|

सरकारी शिक्षकलाई पनि पोसाक

रुबी रौनियार, काठमाडौं, असार २३- अब शिक्षकलाई पनि एकैखाले पोसाकमा देख्न पाइनेछ। सरकारले यसै वर्षदेखि उनीहरूलाई कर्मचारीलाई जस्तै 'ड्रेस कोड' तोकेको छ।
शिक्षा विभागका अनुसार अघिल्लो साता देशभरका सरकारी शिक्षकलाई पोसाक भत्ताबापत जनही ७ हजार ५ सय रुपैयाँ निकासा गरिएको छ। विभागका उपनिर्देशक दीपक शर्माले आफूखुसी पोसाक लगाउँदा एकरूपता नदेखिने भएकाले 'ड्रेस कोड' लागू गरिएको बताए।

साउन अन्तिम सातादेखि अनिवार्य रूपमा पोसाक लगाउन विभागले जिल्ला शिक्षामार्फत सबै विद्यालयलाई पत्राचार गरिसकेको छ।
शिक्षिकाहरूलाई कुर्तासुरुवाल वा सारीब्लाउज र शिक्षकहरूलाई सर्टपाइन्ट वा दौरासुरुवालमध्ये एक छान्नेबारे छलफल भइरहेको विभागले जनाएको छ।
केही दिनभित्रै पोसाकको रंग टुंगो लाग्ने विभागका निर्देशक डिल्लीराम रिमालले बताए।
उनले भने, 'रंग र प्रकृतिबारे छलफल गरिरहेका छौं, केही दिनमै टुंगोमा पुग्छौं।' साताको छ दिनमध्ये कति दिन पोसाक लगाउनुपर्ने भन्ने नियम पनि बनाउने उनले बताए।
सरकारले स्थायी शिक्षकलाई मात्र पोसाक रकम निकासा गरेको छ। प्राथमिकदेखि माध्यमिक तहसम्मका ८२ हजार ९ सय ५९ शिक्षकका लागि ६२ करोड २१ लाख ९२ हजार रुपैयाँ निकासा गरेको विभागले जानकारी दिएको छ।

स्थायी शिक्षकलाई मात्र पोसाक उपलब्ध गराउने निर्णयको शिक्षक संगठनले विरोध गरेका छन्। 'यस्तो नीतिले शिक्षक-शिक्षकबीच विभेद बढ्छ, राहत, अस्थायी र बालविकास केन्द्रका शिक्षकलाई पनि पोसाक उपलब्ध गराउनुपर्छ,' नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव बाबुराम थापाले भने।
विभेदकारी निर्णयले पोसाकमा एकरूपता ल्याउन कठिन हुने उनले बताए। ललितपुरस्थित इन्द्रायणी माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका थापाले भने, 'स्थायी र अस्थायी विभेदले नकारात्मक असर पर्छ।'

मुलुकभर ३९ हजार राहत, २६ हजार ६ सय ८ अस्थायी र बाल विकास केन्द्रमा २८ हजार ७ सय ७३ शिक्षक छन्। रिमालले भने, 'राहत, अस्थायी र बालविकास केन्द्रका
शिक्षकलाई पनि छिट्टै पोसाक उपलब्ध गराउनेबारे छलफल गर्नेछौं।'
सरकारले साउन १ देखि लागू हुनेगरी ७८ हजार निजामती कर्मचारीका लागि 'ड्रेस कोड' तोकिसकेको छ। पुरुष कर्मचारीलाई दौरा-सुरुवाल, कोट, नेपाली टोपी वा सर्ट-पाइन्ट, महिलालाई कोटपाइन्ट, कुर्ता-सुरुवाल वा साडीब्लाउजमध्ये रोज्नसक्ने व्यवस्था छ।

तराईका कर्मचारीलाई कोट अनिवार्य गरिएको छैन भने हिमाल तथा पहाडमा कोटको सट्टा स्वेटर वा ज्याकेट लगाउन सकिने छ। हिमालमा छालाको सट्टा स्पोर्ट्स जुत्ता लगाउन सकिने छ।
पुरुष कर्मचारीलाई निलो कोट, त्यही रंगको पाइन्ट, सेतो सर्ट र कालो जुत्ता राखिएको छ भने महिलालाई गाढा बैजनी रंगको साडी र ब्लाउज तथा आकाशे गाढा रंगको कुर्ता तोकिएको छ। कर्मचारीलाई पनि सरकारले पोसाक खर्चबापत ७ हजार ५ सय रुपैयाँ दिएको छ।

Source:Nagariknews

Posted by Butwalonline on 9:21 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सरकारी शिक्षकलाई पनि पोसाक"

Leave a reply