|

यी पनि बस्छन् साउने व्रत

काठमाडौ, श्रावण ५ - साउनको पहिलो सोमबार नायिका रेखा थापाले दाहिने हातमा मेहेन्दीको सहायतामा दुइटा पानको चित्र कोरिन् । दिनभर रातो कुर्ता-सुरुवाल देखिएकी उनले साथीहरूबाट प्रतिक्रिया पाइन्- 'साँच्चि बिहेमा जत्तिकै खुलेकी छ्यौ ।' साउन महिनालाई 'लभ मन्थ' (प्रेमको महिना) भन्न रुचाउने यी नायिका पाँच वर्षदेखि लगातार साउनको व्रत बस्दै आएकी छन् । 'पहिलो त खासै व्रतको बानी थिएन,' उनले भनिन्, 'तर अब अलिक संस्कारिक पनि हुनुपर्छ कि जस्तो लागेको छ ।'
यस्तो लाग्नुमा उनका आफ्नै तर्क छन् । पहिलो, व्रत बस्ने परम्परा अग्रजबाट लिने संस्कारिक ज्ञान पनि हो, जसले मौलिक संस्कृतिको निरन्तरतालाई सघाउँछ । दोस्रो, व्रतको सम्बन्ध सीधै स्वास्थ्यसँग पनि जोडिएको छ । 'प्रेम सम्बन्धलाई सुमधुर बनाइराख्न र मायाको वातारणलाई मलजल गर्न त झनै सघाउने भइहाल्यो,' उनले अर्को तर्क गरिन् छ, 'साँच्चि मलाई व्रत निकै फापिरहेको छ ।'
मेहेन्दी त अर्की नायिका ऋचा घिमिरेले पनि लाइन्, तर उनी साउने सोमबारको फूल व्रत भने लिँदिनन् । यसको सट्टा उनी हरेक महिनामा प्रदोष व्रत बस्छिन् । हरेक सोमबार र मंगलबार ननभेज हुन्छिन् । गएको सोमबार उनी मनकामना मन्दिरमा थिइन् र हातभरि हरियो चुरा त्यहीँ किनिन् । साउनको अन्तिम सोमबारचाहिँ जसरी पनि व्रत बस्ने योजनामा छिन् उनी । 'गुरुले प्रदोष व्रत फाप्छ भन्नुभएको हुनाले हामी दुवैजना (पति शंकर घिमिरे) त्यही व्रत बस्छौं,' उनले भनिन्, 'यसपटक साउने व्रत पनि बस्छु ।'
अर्की नायिका पुजना प्रधान सधंै बत्तीसपुतलीस्थित जय संगत आश्रममा भेटिन्छिन् । बिहान बेलुकी सधंै योग र ध्यानमग्न हुने यी नायिकाले यसपटक साउनको पाँचैवटा सोमबारको व्रत लिँदै छिन् । 'पाँचवटा सोमबार परेको साउन महिनाको व्रत निकै राम्रो हुन्छ भनिन्छ,' उनले भनिन्, 'यसपटक पक्कै राम्रो हुन्छ ।' १ सय ८ वटा व्रत पुर्‍याउने धोको भए पनि अघिल्लो साउनको व्रत सुटिङका कारण बिथोलिएकोले यसपटक उनी जस्तोसुकै अवस्थामा पनि व्रतमै फोकस हुनेछिन् । 'हुन त सधंै व्रत जस्तै हो,' माछामासु नखाने र सधंै एकछाक मात्रै खाने पुजनाले भनिन्, 'तैपनि साउनको व्रतको महत्त्व बढी छ ।'
हालै विवाहबन्धनमा बाँधिएकी नायिका शोभिता सिम्खडा पनि पुजनाजस्तै ध्यानमार्गी हुन् तर उनीसँग व्रतको अनुभवचाहिँ थिएन । प्रायः ओशो तपोवनमा भेटिने उनले यसै वर्ष विवाहबन्धनमा बाँधिएपछि साउनको व्रत थालेकी छन् । 'पहिलेपहिले व्रत बस्नै सक्दिन जस्तो लागेको थियो,' उनले पहिलो व्रतको अनुभव सुनाइन्, 'तर रमाइलो हुँदोरहेछ ।' गएको सोमबार उनले पनि हरियो चुरा लाइन् र पानी मात्रै पिएर बिताइन् । 'विवाहको पहिलो वर्ष भएर पनि व्रत बस्न मन लाग्यो,' उनले भनिन्, 'मनमा एक प्रकारको सुख अनुभव हुँदो रहेछ ।'
अचेल व्रतको नाममा 'अन्न मात्रै छाड्ने' चलन पनि सुरु भएको बताउने पुजना शरीर र मन दुवैका लागि 'उपवास' नै बस्नु राम्रो ठान्छिन् । 'फलफूल टन्नै खाएर व्रत बस्नेहरू पनि छन्,' उनले भनिन्, 'यो वास्तवमा व्रत हैन । संस्कृतमा उल्लेख गरिएको उपवास (व्रत) को अर्थ पानी मात्रै पिएर बस्नु हो ।' अरू बेला माछामासु एकदमै मन पराउने रेखा पनि व्रतका बेला पानी मात्रै पिएर बस्छिन्, शोभिताले त्यसै गरिन् । पन्ध्र दिनको एकपटक मात्रै व्रत बस्ने ऋचाचाहिँ सोमबार-मंगलबारको ननभेज मात्रै बन्छिन् ।
एकअर्काबीच सम्बन्ध विस्तार गर्न, प्रेमको वातावरण निर्माण गर्न र मनोकांक्षा पूरा गर्न साउन महिना उपयुक्त ठान्ने रेखा 'एकअर्काबीच उपहार आदानप्रदानले पनि राम्रो गर्ने' बताउँछिन् र उनी आफ्ना मन मिल्ने नेपाली नायिकालाई 'हरियो चुरा' उपहार दिने योजनामा पनि छिन् । 'तर मैलेचाहिँ आफ्नो मान्छेबाट अहिलेसम्म उपहार पाएकै छैन,' रेखाले हाँस्दै भनिन्, 'जेहोस् प्रेमको महिनालाई प्रेमपूर्वक बिताउन सबैलाई अनुरोध गर्छु ।
source:kantipurnews

Posted by Butwalonline on 7:01 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यी पनि बस्छन् साउने व्रत"

Leave a reply