|

अध्यक्ष दाहाल अल्पमततिर

काठमाडौ, श्रावण ५ - माओवादीका तीन उपाध्यक्ष मोहन वैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा 'एक व्यक्ति एक पद' को एजेन्डामा एक ठाउँमा उभिएपछि अध्यक्ष पुष्पकमल दाहाल पार्टीका सबै कमिटीमा अल्पमतमा पर्दै गएका छन् ।

निकट सहयोगी मानिएका उपाध्यक्ष श्रेष्ठसमेत वैद्य-भट्टराई पक्षमा गएपछि दाहाल झन् अप्ठ्यारोमा परेका हुन् । कार्यविभाजनमा कुरा नमिलेपछि अवरुद्ध माओवादी केन्द्रीय कमिटीको बैठक बिहीबार बस्दैछ ।

बैठकको पूर्वसन्ध्यामा कम्युनिस्ट पार्टीका एकमात्र जीवित संस्थापक तथा माओवादीका अघोषित 'संरक्षक' नरबहादुर कर्माचार्यसमेतको उपस्थितिमा तीन उपाध्यक्ष र महासचिवले बुधबार ललितपुरमा आफू समर्थक केन्द्रीय सदस्यको भेला गरी 'एक व्यक्ति एक पद' को अवधारणामा एकमत हुने सहमति गरेका हुन् । 'अरू नेतृत्व मूल नेतृत्वको परिपूरकजस्तो मात्रै भएको र मूल नेतृत्व नोकरशाहीजस्तो भएकाले उचित कार्यविभाजन गरिनुपर्छ भन्ने हाम्रो भनाइ हो,' भेलापछि उपाध्यक्ष श्रेष्ठले भने ।

भेलामा सहभागी उपाध्यक्ष भट्टराईनिकट पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलका अनुसार करिब ८० केन्द्रीय सदस्य उपस्थित भेलामा तीन उपाध्यक्ष र महासचिवले मतदानमै जानुपरे पनि एक भएर केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने सहमति गरेका हुन् । 'एक व्यक्ति एक पदको अवधारणाअनुरूप नयाँ परिस्थितिमा नयाँ कार्यविभाजन गर्नेमा तीन उपाध्यक्ष र महासचिव एक ठाउँमा आउनुभएको छ,' पौडेलले भने, 'केन्द्रीय कमिटी बैठकमा पनि एक भएर नै प्रस्तुत हुने सहमति भएको छ ।'

पौडेलका अनुसार उपाध्यक्ष वैद्यलाई संगठन, भट्टराईलाई पछि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व लिने गरी संसदीय दलको नेता र संसदीय बोर्डको नेतृत्व, श्रेष्ठलाई मन्त्रिमण्डलमा पठाइएका सदस्य परिवर्तन गरी उपप्रधानमन्त्रीसहित माओवादीबाट सरकारको नेतृत्व र महासचिव थापालाई पार्टी सैन्य विभागको नेतृत्वको जिम्मेवारी दिने गरी कार्यविभाजन हुनुपर्नेमा नेताहरूबीच सहमति बनेको हो । यसका लागि बहुमत केन्द्रीय कमिटी सदस्यको हस्ताक्षर अध्यक्षलाई बुझाइने उनले बताए । हालसम्म करिब ७६ केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरिसकिएको उपाध्यक्ष श्रेष्ठ पक्षधरसमेत जोड्दा ८० नाघ्ने उनले जनाए । माओवादी केन्द्रीय कमिटी सदस्यको कुल संख्या एक सय ४८ छ । अध्यक्ष दाहाल पक्षधर एक नेताले भने भेलामा ६४ केन्द्रीय सदस्यको मात्रै उपस्थिति रहेको र अहिले पनि बहुमत दाहालकै पक्षमा रहेको दाबी गरे ।

'हामीले संख्या गन्न पठाएका एकसहित ६५ केन्द्रीय कमिटी सदस्य मात्रै भेलामा थिए । बहुमत नपुगेकाले नै उहाँहरूले केन्द्रीय कमिटी बैठक अवरुद्ध गरिरहनुभएको हो,' ती नेताले दाबी गरे । माओवादी अध्यक्ष दाहाल आफूले प्रस्तुत गरेको शान्ति, संविधान र सरकारबारे पार्टीको तत्कालिक कार्ययोजना पहिले छलफल हुनुपर्ने अडानमा छन् भने उपाध्यक्षत्रय र महासचिवबीच पहिले कार्यविभाजनको एजेन्डामा छलफल गरी टुंग्याउनुपर्ने सहमति बनेको छ ।

