विद्यार्थीलाई बाइक : कतै प्रतिबन्ध अभियान, कतै अफर
रुबी रौनियार, काठमाडौं, असार २३- प्लस टु पढ्ने छोराछोरीलाई बाइक चढ्न दिने कि नदिने? उच्च माध्यमिक विद्यालय सञ्चालक संघ (हिसान) ले विद्यार्थीको बाइक दुर्घटना कम गर्न प्लस टुमा बाइक बन्देज अभियान चलाइरहेका बेला विभिन्न बाइक कम्पनीले विद्यार्थीलाई बाइक बेच्ने अफर अघि सारेका छन्।
ताइवानको हार्टफोर्ड कम्पनीको नेपालस्थित डिलरले आइतबार 'फर एसएलसी ग्रेजुएट्स २०६७ का लागि मात्र' भन्दै विज्ञापन गरेको छ। यसै वर्ष एसएलसी पास र प्लस टुमा प्रवेश परीक्षा दिएको प्रमाण पेस गरे स्पेसल डिस्काउन्ट अफर, दस हजार रुपियाँ दिने भनिएको छ। प्रवेश परीक्षा दिएको प्रमाणपत्रको कपी असार ३१ सम्म बाइकका विभिन्न शाखा कार्यालयमा पुग्नुपर्ने उसको सर्त छ।
कम्पनीले दमौली, लमजुङ, भरतपुर, बुटवल, काठमाडौं, धरान र झापा गरी आठ ठाउँमा अफर दिएको छ।
मोटरसाइकल कम्पनीको यस्तो अफर हिसानको अभियान विपरीत छ। तर यो अभियानबारे बाइक बिक्रेताले खासै सरोकार राखेको देखिँदैन। हार्टफोर्ड कम्पनीको डिलर नेक्स मोटर्स, दमौलीका प्रमुख सुमन थापा अहिले आफ्नो व्यापार बढाउने सिजन भएको बताउँछन्। उनले भने, 'एसएलसीका विद्यार्थी अहिले हाम्रो आकर्षण हुन्।'
दमौलीस्थित प्रमुख सुमन थापाले एसएलसी पासलाई १५० सिसी र २०० सिसी क्षमताको बाइकमा छुटबारे जानकारी दिँदै भन्छन्, 'हाम्रो सिजनल व्यापारिक प्रचार हो यो। राम्ररी चलाउनेलाई प्रोत्साहन होस् भनेर योजना ल्याएका हौं।'
गत वर्षको आफ्नो विस्तारित बैठकबाट प्लस टुहरूका विद्यार्थीमा बढ्दै गएको बाइक दुर्घटना कम गर्न कडाइसाथ बाइक प्रतिबन्धको अभियान चलाइएको हिसान अध्यक्ष उमेश श्रेष्ठले बताए। यस्तो अवस्थामा बाइक कम्पनीले प्रलोभनयुक्त प्रचार गरेर विद्यार्थीलाई बाइक किन्न र दुर्घटनाको मुखमा पुर्याउन नहुने श्रेष्ठको भनाइ छ।
यही वर्षमात्र बाइक दुर्घटनामा परेर प्लस टु पढ्ने करिब ५० विद्यार्थीको ज्यान गएको जानकारी दिँदै श्रेष्ठले भने, 'बाइक कम्पनीले यस्ता विज्ञापन निकालेर कलिला विद्यार्थीको जीवनसँग खेलवाड गर्न खोजेका छन्।'
गत वर्ष बाइक दुर्घटनामा परेर आफ्ना दुवै खुट्टा गुमाएकी जेभिएर इन्टरनेसनलकी छात्रा रसु शाक्य विद्यार्थीलाई बाइकबाट टाढा रहन सुझाउँछिन्। उनले भनिन्, 'बाइक पाए पढाइभन्दा मोजमस्तीमा समय खर्चन सक्छन्।' सरकारले यस्ता कुरा नियमन गर्नुपर्ने र विद्यार्थीको जीवनरक्षाका लागि १८ वर्षमा मात्र लाइसेन्स दिनुपर्ने उनको सुझाव छ।
त्यसो त एसएलसी पास गर्नेलाई केन्द्रित गरी अफर गर्नेमा बाइक कम्पनीमात्र छैनन्। एनसेल र एलजी मोबाइल कम्पनीले पनि एसएलसी पासलाई सिम र छुटमा मोबाइल दिने योजना ल्याएका छन्।
'कडाइसाथ १८ वर्षपछि मात्र लाइसेन्स दिने व्यवस्था गर्नुपर्छ,' हिसान अध्यक्ष श्रेष्ठले भने, 'स्कुल नजिक मदिरा पसल राख्न दिन हुन्न भन्ने पनि हाम्रो माग छ।'
महानगरीय ट्राफिक प्रहरी निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये झन्डै २ हजार बालबालिका र किशोरकिशोरी छन्।
महानगरीय ट्राफिक प्रहरी प्रभागका प्रवक्ता जगतमान श्रेष्ठ ७५ प्रतिशत बाइक दुर्घटना किशोरकिशोरी र युवाबाट हुने बताउँछन्। उनले प्रभागले यातायात व्यवस्था विभागमा बाइक चालकको उमेर १६ बाट १८ पुर्याउन सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई परिवर्तन गर्न गृहकार्य भइरहेको जानकारी दिए। श्रेष्ठले भने, 'एसएलसी पास अल्लारेहरूलाई बाइक किन्न उस्काउनु गलत हो।'
Source:nagarikNews