विशेष किसिमका प्रसाधन प्रयोग गर्छन्। कोही आफ्नो हातमा भ्यासलिन लगाएर पन्जा लगाउँछन् त कोही अनुहारमा फेसप्याक वा दाग-धब्बामा टुथपेस्ट लगाएर सुत्छन्।

छाला विशेषज्ञ इव लोभका अनुसार निदाएका बेला शारीरिक प्रक्रियामा परिवर्तन भैरहन्छ र केही हार्मोनको स्राव बढी हुन्छ। निदाएका बेला तन्तुको मर्मत र पुनर्जीवनका अतिरिक्त छालाका कोशिकाहरू, रक्त वा मस्तिष्क कोशिकाहरू टुट्ने-फुट्ने तथा मर्मत र पुनर्जीवन हुने कार्य भैरहन्छ। निद्राले हाम्रो रोग प्रतिरोधक क्षमता बढाउँछ। एक अमेरिकी पोषण विशेषज्ञका अनुसार शारीरिक अङ्गको पुनर्जीवन र मर्मतको कार्य तबसम्म सुरु हुँदैन जबसम्म कमसेकम ६ घन्टाको निद्रा पूरा हुँदैन।

जब हामी निदाएका हुन्छौँ तब हाम्रो अनुहार स्थिर हुन्छ। यसले दिनभरिको श्रम र थकानबाट राहत दिलाउँछ। छाला विशेषज्ञ करेन बुर्कका अनुसार निदाएका बेला अनुहारले अनावश्यक तनावबाट मुक्ति पाउँछ। करेन बुर्कको सुझावअनुसार पीठको बलमा सुत्दा वा घुँडाको तलतिर सिरानी राखेर सुत्दा आराम महसुस गर्न सकिन्छ। छाला विशेषज्ञ निकोल लोवेका अनुसार सुत्दा मोस्चराइजरको प्रयोग आवश्यक छ। तातो कोठामा सुत्दा छाला रुखो अर्थात् फुस्रो हुनसक्छ। त्यसैले ओछ्यानमा जानुभन्दा पहिले क्रिम लगाउनुपर्छ।

रातिको खाना ढिलो खाने बानी परिवर्तन गर्नुपर्छ। सुत्दा शारीरिक मेटाबोलिज्मको गति सुस्त हुन्छ किनभने त्यतिबेला हाम्रो शरीरको शक्ति क्यालोरीमा खर्च भएको हुँदैन। सुत्नुभन्दा अघि व्यायाम गर्नु राम्रो हुन्छ, यसले एड्रोनाइल बढाउँछ र शरीर जाग्छ। सुत्नुअघिको सहवास पनि प्रकृतिप्रदत्त व्यायाम हो। यसका अतिरिक्त योगासन एवं ध्यान पनि सहायकसिद्ध हुन्छन्।

दीपकलाल श्रेष्ठ



गर्मीका लागि स्वास्थ्य टिप्स

बिहानै  पौष्टिक तत्व समावेश भएको नास्ता खानुपर्छ।

  बिबहान-बेलुका हल्का खाना खानु राम्रो हुन्छ।

  खाना खानुअघि तथा खाना खानासाथ तुरुन्त पानी पिउनु हुँदैन। पर्याप्त मात्रामा कागती पानी सेवन गर्नु उपयुक्त हुन्छ।