'एक व्यक्ति एक पदको अवधारणाअनुरूप पहिले कार्यविभाजन हुनुपर्छ भन्ने हाम्रो मत हो,' माओवादी सचिव सीपी गजुरेलले भने । अध्यक्ष दाहाल पक्षधर स्थायी समिति सदस्य तथा सैन्य इन्चार्ज वर्षमान पुनले भने कार्ययोजना अनुरूप कार्यविभाजन गरिनु वैज्ञानिक हुने बताए । 'पहिले के काम गर्ने भन्ने टुंगो लागेपछि पो कसले के जिम्मेवारी लिने भन्ने हुन्छ,' उनले भने ।

अध्यक्ष दाहालले कार्ययोजना पास गराएर बैठक स्थगित गरी कार्यविभाजनको विषय थाँती राख्ने हुन् कि भन्ने आशंका उपाध्यक्षत्रयको छ । शान्ति र संविधानको एजेन्डामा उपाध्यक्षद्वय भट्टराई, श्रेष्ठ र महासचिव थापाले विरोध गर्नै नसक्ने भएकाले पहिले कार्ययोजना पारित गराउने दाहाल पक्षधरको सोच छ ।

वैद्य पक्षधरबाट भने अध्यक्षले प्रस्तुत गरेको कार्ययोजनामै विरोध रहँदै आएको छ । भट्टराई पक्षधर नेता पौडेलले भने अध्यक्षको कार्ययोजनामा आपत्ति नभएको र सामान्य भाषागत संशोधन गरी पारित हुने बताए । 'सन्तुलित कार्यविभाजन भए कार्ययोजना पारित हुन्छ,' उनले भने ।

भट्टराई, श्रेष्ठ र थापाले पनि कार्ययोजनाको विरोध गरी प्रस्ताव फेल भए दाहाल अध्यक्षबाटै राजीनामा दिने मनस्थितिमा रहेको उनीनिकट एक नेताले बताए । 'भट्टराई, श्रेष्ठ र थापाजीले पनि शान्ति र संविधानको कार्ययोजनाको विरोध गर्नुभयो र त्यो फेल भयो भने हामी छाडिदिन्छौं । पार्टी उहाँहरूले चलाउनु हुन्छ हामी अल्पमतमा बस्छौं,' दाहालनिकट नेताले भने ।

अध्यक्ष कार्ययोजना पारित गराएर कार्यविभाजन नगर्ने योजनामा रहेको हल्ला निराधार भएको ती नेताले बताए । 'विचार र सिद्धान्तका कुरा हावादारी रहेछ भन्ने उपाध्यक्ष र महासचिवहरूले प्रमाणित गरिसक्नु भएको छ । सबैलाई पद चाहिएको हो, एक/एकवटा पद दिएपछि कुरा मिल्छ,' ती नेताले भने, 'सबै त्यसैमा भुलेर बस्छन् । ती नेताका अनुसार वैद्यलाई संगठन, भट्टराईलाई संसदीय बोर्ड नेतृत्व दिन र माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा प्रधानमन्त्री बन्नसमेत दिन तयार छन् । त्यस अतिरिक्त श्रेष्ठलाई माओवादीबाट सरकारमा सहभागी हुन जाने टोलीको नेतृत्व र थापालाई सैन्य विभाग बनाएर त्यसको जिम्मेवारी दिन पनि दाहाल तयार छन् । सरकारमा जाने नयाँ टोलीलाई पनि सन्तुलित र समावेशी बनाउने विषयमा पनि अध्यक्ष दाहाल तयार छन् । तर संसदीय दलको नेता फेर्ने कुरा भने नमान्ने उनले बताए । 'एक व्यक्ति एक पद भन्ने हो भने उपाध्यक्ष, महासचिव पनि पद नै हो अर्को जिम्मेवारी किन चाहियो ? सबै कुरा छाडेर आलंकारिक अध्यक्ष भएर बस्ने कुरा हुँदैन,' दाहालनिकट एक नेताले भने । पोलिटब्युरो सदस्य पौडेलले अध्यक्षलाई तत्काल संसदीय दलको नेतामा भट्टराईलाई प्रस्ताव गर्न बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइने बताए । नभए बहुमत सभासदको हस्ताक्षर सभामुखलाई बुझाएर भए पनि दलको नेता फेर्ने अभियानमा भट्टराई पक्षधर लागेका छन् । 'दलको बैठक गरेर पनि नेता परिवर्तन गरिनेछ । त्यसका लागि १ सय ६९ सभासदको हस्ताक्षर संकलन भइसकेको छ,' पौडेलले भने ।

source:Kantipurnews

Posted by Butwalonline on 6:42 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अध्यक्ष दाहाल अल्पमततिर"

Leave a reply