कुवेतमा अझै १२ सय नेपाली कामदार गैरकानुनी
“दूतावासले चार महिनाको अवधिमा ३ हजार ६ सय ७५ गैरकानुनी नेपाली कामदारलाई ट्राभल डकुमेन्ट जारी गरेको थियो, जसमध्ये २ हजार ३५ जना स्वदेश फर्किसकेका छन् । ४ सय ८७ गैरकानुनी नेपाली कामदार जरिवाना तिरेर कानुनी रूपमा कुवेतमा कार्यरत छन् ।”
मधुवन पौडेल, कुवेतका लागि नेपाली राजदूत
मधुवन पौडेल |
कुवेतस्थित नेपाली दूतावासले १ हजार २ सय ६६ गैरकानुनी नेपाली कामदार कुवेतबाट स्वदेश नफर्किएको जनाएको छ । ३ हजार ६ सय ७५ गैरकाुननी नेपाली कामदारलाई स्वदेश फर्कनका लागि ट्राभल डकुमेन्ट जारी गरे पनि उनीहरूले भने कुवेत नछोडेका हुन् । कुवेत सरकारले अवैध रूपमा कार्यरत विदेशी कामदारलाई मार्च–जुन महिनासम्मका लागि बिनाकारबाही स्वदेश फर्कन अवसर दिएको थियो ।
कुवेत सरकारको तथ्यांकअनुसार नेपाली दूतावासले जारी गरेको ट्राभल डकुमेन्टमध्ये १ हजार २ सय ६६ नेपाली कामदारले कुवेत नछोडेको राजदूत मधुवन पौडेलले जानकारी दिए । उनका अनुसार दूतावासले चार महिनाको अवधिमा ३ हजार ६ सय ७५ गैरकानुनी नेपाली कामदारलाई ट्राभल डकुमेन्ट जारी गरेको थियो । “तीमध्ये २ हजार ३५ नेपाली कामदार स्वदेश फर्किसकेका छन्,” उनले भने, “४ सय ८७ गैरकानुनी नेपाली कामदार जरिवाना तिरेर कानुनी रूपमा कुवेतमा कार्यरत छन्् ।” उनले विभिन्न समस्याका कारण दूतावासको ‘सेल्टर’मा बसेका र ‘डिपार्टेसन सेन्टर’मा रहेका एक सय दुई घरेलु काममा कार्यरत नेपाली महिला कामदार बिनाकारबाही स्वदेश फर्किएको बताए ।
ट्राभल डकुमेन्ट जारी भएका कामदारहरू विमानस्थल पुगे पनि केहीविरुद्ध रोजगारदाता कम्पनीले फौजदारी मुद्दा चलाएकाले कुवेतको अध्यागमनबाट स्वदेश फर्कन रोक्ने गरेको राजदूत पौडेलको भनाइ छ । उनी भन्छन्, “रोजगारदाता कम्पनीले फौजदारी अभियोग लगाएपछि विमानस्थलपुगेकाहरू पनि स्वदेश फर्कन पाउँदैनन । फौजदारी अभियोगलाई आममाफी दिइँदैन ।”
ट्राभल डकुमेन्ट जारी भएकामध्ये अधिकांश घरेलु काममा कार्यरत महिला कामदार छन् । उनीहरू विगत लामो समयदेखि गएको ठाउँबाट भागेर गैरकानुनी ढंगले काम गर्दै आएको पौडलले बताए । रोजगारदाताले समयमा तलब नदिने, न्यून तलब, पिट्ने, श्रम शोषण गर्ने र यौन शोषण गर्ने गर्दा महिला कामदारहरू भागेर गैरकानुनी ढंगले काम गर्ने गरेका छन् । “नेपालबाट श्रम स्वीकृति नलिई गएका नेपाली कामदार सबै त्यहाँ गैरकानुनी हुँदैन,” उनले भने, “त्यहाँ भिसा भएपछि वैध मानिन्छ ।”
जरिवाना तिरेर कानुनी हैसियत प्राप्त गर्नेहरूमा किर्ते कागजात वा फोटो परिवर्तन गरेको राहदानी लिएर कुवेत प्रवेश गर्नेको संख्या ठूलो रहेको उनले जानकारी दिए ।
हस्तलिखित नेपाली राहदानी सन् २०१५ को नोभेम्बरसम्म मान्य हुने भएकाले कामदारहरू किर्ते विवरण भएका तथा फोटो परिवर्तन गरेका राहदानी लिई आउने क्रम तीव्र रहेको दूतावासले जनाएको छ । “अन्य स्रोत देशहरूका दूतावासमा कम्प्युटर प्रणालीद्वारा राहदानीको आधिकारिकता जाँच गरिन्छ,” उनले भने “नेपाली दूतावासमा त्यस्तो सुविधा छैन । त्यसकारण राहदानीको आधिकारिक हो कि होइन भनेर जाँच गर्न समस्या छ ।”
Source:Karobardaily