    भोक लागेको बेला मात्र खाना खानुपर्छ

    कम चिल्लो भएका खानेकुरा खानुपर्छ।

    पानी पर्याप्त मात्रामा पिउनुपर्छ। 

    तरबुजाको जुस पिउनुपर्छ।

    बिहान उठ्नासाथ तामाको भाँडामा राखिएको मनतातो पानी पिउनुपर्छ।

    रति सुत्ने बेलामा एक गिलास मनतातो पानीमा कागती हालेर पिउँदा फाइदा पुग्छ।

    भात एवं रोटी कम तथा तरकारी र फलफूल बढी खानुपर्छ।

    खाना खानासाथ तुरुन्त सुत्नु हुँदैन।

    खाना खाएपछि ४०-५० कदम हिँडडुल गरेर मात्र सुत्न जानुपर्छ।

    दैनिक खुला हावामा हिँड्ने तथा हल्का व्यायाम गर्ने बानी बसाल्नुपर्छ।

वजन कम गर्ने सरल उपाय

    डाइटिसियनबाट डाइट चार्ट बनाउनुपर्छ।

    निर्धारित समयमा खाना खानुपर्छ।

    खाना खाएको तीन घन्टासम्म केही खानु हुँदैन।

    दिनहुँ बिहान व्यायाम गर्नुपर्छ।

    बाहिरको खाना कम खानुपर्छ।

    परत्येक हप्ता आफ्नो वजन जाँच गर्नुपर्छ।

    सलाद तथा जुस प्रशस्त सेवन गर्नुपर्छ।

मस्तिष्कलाई कसरी सक्रिय बनाउने ?

मांसपेशी जस्तै मस्तिष्कलाई पनि कसरतको आवश्यकता पर्छ। निम्न लिखित उपायले मस्तिष्कलाई वृद्धावस्थासम्म पनि सक्रिय राख्छ।

    बालबालिकाका साथमा चलचित्र हेर्नुपर्छ।

    बाधा-अड्चनको समाधान गर्नुपर्छ।

    अफिस जाने नयाँ बाटो रोज्नुपर्छ।

    श्रीमान्-श्रीमती प्रेमपूर्वक बस्नुपर्छ। यसले मानिसको न्युरोन्स विकसित गर्न मद्दत गर्छ।

    भरसक दिनहुँ नयाँ-नयाँ प्रयोग गर्नुपर्छ।

    जीवनमा तनावलाई स्थान दिनु हुँदैन।

रक्त अल्पताका लागि भोजन

  पालुंगो एवं गाजरको रसमा मह मिसाएर पिउनु लाभदायक हुन्छ।

    अनार, अंगुर, सुन्तला, मौसम, केरा, स्याउ, गोलभेंडा, चुकन्दर, बन्दा आदि नियमित रूपमा सेवन गर्नुपर्छ।

    हरिया सागपात, पालुंगो, बाँबरी नियमित भोजनमा समावेश गर्नुपर्छ।

    अन्जिर एवं दाख खानु पनि फाइदाजनक हुन्छ।

    मेथी, बेसार, निमका पात पनि रक्त अल्पताका रोगीका लागि वेश हुन्छ।

    गहुँको जमराको रस दिनहुँ पिउँदा पनि राम्रो हुन्छ।

    चोकरसहितको गहुँको परिकार, ब्राउन राइस, हरिया सागपात, बन्दा आदिमा प्राकृतिक रूपमै आइरन तत्व पाइन्छ।

    माछा, मासु, कलेजो, अण्डा आदिले हेमोग्लोबिन बन्न सघाउ पुर्‍याउँछ। शाकाहारीले दूध, दूधबाट बनेका परिकार, भटमास, बदाम आदि खानुपर्छ।

    सय ग्राम ब्राउन राइसमा ३० ग्राम कालो भटमास तथा ३० ग्राम छोकडा मिसाई पकाउने र सख्खर मिसाएर खाए फाइदा हुन्छ।

    पालुंगोको सागमा कलेजो मिसाएर पकाउने र सुपका रूपमा खाए लाभदायक हुन्छ।

    अण्डा, कुरिलो, राजमा, ओखर पनि रक्त अल्पताका लागि उपयोगी मानिन्छ।

राति किन बाउँडिन्छ गोडा

राति कसैकसैको गोडा बाउँडिन्छ। यसका धेरै कारणमध्ये काम गर्ने बेलामा मांसपेशी तन्किनु,  धेरै समयसम्म एउटै ठाउँमा उभिनु, एन्टी साइकोटिक्स, डियोरेक्टिस औषधिको सेवन तथा शरीरमा पोटासियम, क्याल्सियम तथा पानीको कमी आदि हुन सक्छ। यस्तो समस्याबाट छुटकारा पाउन पोटासियमयुक्त खाद्यपदार्थ मेथी, पालुंगो तथा बन्दागोभी आदि खानुपर्छ। पर्याप्त पानी पिउनुपर्छ। अल्कोहल तथा कफिन सेवन गर्नु हुँदैन। गोडाको कसरत गर्नुपर्छ र गोडा बाउँडिएका बेला ओछ्यानबाट उठेर हिँड्नुपर्छ।

