नेपाल-जोर्डन खेल बराबरी
काठमाडौं, श्रावण १२ - विश्वकप-२०१४ को छनोट चरणको दोस्रो लेगमा बिहीबार नेपालले जोर्डनसँग एक-एकको बराबरी खेलेको छ । दुवैतर्फको गोल मध्यान्तरपछि भएको हो ।
पाँच दिनअघि जोर्डनको अम्मान रंगशालमा ९ गोल खाएको नेपालले बिहीबार भने घरेलु मैदानमा प्रदर्शन सुधार्यो । घरेलु दर्शकको समर्थन पाएको नेपाली टोलीले मध्यान्तरसम्म बलियो टिम जोर्डनलाई रोकेको थियो ।
खेलको ६२ औं मिनेटमा जोर्डनका अमेर दीपको कर्नर किकलाई सदुपयोग गर्दै सहेद असनले हेड गरी गोल गरे । जुमनु राईसँगै मध्यान्तरपछि मैदान प्रवेश गरेका भरत खवासले ८० औं मिनेटमा गोल गरी खेल बराबरीमा पुर्याए ।
दशरथ रंगशालामा भएको दोस्रो लेगमा नेपालले कम्तिमा बराबरीमात्र खेलेर भए पनि पहिलो लेगको फराकिलो पराजयको पीडा कम गरेको छ । जोर्डनको अम्मान रंगशलामा शनिबार राति नेपालले ९-० को हार बेहोरेको थियो ।
साभार:कान्तिपुर