डाइनेटिक्स स्वास्थ्यको आधुनिक विज्ञान

डाआदर्श प्रधान

वर्तमान युग तीव्र गतिमा दौडिरहेको छ । समयसँगै हामी पनि एक-अर्काबीच प्रतिस्पर्धा गर्दै बाँचिरहेका छौं । यस्तो भागदौड तथा तनावयुक्त वातावरणमा हाम्रो स्वास्थ्य चाहेर पनि सोचेजस्तो राम्रो हुन सक्दैन । अहिलेको जीवनशैलीमा हामीभित्र नचाहिँदा संवेग, उत्तेजना, सनक, भयजस्ता मानसिक भावना जम्मा भैरहेका हुन्छन् । यस्ता नकारात्मक मानसिक भावनाले गर्दा हामीमध्ये धेरैमा आत्मविश्वासको कमी, निराशा, हीनताबोध, भय बढ्दै गएको पाइन्छ । मेडिकल साइन्सले पनि यदि यस्तो अवस्था बढ्दै गयो भने असाध्य रूपमा मानसिक रोगी हुनसक्ने कुरा स्वीकार गरेको छ ।

डाइनेटिक्स एउटा यस्तो आधुनिक विज्ञान हो जसको प्रयोगले हाम्रो मस्तिष्कभित्र दबिरहेको अनावश्यक संवेग, उत्तेजना, सनक, भय, दु:ख आदि मानसिक भावनालाई उत्खनन् गरेर नकारात्मक मानसिक अवस्थालाई सही अवस्थामा ल्याउन मद्दत गर्छ । डाइनेटिक्सको सिद्धान्तअनुसार मानसिक तनावले गर्दा नै मानिसलाई रोग लाग्छ । मानिसको जीवनमा तनाव त आइरहन्छ, तर तनावलाई कसरी लिने र दबिरहेको तनावलाई मस्तिष्कबाट कसरी मुक्त गर्ने भन्ने कुरा डाइनेटिक्सले सिकाउँछ । एलरोन हर्बडले प्रतिपादन गरेको यो आध्यात्मिक ज्ञानले हाम्रो आत्मा, मस्तिष्क र शरीरलाई सन्तुलनमा राख्न सिकाउँछ । डाइनेटिक्समा अडिटिङको माध्यमबाट रोगीको उपचार गरिन्छ । यो उपचारबाट जस्तोसुकै मानसिक, शारीरिक, भावनात्मक रोगीको सफल उपचार गर्न सकिन्छ ।  डाइनेटिक्सको सिद्धान्तअनुरूप प्रत्येक मानिसमा दुईवटा मस्तिष्क हुन्छन् । ती दुईवटा मस्तिष्कमध्ये प्रतिक्रियात्मक मस्तिष्कमा रहने मानसिक छाया चित्रहरूको संकलनलाई इनग्राम भनिन्छ । हामीमा भएको शारीरिक पीडा, दुर्घटना, भय, बेहोस हुँदा हुने अनुभूतिको छाप उक्त मस्तिष्कमा हुन्छ । हाम्रो मस्तिष्कमा भएका यी इनग्रामले गर्दा हामीमा अनावश्यक भय, निराशा, मानसिक समस्या, शारीरिक पीडा आदि उत्पन्न हुन्छन् ।

डाइनेटिक्स एउटा माध्यमिक परामर्श विधि हो, जसमा अडिटरद्वारा रोगी वा निरोगीलाई अनावश्यक इनग्राम हटाउन अडिटिङ गरिन्छ । डाइनेटिक्सको भाषामा अडिटिङ गराउन आउने व्यक्तिलाई पि्र-क्लियर -स्पष्ट हुन बाँकी) भनिन्छ ।

जसको मस्तिष्कभित्र नकारात्मक आवेग, संवेदना, भावना हुन्छ त्यस्तो व्यक्तिलाई पि्र-क्लियर भनिन्छ । पि्र-क्लियरलाई अडिटिङ गरिसकेपछि मानिसभित्र रहेको नकारात्मक आवेग, संवेदना हट्नुका साथै उसभित्र रहेको समस्यालाई ऊ आफैंले बोध गर्छ । आफूभित्र रहेको समस्यालाई बुझेर हटाएपछि पि्र-क्लियरलाई स्पष्ट भएको मानिन्छ । अत: डाइनेटिक्स लक्ष्य भनेको मानिसलाई पि्र-क्लियरबाट क्लियर बनाउनु हो । डाइनेटिक्स सिद्धान्तका प्रवर्तक एलरोन हर्बडले तनाव नाप्ने मेसिनको पनि आविष्कार गरेका छन्, जुन मेसिनबाट मानिसभित्र रहेको तनावलाई सजिलै नाप्न सकिन्छ । नापेर आएका अंकका आधारमा मानिसमित्र रहेको मानसिक अवस्था पत्ता लगाइन्छ ।

एलरोन हर्बडका पुस्तकहरू : एलरोन हर्बडले सयौं महत्त्वपूर्ण पुस्तक लेखेका छन् । ती पुस्तकहरूको अध्ययन एवं प्रयोगपछि हामीले दिमागी अवरोधहरूबाट पार पाउन सक्नुका साथै तिनीहरूको नियन्त्रणमाथि क्रमिक सफलता पाएर भविष्यका खुसीहरू कसरी पाउन सकिन्छ भन्ने जानकारी प्राप्त गर्न सक्छौं । एलरोन हर्बडको विश्वभर सर्वाधिक बिक्री भएको पुस्तक डाइनेटिक्स : मानसिक स्वास्थ्यको आधुनिक विज्ञान हो जुन पुस्तकमा डाइनेटिक्स सिद्धान्तको प्रयोग, अडिटिङ प्रक्रिया, डाइनेटिक्सको प्रयोगले जीवनमा कसरी काम गर्छ भन्ने कुरा समावेश छ ।

नेपालमा डाइनेटिक्स : नेपालमा लोकेन्द्रबहादुर चन्द प्रधानन्त्री भएको बेलामा अमेरिकाबाट डाइनेटिक्स विज्ञहरू ल्याएर सबै मन्त्रीलाई होटल र्‍याडिसनमा प्रशिक्षण दिइएको थियो । नेपालमा ५ वर्षअघि पुस्तक बिक्रीबाट सुरु भएको डाइनेटिक्स संस्थाको कार्य हाल डाइनेटिक्स वर्कसप, अडिटिङ, जीवन विधायक शिक्षण कोर्सको संचालनसम्म पुगेको छ । काठमाडौंको न्यूप्लाजास्थित यो संस्थाका संस्थापक अध्यक्ष एमएलगुरुङ तथा कार्यकारी निर्देशक नगेन्द्र पौड्याल हुन् । हाल यो संस्थामा तनाव नाप्ने मेसिनका साथै ओशिय परीक्षण पनि गरिन्छ । ओशिय परीक्षणबाट हाम्रो मानसिक एवं भावनात्मक अवस्थाका बारेमा सजिलै थाहा पाउन सकिन्छ ।

डाइनेटिक्सका जीवन विधायक शिक्षण कोर्स अरू शिक्षण कोर्सजस्तो होइन । यसका कोर्सहरू प्रयोगात्मक हुन्छन्, जुन हामीले आफ्नो जीवनमा प्रयोग गर्नुपर्छ । यो जीवन विधायक शिक्षण कोर्सको अध्ययनपछि अध्ययन गर्ने व्यक्तिको जीवनमा परिवर्तन आउँछ भन्ने संस्थाको दाबी छ ।
साभार: नारी

Posted by Butwalonline on 9:46 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गर्भावस्थाका समस्याहरू,र समाधान"

Leave a reply